site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
मैले नदेखेको पाख्रीबास !

म पाख्रीबास सम्झिरहेको छु यति बेला । म पाख्रीबासको सौन्दर्य सुम्सुम्याइरहेको छु यति बेला । आहा पाख्रीबास ! आहा धनकुटा ! समयले मलाई स्मृतिको पोखरीमा डुबुल्की मार्न लगाइरहेछ यति बेला । डुबुल्की सम्झनैसम्झनाहरूको, डुबुल्की यादैयादहरूको । आहा, स्मृतिको आनन्दानुभूतिको यो शीतल हावा ! यो शीतल छहारी, एउटा दिव्य आनन्द, बिलकुल परमानन्द ! 

२०४५ वैशाखको यही समय थियो, जहाँ मेरो पहिलो पाइला पुगेको थियो । मेरा दाइ–मित्र मित्रप्रसाद उपाध्यायबाट हेटौँडाको वन विज्ञान अध्ययन संस्थानमा आईएस्सी फरेस्ट्री सहअध्ययन गर्ने सिलसिलामा लगातार दुई वर्षसम्म पाख्रीबासकै सुन्दरता, परिष्कृतता र उत्कृष्टताका कुरा सुनिरहेको थिएँ ।

उहाँको मुखबाट सुन्दा मात्र पनि पाख्रीबासको सौन्दर्य वास्तविक अनुभूत गर्न कहिले त्यहाँ पुगूँला भन्ने लाग्थ्यो । बेलायतीहरूले व्यवस्थापन गरेको कृषि फार्ममा आकर्षक सुविधाका साथ झन्डै तीन सय नेपालीहरूले काम गर्ने कुराले मभित्र कुतूहलको सीमा नाघ्थ्यो ।

अहो, त्यो ठाउँमा काम गर्न पाए म पनि एक भाग्यमानी ठहरिन्थेँ भन्ने कल्पनाको झोलुंगे पुल मनभित्रै निरन्तर हल्लिरहन्थ्यो ! ‘मनको लड्डु घिउसित खा’ भनेझैँ म त्यस्तै लड्डु खाइरहन्थेँ, नजानिँदो पाराले कल्पनामा रमाइरहन्थेँ ।

०००

मन हुँदाहुँदै पनि, अनि मित्र–दाइको हार्दिक निमन्त्रणा छँदाछँदै पनि पाख्रीबासलाई नजिकबाट छाम्न पाएको थिइनँ । समीपमा आँखाअगाडि राख्न पाएको थिइनँ । समयले मौका जुराइदियो पैँतालिस सालमा । मित्र–दाइको त्यो गुन बिर्सिनसक्नु छ, जसले पाख्रीबासमा आउनका लागि निम्तो दिनुभएको थियो । आतिथ्यका हात अगाडि बढाउनुभएको थियो । र, जसले जागिर खुलेको ताजा सूचना म त्यति बेला रेन्जरको रूपमा काम गर्ने बर्दिया जिल्लाको मैनापोखर इलाका र कालाबन्जर इकाइसम्म पुर्‍याउन सहयोग गर्नुभएको थियो ।

भनिन्छ– नयाँ ठाउँमा पुग्नका लागि एक धर्सो चिनाजानी भएको मान्छे भएपछि अवसरको पिङ आफैँ बाटिन थाल्छ, जीवनको चचहुइ सहजै अगाडि बढ्न थाल्छ । सम्बन्धका नयाँ पोयाले जिन्दगीको उपक्रम अघि बढाउने बलियो डोरी बाट्न आरम्भको एउटा सानो त्यान्द्रो नै काफी हुँदो रहेछ । भयो त्यस्तै ! सम्झनाको लहरो तान्दै छु यति बेला । पाख्रीबासको स्मृतिको दिव्य वनकुञ्जमा हराउँदै छु यतिबेला ।

०००

वन प्रशिक्षक बनाई तान्यो पाख्रीबासले । जिन्दगीको नयाँ रेखा कोर्‍यो पाख्रीबासले । २०४५ देखि २०५५ सम्म झन्डै एघार वर्ष बसायो हरितमय पाख्रीबासले । शैक्षिक र व्यावसायिक क्षमता बढायो पाख्रीबासले । आईएस्सी गरेको मान्छेलाई एमएस्सी गराइदियो पाख्रीबासले । 

अर्को अर्थमा मेरो जीवनमा विश्वविद्यालयको ज्ञान र जीवन गति दिने अनुभव पनि दिलायो पाख्रीबासले । वन प्रशिक्षकलाई एक ‘विज्ञ’ बनाई पठायो पाख्रीबासले । देश–विदेश पनि घुमायो पाख्रीबासले । धन्य पाख्रीबास !

तीन सय होइन, झन्डै साढे चार सय नै पुगे कर्मचारी, मैले काम गर्दा । पूर्वी पहाडी भेगका सबै जिल्लामा पाखीबास कृषि अनुसन्धानको राप र ताप पुर्‍याउने सोचका साथ अघि बढ्यो पाख्रीबास ।

साँच्चै भन्नुपर्दा तत्कालीन पूर्वाञ्चल विकास क्षेत्रका पहाडी जनताको आस्था र आशाको केन्द्र बनेको थियो, पाख्रीबास । प्रविधि अनुसन्धान, प्रसार, तालिम तथा प्रकाशन कार्यलाई मूलमन्त्र मान्दै झन्डै साढे चार सय कर्मचारीको त्यो दैनिक चहलपहल, ती अटुट सामाजिक सम्बन्धका पाटाहरू, ती समुन्नति, ऊर्जा र उत्साह फैलाउने कृषि, पशु तथा वन विकासका नमुनामय बाटाहरू सबैसबै सम्झनलायक छन् पाख्रीबासका ।

फाङ्दुवाको कलकल गर्ने खोल्सीमय पानीको सम्झना, राता टिनका छानाले भरिएको बाटामुनि र बाटामाथिका ती रमणीय घर र टहरामय दृश्यहरू, समय–पालनाको एउटा मानक पाख्रीबास, परियोजना व्यवस्थापनको असल पाठशाला बनेको दृष्टान्तमय पाख्रीबास, अहो, फेरि ओइरिन्छन् बग्रेल्ती सम्झनाका तरेलीहरू !

ती उत्तिस र बाँसका घारीहरू, ती साउथ फार्म र स्यालबारीका मलिला बारीहरू, ती बास्नादार अलैँचीका घारीहरू, ती आरु, आल्चा र आरुबखडाका लटरम्म बोटहरू, मंसिरमय बहार ल्याउने ती पैयूँका सुन्दर फूल र बोटहरू, अनि बाह्रै महिना हरियालीको गलैँचा लाग्ने ती दुबो र क्लोभरका सुन्दर दृश्यहरू – अहँ, कहिल्यै बिर्सन सकिन्न !

अझ बिहानबिहानै बास्ने सयौँ कुखुराका आवाजहरू, ‘पाखीबास बंगुर’का नामले प्रसिद्ध कालो बंगुर र लोकल बाख्राका बथानहरू, सेतो नरम ऊनका खानी बनेका अंगोरा जातका खरायोहरू – अहो, कति धेरै कुरा छन् यति बेला सम्झनाको आँगनीमा नाच्न तम्सने स्मृतिका पल अनि आनन्ददायी ती लय र भाकाहरू ! 

०००

२०५५ सालमा पाख्रीबास छोडियो । बेलायती परियोजना समाप्त भयो । नेपाल सरकार (नार्क)ले त्यहाँको व्यवस्थापन जिम्मा लियो । हामी सबै नअट्ने भइयो । बाध्यताका अवकाशहरू सुनिश्चित बने, बहिर्गमनका खेलहरू निश्चित बने, तर अर्को जागिरका रेखाहरू भने अनिश्चित बने । त्यही अनिश्चितताको भुँमरीभित्र पनि पाख्रीबास छोडियो, काठमाडौंको बासिन्दा बन्ने रहर पालियो ।

काठमाडौंले स्वागत गर्‍यो । ‘यतै बस्’ भन्यो । बसिरहेछु । वर्ष गन्दा यहाँ आएको पनि ठिक २७ वर्ष भएछ । समय जान के बेर ! पाख्रीबासले २०४५ भदौ ५ को भूकम्प चखाएको थियो, काठमाडौंले २०७२ वैशाख १२ र २९ का दुई ठूला भूकम्प चखायो ।

त्यतिले मात्र नभएर काठमाडौं बसाइका २७ वर्षमा धेरै आन्दोलन देखियो । दरबार विनाश देखियो । कोरोना भोगियो । र, ससाना अनेक झट्का व्यहोरिँदै छ । तर पनि जिन्दगीको रथ अघि बढेकै छ, बढ्नैपर्दो रहेछ ।

पाख्रीबासले भनेको थियो– अझ पाँच वर्ष काम गर्न पाएको भए तेरो पीएचडी पनि यहीँबाट निःशुल्कै हुन्थ्यो, तर जहाँ गए पनि त्यो पूरा गरी छाड्नू ! मानेँ । काठमाडौंमा त्यो इच्छा पनि पूरा भयो । पाख्रीबासकै शुभकामना ठान्छु म, पाख्रीबासकै पृष्ठभूमिको योगदान र आशीर्वाद भन्दछु म ।

००० 

पाख्रीबासको सुन्दरता, पाख्रीबासको माया, पाख्रीबासको कार्यशैली, पाख्रीबासको सामाजिक सम्बन्ध, पाख्रीबासको साहित्यिक तथा सांस्कृतिक चहलपहल बिर्सन खोजे पनि कहाँ बिर्सन सकिन्छ ? त्यो नागीडाँडा, ती सल्लेरीका सुसाइहरू, ती मकालु हिमाल र अरुण नदीका अनुपम दृश्यहरू फेरि यति बेला मेरो मनमा ताजा बनेर आइरहेछन् ।

फाङ्दुवा बुधबारे बजारबाट अलि परको त्यो पाख्रीबास बजार, परपर देखिने हिलेबजारको पृष्ठभाग, उत्तरपानी डाँडा, चुङबाङ, खोकु, छिन्ताङ, मुगा र फलाँटेका हरियालीयुक्त दृश्यहरू; ढाकर बोक्दैै र तोक्मे लौरो टेक्दै लावालस्कर लागेर हिलेबजारदेखि भोजपुर र संखुवासभाका गाउँगाउँ र बजारबजार पुग्ने भरियाका ताँतीहरू, अनि संखुवासभा र भोजपुरबाट रुद्राक्ष, अलैँची, कुचो र चिराइतोका भारी बोक्दै समूहसमूहमा रमाइरमाइ हिँड्ने ती बैँसालु महिला–पुरुषका हँसिला र अथकित अनुहारहरू – आहा, त्यो समय र ती दृश्यहरू अब पाख्रीबासमा लाख तिरे पनि पाउन सकिँदैन । समय धेरै अगाडि बढिसकेको छ, अरुण र तमोरमा धेरै पानी बगिसकेको छ ।

०००

पाख्रीबास अब बाटोको सुविधामा रमेको छ रे ! पाख्रीबास पहिलेभन्दा अझ ठूलो बनेको छ रे ! पाख्रीबास अब गाविसबाट नगरपालिका बनेको छ रे ! हिजोको पाख्रीबास अब त्यो रूप र त्यो रसिकतामा देख्न पाइन्न रे ! मसँग यति बेला धेरै ‘रे’हरू छन् । 

२०५५ मा छोडेपछि म २०६३ सालमा एक दिनको लागि मात्र जाने मौका पाएको थिएँ, तर खासै डुल्नघुम्न पाइएन । हतार थियो । त्यसपछि यो १८/१९ वर्षमा मैले प्रिय पाख्रीबासको पुनः दर्शन गर्ने अवसर पाएको छैन ।

योबीचमा नेपालका अरू भागमा जस्तै हतिरमय पाख्रीबास र फाङ्दुवामा पनि धेरै परिवर्तन भएको कुरा सुन्छु । आधुनिकताको लेपनले पाख्रीबास क्षेत्र पनि लेपित भइरहेको सुन्छु । केवल सुनिरहेको छु, देख्न पाएको छैन, ‘नयाँ पाख्रीबास’ ।

हामीले भन्ने गरेको ‘नयाँ नेपाल’जस्तै मैले भन्ने गरेको नयाँ पाख्रीबास अहिले कस्तो भयो होला ? मैले नदेखेको त्यो नयाँ पाख्रीबासको समग्र नयाँ परिवेश, बजारीकरण र नगरमयता कस्तो भएको होला ? पाख्रीबासको त्यो पुरानो सभ्यता अनि भव्यता अहिले कस्तो भएको होला ?

बाह्र वर्षमा खोलो फर्कन्छ भन्थे, तर मेरो खोलो फर्केन । बाह्र वर्षमा नफर्के पनि चौबिस वर्षमा कसो नफर्केला ? मैले नदेखेको नयाँ पाख्रीबासलाई एक अँगालो नमारी कहाँ मेरो चित्त बुझ्ला !

(शंखमूल)         

प्रकाशित मिति: शनिबार, जेठ ३, २०८२  १३:३०
प्रतिक्रिया दिनुहोस्