काठमाडौं । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी)लाई व्यवस्थित पार्टी सङ्गठनका रूपमा चिनिन्थ्यो । देशव्यापी, मुलुकबाहिर पनि सङ्गठन सञ्जाल त छँदै थियो, ५६ वटा जिल्लामा पार्टी कमिटीलाई ओत लाग्ने आ–आफ्नै कार्यालय थियो । काठमाडौंको चक्रपथसँग जोडिएको बल्खुमा सुविधासम्पन्न मुख्यालय थियो ।
झण्डै ९ रोपनी क्षेत्रफलमा फैलिएको मुख्यालय २०७२ को भूकम्पले खण्डहर बनाइदियो । वैशाख १२ गते भूकम्पको पाँचवर्ष बित्यो । त्यसयता पार्टीले दुईपटक सत्ताको नेतृत्व गरिसक्यो । अहिले एकीकरण भएर भीमकाय पार्टी निर्माण भएको छ । तर, पार्टीको केन्द्रीय कार्यालय उभ्याउन सकेको छैन । बरु पाशाङ ल्हामु स्मृति प्रतिष्ठानलाई भोगाधिकार दिएको जग्गामा बनेको भवनमा बहाल तिरेर बसिरहेको छ ।
भोगाधिकार रहेको जग्गा, भवन तेस्रो व्यक्तिले भोगचलन गर्नु नहुने कानुनी प्रावधान सत्तासिन पार्टीले नै मिचेपछि चौतर्फी आलोचना भयो । त्यसपछि नेकपाको गत माघ मध्यमा सम्पन्न भएको केन्द्रीय कमिटी बैठकले ३ महिनाभित्र शिलान्यास गरिसक्ने निर्णय गर्यो । त्यसपूर्व स्थायी कमिटी बैठक (२०७६ मंसिर २९–पुस ६)ले पनि पार्टी केन्द्रीय कार्यालय भवन अविलम्ब निर्माण गर्ने निर्णय गरेको थियो ।
“यो बैठक काठमाडौं मदनगर बल्खुस्थित आफ्नै जमिनमा पार्टीको केन्द्रीय कार्यालय भवन निर्माण गर्ने केन्द्रीय सचिवालयको निर्णयलाई स्वागत गर्दछ । देशको प्रमुख पार्टीको हैसियतले प्रभावकारी कार्यसम्पादन गर्न अनुकूल हुनेगरी आगामी तीनमहिनाभित्र पार्टीको केन्द्रीय कार्यालय भवनको शिलान्यास गर्ने निर्णय गर्दछ । उक्त कार्यालय भवन निर्माण गर्न पार्टीका सम्पूर्ण सदस्यहरूले न्यूनतम एकदिनको तलब वा आम्दानी बराबरको सहयोग गर्न र शुभेच्छुकहरूलाई दिल खोलेर सहयोग गर्न हार्दिक अपिल गदर्छ,” नेकपा केन्द्रीय कमिटीले निर्णय गर्दै भनेको थियो ।
३ महिनाको समय वैशाख १९ गते गुज्रियो । तर, पार्टी कार्यालय शिलान्यास हुन सकेको छैन ।
यसबारे जिज्ञासा राख्दा महासचिव विष्णु पौडेलले कोरोना सङ्क्रमणलाई कारण देखाए । “हामीले जेठ ३ गते (पार्टी एकता दिवस)मा शिलान्सास गर्ने तयारी गरेका थियौं । तर, कोरोना सङ्क्रमणले गर्न सकेनौं । सङ्क्रमणको जोखिम कम हुनेबित्तिकै शिलान्यास गर्छौं,” पौडेलले बाह्रखरीसँग भने ।
बल्खुको बिजोग !
नेकपासँग जनताको बहुदलीय जनवादको लिगेसी छ । जबज पथिक एमालेले मदन नगरमा जग्गा किनेर पार्टी कार्यालयमात्रै उभ्याएन । सालिक बनाएर जबजका सर्जक मदनप्रति श्रद्धा पनि व्यक्त गर्यो । पार्टी कार्यालय रहेको क्षेत्र बल्खुलाई मदननगरको नाम दियो । अहिले पार्टी कार्यालयको जमिन झाडीले कब्जाले जमाएको छ । पार्टी कार्यालयको नामोनिशान मेटाएपछि एकजना सहयोगी बाहेक नेता कार्यकर्ता कोही पुग्दैनन् । मदननगर कुर्ने जिम्मा पाएको मदनको एक्लो सालिक जेठ ३ को प्रतीक्षामा देखिन्छ ।
बल्खुमा जग्गा किनेर पार्टी कार्यालय बनाउने श्रेय तत्कालीन महासचिव माधवकुमार नेपाल र वामदेव गौतमलाई जान्छ ।
माधवकुमार नेपाललाई महासचिव भएदेखि नै आफ्नै पार्टी कार्यालय बनाउने हुटहुटी थियो । पार्टी कोषबाट किनेको जग्गा अपुग भएपछि नेपालले कलङ्कीमा आफ्नै नाममा रहेको १ रोपनी ७ आना जग्गा बेचेर बल्खुको जग्गा बिस्तार गरेको पार्टी कार्यालयको अभिलेखमा छ । नेकपा केन्द्रीय सदस्य नीरज आचार्यका अनुसार तिनताका पार्टीको नाममा बल्खुमा ७ रोपनी ९ आना जग्गा थियो । २०४८ सालदेखि जम्मा भएको पार्टीको लेबीले जग्गा खरिद गरिएको एमालेको दस्ताबेजमा उल्लेख छ । पार्टी कार्यालय भवन बनाउन जग्गा अपुग भएपछि नेपालले आफ्नै नामको जग्गा बेचेको आचार्य बताउँछन् । यो २०५०–०५१ तिरकै कुरा हो ।
२०५१ साल मंसिर १४ गतेमा एमालेले अल्पमतको सरकारको नेतृत्वको गर्यो । पार्टी अध्यक्ष मनमोहन अधिकारी प्रधानमन्त्री, महासचिव माधवकुमार नेपाल उपप्रधान तथा परराष्ट्रमन्त्री बने ।
वामदेवलाई उपमहासचिवको पद (विधानमै नभएको) सिर्जना गरेर पार्टीको काममा खटाइएको थियो । उपमहासचिव पदको सदुपयोग गर्दै वामदेवले पाँच तले केन्द्रीय कार्यालय भवन निर्माण गरे । पार्टी कार्यालयको अभिलेखअनुसार त्यतिबेला पार्टी मुख्यालय बनाउन १ करोड २५ हजार खर्च भएको थियो ।
२०७२ को महाविनासकारी भूकम्पले पार्टी कार्यालय क्षतविक्षत तुल्याएपछि एमालेभित्र नयाँ भवन बनाउने बहस सुरु भयो ।
एमालेले ईश्वर पोखरेलको संयोजकत्वमा १२ सदस्यीय भवन निर्माण कमिटी पनि बनाएको थियो । कमिटीमा शङ्कर पोखरेल, परशुराम मेघु गुरूङ, विष्णु रिमाल, योगेश भट्टराई, रामनाथ ढकाल, रवीन्द्र अधिकारी, सोमप्रसाद पाण्डे, हिक्मत कार्की, विनोद ढकाल, केदार सञ्जेल सदस्य थिए । ढकाल र अधिकारी दिवङ्गत भइसकेका छन् । जीवित १० जनामध्ये भवन बनाउने आँट कसैको पुगेन ।
बरु ठाउँ अभाव भएको भन्दै अन्यत्र जग्गा किनेर भवन निर्माण गर्ने काम बरालिएको तत्कालीन एमालेका नेताहरू बताउँछन् ।
त्यतिबेला भत्किएको भवनलाई रेट्रोफिटिङ गरेर बस्न योग्य बनाउने बहस पनि नभएको होइन । इन्जिनियरहरूले बढीमा ३५ लाख रुपियाँसम्ममा जगैदेखि रेट्रोफिटिङ गर्न सक्ने प्रस्ताव अघि सारेका थिए ।
तर, ईश्वर पोखरेललगायत भवन निर्माणका केही सदस्यले भाडाको घर खोज्नुपर्ने अडान लिएपछि भवनको खोजी भएको थियो । र, एमाले पुगेको थियो– पाशाङ ल्हामु प्रतिष्ठान ।
२०७२ असारदेखि धुम्बाराहीमा बस्दै आएको नेकपाले मासिक १ लाख ८० हजार भाडा बुझाउँछ । सुरुमा डेढ लाख भाडा भुक्तान गर्नेगरी बसेको स्मृति प्रतिष्ठानको भवन पनि एमालेकै पहलमा बनेको हो ।
मनमोहन अधिकारी प्रधानमन्त्री भएको बेला धुम्बाराही चक्रपथसँगै जोडिएको सार्वजनिक जग्गा प्रतिष्ठानलाई भोगाधिकार दिइएको थियो । भवन निर्माणका लागि ५५ लाख रकम पनि दिइएको एमालेका नेताहरू बताउँछन् ।
काठमाडौंबाहेक ५६ जिल्लामा एमालेको आफ्नै भवन थियो
एमाले र माओवादी केन्द्र एकता भएपछि दुवै पार्टीको नाममा भएको चलअचल सम्पत्ति नेकपाको नाममा सरेको छ । माओवादी केन्द्रको पेरिसडाँडामा मुख्यालय थियो । त्यसबाहेक जिल्लामा उसको आफ्नै नाममा भवन थिएन ।
तत्कालीन एमालेसँग भने ५६ जिल्लामा आफ्नै भवन थियो । बाजुरा, कालीकोट, मुगु, हुम्ला, प्युठान, बागलुङ, पाँचथर र ताप्लेजुङमा जग्गाको जुगाड गरेर भवन निर्माणको प्रक्रिया सुरु भइरहेको थियो । बाँके, धनुषा, सप्तरी र मोरङले सम्बन्धित अञ्चल कमिटीको कार्यालय भवन साझेदारी गरिरहेका थिए । काठमाडौँ, भक्तपुर, रसुवा, डोल्पा, मनाङ, मुस्ताङ र महोत्तरी जिल्ला कमिटीको मात्रै कार्यालय थिएनन् ।
एकताअगाडि देशभर एमालेसँग १ अर्ब ६३ करोड ६६ लाख बराबरको अचल सम्पत्ति रहेको निष्कर्ष निकालिएको केन्द्रीय सदस्य आचार्य बताउँछन् ।
देशैभर कार्यालय उभ्याउन सक्ने तागत भएको पार्टी एकतापछि मुख्यालयसमेत बनाउन नसक्नेगरी किन थलिएको हो ? नेकपाका कार्यकर्ता आश्चर्यचकित परेको टिप्पणी गर्छन् ।