काठमाडौं । एउटा ग्राम्य कहावतबाट आलेखको सूत्रपात गरौं । अमुक गाउँमा एकजना उपद्र्या बस्थ्यो । ऊ चलाखका अतिरिक्त उटुङ्ग्याको ‘राजा’ थियो । दिनभर लखरलखर गाउँ डुल्थ्यो । अबेर राति फर्कन्थ्यो । खानाको उस्तै सौखिन थियो । परिश्रम गर्नचाहिँ मरेतुल्य ठान्थ्यो । अनेक बिठ्याइँ गरेर खानाको जुगाड गर्थ्यो । एक दिन उसले घिउ बेच्न बजार जाने निधो गर्यो । तख्तामाथि राखेको हर्पेमा आँखा पुर्यायो । सबै रित्ता थिए, एउटामा मात्रै आधा बँचेको रहेछ ।
उसले उपाय पहिल्यायो । हर्पे बोकेर नजिकैको गाउँ छिर्यो ।
अर्को गाउँमा ऊजस्तै अर्को उपद्र्या थियो । उसको पनि जिब्रो मात्रै स्वादे । हातपाखुरा अल्छी । दिनभर काठमा खुकुरी चलाएर बस्थ्यो । आफूलाई दश गाउँकै बाठो ठान्थ्यो र त्यही बठ्याइँ विनिमय गरेर गुजारा चलाउँथ्यो ।
गाउँमा घिउ बेचुवा आएको छ भन्ने चाल पाएपछि उसका नेत्र बलिहाले । तुरुन्तै आफूले बनाएको तरबार बोकेर गाउँ पस्यो । घिउसँग साट्न पाएँ भनेर पुलकित हुँदै घर फर्कियो ।
बेलुका पो छाँगाबाट खसेजस्तो भयो ! हर्पेभित्र माथिमाथि मात्रै घिउ रहेछ । तल सबै गोबर मिसाएको !
उता गोबर मिसिएको घिउसँग तरबार साटेँ भनेर मख्ख पर्दै घर पुग्नेको पनि होसहवास खलाँस भयो । फलामको ठानेर साटिहालेको त, काठमा रङ दलेर पो चमचमाउँदो तुल्याएको रहेछ ।
यसरी आफूलाई ‘नामुद’ बाठो हुँ भन्नेहरू एक–अर्काबाट पत्तै नपाइ ठगिए ।
यो लोककथा नेकपाको एकतासँग ठ्याक्कै मेल खान्छ । पार्टी एकतापछि दुवै पक्षले यसैगरी ‘ठगिएको’ महसुस गरिरहेका छन् ।
दुई ठूला कम्युनिस्ट पार्टी, एमाले र माओवादी केन्द्रबीच एकता भएको दुई वर्ष पूरा हुँदै छ । एकीकरणको दुई वर्षको अवधि ‘धोका’ र ‘जालसाजी’मै बितेको मान्दा अतिशयोक्ति हुँदैन ।
एकले अर्काको तेजोबध गर्ने र सिध्याउनेसम्मको चालबाजी केही समयका लागि थान्को लागेजस्तो देखिए पनि यसको सिलसिला अन्त्यहीन छ । अनुकूल समय पाउनसाथ फणा उठाइहाल्छ ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको एकताको जग नै ‘षड्यन्त्रको सिद्धान्त’मा आधारित छ । एकले अर्कालाई ‘निल्न’ नसकेपछि ‘मिल्न’ बाध्य भएको भनेर दुवै अध्यक्षले सार्वजनिक रूपमै स्वीकारिसकेकाले यसलाई ‘षड्यन्त्रको सिद्धान्त’ नमान्नु आश्चर्य नै हुनेछ ।
तर, ‘निल्ने’ र ‘ओकल्ने’ सिलसिला पार्टी एकतापछि पनि जारी छ । पछिल्लो विवाद मिलान पनि निल्न नसकेपछि नै भएको हो भन्दा अत्युक्ति हुँदैन ।
यो लेखोटको उद्देश्य नेकपाका नेताहरूलाई खुइल्याउनु अवश्य होइन । तर, सत्ता राजनीतिमा उनीहरूको ‘चरित्र–चित्रण’ हुनु अत्यावश्यक छ । अतः यहाँ नेकपाका नेताहरूले एकले अर्कालाई दिएको धोकाको प्रतिनिधिमूलक चर्चा गरिन्छ ।
पार्टीलाई पत्तै नदिई दुई अध्यक्षबीच गोप्य ‘सत्ता लेनदेन’
दुई वर्षअघिसम्म एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच ‘पानी बाराबार’को अवस्था थियो । मञ्च पाउनेबित्तिकै एकले अर्काको ‘दोहोलो काढेर’ थाक्दैनथे ।
तर, २०७४ को दसैंले नेपाली राजनीतिलाई नाटकीय मोड दियो । दसैंको टीका नसकिँदै सुरु भएको राजनीतिक ‘खेलोफड्को’ले अन्ततः दुईतिर मुख फर्काएर बसेका ओली–प्रचण्डलाई एउटै मञ्चमा उभ्यायो । दुई अध्यक्षसँग नारिन आइपुगे, प्रधानमन्त्री ओलीको अनुहार मिथकीय पात्र ‘भष्मासुर’सँग तुलना गर्ने बाबुराम भट्टराई ।
‘घिउ बेचुवा र तरबार बेचुवा’ प्रवृत्तिको पुनरावृत्ति हुने चाल पाएपछि गठबन्धनबाट भट्टराई पाखा लागे । चुनावी परिणामले लगनगाँठो कस्न बाध्य बनेपछि गठबन्धन पार्टी एकतामा परिणत भयो र, नेकपाको पादुर्भाव भयो ।
नेपाली राजनीतिमा दुई पार्टीको मिलन चामत्कारिक थियो । तर, नाटकीय मिलनको रहस्योद्घाटन हुन कत्ति समय पनि पर्खन परेन ।
प्रचण्ड स्वयम् त्यसको पर्दाफास गर्दै हिँडे ।
२०७५ जेठ ३ गते दिवंगत नेता मदन भण्डारीको स्मृति दिवसका दिन दुई पार्टीबीच एकता भएको थियो । पार्टीमा दुई अध्यक्ष, नौ सदस्यीय सचिवालय, ४३ सदस्यीय स्थायी कमिटी (दुई सदस्य पछि थप गरिएको), ४ सय ४१ सदस्यी केन्द्रीय कमिटी बनाउनेलगायत समझदारी बाहिरिएको थियो ।
तर, अघिल्लै दिन भएको ‘गोप्य सम्झौता’ले दुई अध्यक्षलाई एकताको विन्दुमा पुर्याएको पार्टीमा रगत–पसिना बगाएका, निभ्नै लागेको कम्युनिस्ट आन्दोलनको दियालो जगाएर दुईतिहाइ सन्निकट पुर्याएका नेता कार्यकर्ताले धेरैपछि मात्रै थाहा पाए ।
पार्टी एकताको अघिल्लो दिन माओवादी केन्द्रका कार्यालय सदस्य जनार्दन शर्मा र एमालेका उपमहासचिव विष्णु पौडेललाई साक्षी राखेर ओली र प्रचण्डले पाँचबुँदे सहमति गरेका थिए । समानअवधि सरकारको नेतृत्व गर्ने, एकता महाधिवेशन, पार्टी कमिटीका निर्णय बहुमत र अल्पमतमा नभइ सहमतिका आधारमा गर्नेलगायत सम्झौता भएको थियो ।
त्यही सहमतिले एकतातर्फ डोर्याएको थियो । सम्झौताबारे अरूलाई सुइँको दिइएको थिएन । केपी र प्रचण्डको मिलन नै पार्टी एकता भएको बुझ्नुपर्ने भएकाले हुनुपर्छ, अरूलाई थाहा दिइएन, सायद ।
प्रचण्डले खुलासा गरेपछि नेकपाभित्र अन्तरविरोध, अन्तरसङ्घर्ष सतहमा आइहाल्यो । २०७६ मंसिर ४ गतेको सचिवालय बैठकले पार्टी एकताको अघिल्लो दिनको सहमतिका केही बुँदा प्रतिस्थापन गरे पनि पार्टीभित्रको विवादको विस्थापन हुन सकेको छैन । कतिपय नेता त्यही गोप्य सहमति नै विवादको बीजारोपण भएको बताउँदै आएका छन् ।
माधव नेपाल पनि अडिएनन्
नेकपाभित्र माधव नेपाल समूहको ठूलो वैचारिक ‘लिगेसी’ छ । एमाले छँदै ठूलो आकारमा विस्तारित भएको माधव नेपालको वैचारिक धार पार्टी एकताका बेला छायामा पर्यो ।
त्यसको मुख्य कारण ओली या प्रचण्ड होइनन् । माधव नेपाल आफैं हुन् ।
नवौं महाधिवेशनमा ओली हाराहारीकै शक्तिका रूपमा नेपाल देखापरेका थिए । अध्यक्षमा पराजित भए पनि उपाध्यक्षहरूमध्ये वामदेव गौतमबाहेक सबै नेपाल समूहमै थिए ।
पार्टी एकता हुँदा नेपालले ती कसैलाई पनि सम्झिएनन् । नौ सदस्यीय सचिवालय निर्माण हुँदा भीम रावल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य कोही पनि परेनन् । उपमहासचिव विष्णु पौडेल महासचिवमा बढुवा हुँदा घनश्याम भुसाल स्थायी कमिटीमा बल्लबल्ल अटाउने अवस्था बन्यो ।
पार्टी एकताका बेला नेपालले आफ्नो वैचारिक समूहलाई धोका दिएको चर्चा अझै नेकपावृत्तबाट ओझेल परिसकेको छैन । यसैले जहिले पनि नेपाल समूहलाई रक्षात्मक बनाइरह्यो । पछिल्लो प्रकरण नै त्यसको ‘सबुत’ हो ।
माधव नेपालले सचिवालय बनाउँदा कुनै पनि अडान नराख्नुको खास कारण छ ।
नवौं महाधिवेशनबाट पारित विधानमा वरिष्ठ नेताका रूपमा परिभाषित झलनाथ खनाल मात्रै थिए । आठौं महाधिवेशनदेखि नै पार्टीको पूर्व नेतृत्वलाई वरिष्ठ नेता दिने चलन बसाइयो । नवौं महाधिवेशनपश्चात् स्वाभाविक रूपमा वरिष्ठ नेताको पद खनालमा सर्यो ।
पार्टी एकताले त्यसलाई मिच्यो ।
त्यतिमात्र होइन, एमाले निर्माणमा झलनाथको योगदान समकालीन नेतामध्ये कोहीभन्दा कम छैन । उनी पनि घामपानी छिचोलेरै आएका नेता हुन् । सङ्कटका बेला पार्टीको नेतृत्व लिँदै उकासेका पनि हुन् ।
तर, पार्टी एकताका बेला उनी चरम उपेक्षामा परे । खनाल उपचारका सिलसिलामा चीन गएका बेला रातारात पार्टी एकता भयो । फर्किएर आउँदा उनी वरीयतामा माधव नेपालभन्दा तल परिसकेका थिए ।
प्रचण्डबाट पटकपटक धोका
पार्टी एकताका बेला आफूअनुकूल सहमति गरेर प्रचण्डले माओवादी आन्दोलन, जनयुद्धको वैचारिक लिगेसीलाई त धोका दिए नै, एकतापछि पनि उनले कहिले माधव नेपालको कित्तामा मिसिएर, कहिले ओलीसँग गला मिलाएर धोकाको शृङ्खलालाई जीवितै राखे ।
पार्टी एकतापछि लामो समय प्रचण्ड ओलीसँगै मिले । पार्टी एकता प्रक्रियामा भागबन्डा चलिरहेकाले माधव नेपाल समूहसँग मिल्दा घाटा हात पर्थ्यो । ओलीसँग मिलेर नेपाल समूहलाई किनारा लगाउन भूमिका खेलिरहे ।
प्रदेश कमिटी गठन, जिल्ला तहका कमिटी एकीकरणका बेला प्रचण्डको साथ पाएको भए ‘एक व्यक्ति एक मुख्य जिम्मेवारी’को मानक स्थापित हुन्थ्यो । त्यसले प्रचण्ड–नेपाल समूहलाई बलियो बनाउँथ्यो । ओलीको शक्ति केन्द्रित गर्ने मनोकाङ्क्षाको पखेटा काटिन्थ्यो ।
पार्टी एकता प्रक्रियामा ओलीसँग मिलेर किनाराकृत गर्न थालेपछि नेपालले गत भदौ ३ गते एक व्यक्ति एकपदको मागसहित सातबुँदे असहमति दर्ज गरे ।
प्रचण्डलाई फाइदा पुगेजस्तो देखिए पनि नेपालको असहमति दुवै अध्यक्षविरुद्ध परिलक्षित थियो ।
असहमति दर्ज गर्नुको अर्को कारण पनि थियो– ओलीले कहिले झलनाथलाई अपमानित गर्ने, कहिले नेपाललाई निराश बनाउने खेल खेली नै रहे । पार्टी एकताका बेला खनालको वरीयता खोसेर नेपाललाई दिएका थिए । २०७६ भदाै १ गतेको सचिवालय बैठकमा नेपाललाई घटुवा गर्दै खनालको वरीयता माथि पारे । त्यो पनि प्रचण्डको मौन समर्थनमा ।
डेरा सरिरहने वामदेव
पूर्वएमाले छँदै वामदेव अस्थिरताको परिचायक थिए । नेकपामा आइपुग्दा पनि उनको बानीमा रौं बदलिएको छैन ।
नेकपाभित्र भैंसेपाटी गठबन्धन चर्चित छ । नेकपाको सत्ता समीकरणमा फेरबदल ल्याउन सक्ने तागत पनि त्यो गठबन्धनसँग थियो, छ । ओलीलाई कमजोर बनाउनुपर्यो भने अनुकूलता हेरेर भैंसेपाटी गठबन्धनलाई ब्युँताउँदै आउने गरेका छन्, प्रचण्ड–नेपाल समूहले ।
वामदेवको भूमिका त्यो गठबन्धनमा निर्णायक छ । वामदेव लाखापाखा लाग्नेबित्तिकै गठबन्धन अप्ठ्यारोमा पर्छ । यही बुझेका ओलीले गत साउनमा नयाँ चाल चले । विधानमै नभएको उपाध्यक्ष वामदेवलाई प्रस्ताव गरे । गठबन्धनबाट कित्ताकाट गराइदिए ।
त्यतिबेला वामदेवबाट ‘धोका पाएको’ महसुस गरेका प्रचण्ड–नेपाल समूह अहिले पनि त्यही निष्कर्षमा पुगेका छन् ।
पछिल्लोपल्ट अग्नि सापकोटालाई सभामुख र वामदेवलाई राष्ट्रियसभामा लैजान गठबन्धन ब्युँताइएको थियो । गठबन्धन बलियो बनेपछि प्रधानमन्त्रीकै कुसी धरमराउन पुगेको थियो । बर्हिगमनको सन्निकट पुगेका थिए, ओली ।
अहिले वामदेव फेरि लाखापाखा लागेपछि प्रचण्ड–नेपाल समूह बिलखबन्दमा परेको छ । वामदेवको धोका दिने बानीको पुनरावृत्ति भएको भन्दै पछुतो मानिरहेका छन् ।
र, अन्तिममा प्रचण्ड पनि अडिएनन्
गत बुधबारको सचिवालय बैठकमा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीको राजीनामा माग गरेका थिए । भैंसेपाटी गठबन्धनको निष्कर्ष थियो त्यो ।
ओलीको बहिर्गमनपछिको पात्र को हो भनेर नखुलाइए पनि अब ओलीबाट पार लाग्दैन भन्ने सामूहिक निष्कर्षमा नेताहरू पुगिसकेका थिए । सचिवालय बैठकमा प्रचण्डले त्यही निचोड सुनाएका थिए ।
तर शनिबारको सचिवालय बैठकसम्म आइपुग्दा प्रचण्ड नै आफ्नो मागमा अडिएनन् । सचिवालय बैठकमा भूमिकामै फेरबदल आएपछि नेपाल समूहले प्रचण्डबाट पनि धोका पाएको निष्कर्ष निकालेको छ ।
गठबन्धनको औचित्य नसकिएकाले नेपाल समूहले निष्कर्ष सुनाइसकेको छैन । तर, उनीहरू प्रचण्ड र वामदेव प्रवृत्तिबाट आजित छन् ।
शनिबारको बैठकमा नेता नेपालले तपार्ईंहरूको निर्णयप्रति ‘शङ्काको सुविधा’ लिन्छु भन्नेको निहितार्थ पनि त्यही हो । तथापि, नेपाल समूह प्रचण्डसँग सम्बन्ध तोडिहाल्ने पक्षमा छैन ।
नेपाल समूह केही समय ‘पर्ख र हेर’को अवस्थामा छ । यसकारण कि, उसलाई विश्वास छ– नेकपाभित्र ‘धोका’ र ‘जालसाजी’को शृङ्खला अन्त्य अनिश्चित छ ।