गत साता पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले रेडियो नेपालसँग अन्तरवार्तामा केपी ओलीलाई ‘भस्मासुर’को संज्ञा दिएका थिए । के साँच्चै ओली भस्मासुर नै हुन् त ? यो प्रश्नको उत्तर जान्न भस्मासुर को थिए भन्ने थाहा पाऊँ ।
असुरमध्येमा पनि भस्मासुर शक्तिशाली मानिन्छन् । उनले वरदानै त्यस्तै जो पाएका थिए । महादेवबाट जसको शिरमा हात राख्यो त्यही व्यक्ति जलेर भस्म हुने वरदान पाएका असुर हुन् भस्मासुर । पछि विष्णुको चलाखीका कारण आफ्नै शिरमा हात राखेपछि उनी स्वयं भस्म भएका थिए । त्यसैले उनलाई भस्मासुर भनिएको हो । उनको नाम त वृकासुर हो ।
देवहरुका पनि देव महादेव छिट्दै प्रशन्न हुने देवता मानिन्छन् । पौराणिक कथाअनुसार, एकपटक नारद ऋृषि कतै गइरहेको बखत उनलाई रोकी वृकासुरले साधेछन् – ब्रह्मा, विष्णु र महेश्वरमा को चाँडै प्रशन्न हुन्छन् ?
नारदले उत्तर दिए – हे वृकासुर ! शिव चाँडै प्रशन्न पनि हुन्छन् र चाँडै क्रोधित पनि । त्यसैले तिमी शिवजीको सेवा र तपस्या गर । तिम्रो इच्छा पूरा हुन्छ । तिमीभन्दा अघि रावण र वाणासुरलाई पनि शिवले वरदान दिएका थिए ।
वृकासुर खुसी भएर केदारतीर्थमा गई शिवलाई प्रसन्न बनाउन कठोर तपस्या गर्न थाले । यही क्रममा आफ्नै शरीरको मासु काट्दै होम गर्न लागे । आफ्ना अंगहरुको होम गर्दा पनि शिवजी प्रशन्न भइृ वरदान दिन नआएपछि सातौँ दिनमा केदारतीर्थमा नुहाइधुवाइ गरी शिर काटेर होम गर्न तयार भए । त्यसैबखत महादेव अग्निकुण्डबाट बाहिर निस्किएर उनको हात रोके र सबै शरीरका अंग जस्ताको तस्तै बनाउँदै भने – हे वृकासुर ! मेरो भक्तिभावले जलमात्रै चढाए पनि म खुसी हुन्छु । तिमिले त शरीर नै अर्पण गर्यौ । म तपस्यादेखि प्रशन्न भएँ, वर माग !
वृकासुरले भने – हे महादेव ! मैले जजसका शिरमा हात राख्छु, त्यो तत्काल भस्म भइमरोस् । वचन दिइसकेका महादेवले तथास्तु भन्नै पर्यो ।
वर पाएपछि वृकासुर त पार्वतीलाई हरण गर्ने नियत राखेर महादेवकै शिरमा हात राख्छु भनी अघि सरे । महादेव भाग्न थाले । शिव स्वर्ग, मत्र्य र पाताल जता भागे पनि वृकासुरको पिछा छुटेन । अन्ततः शिव विष्णुसँग सहयोग माग्न पुगे ।
पौराणिक कथाहरूमा वृकासुरको अन्त्य विष्णुले कतै ब्राह्मण पुत्रको त कतै मोहिनी स्त्रीको छद्म वेश धारण गरेर मोहित गरी आफ्नै शिरमा हात राखेर वरदानको परीक्षा गर्न भनेका र वृकासुरले त्यसै गरेर भस्म भएको लेखिएको छ । जे होस्, भस्मासुरको विम्ब कुपात्रमा शक्ति एकत्रित भयो भने अन्ततः आफैँ समाप्त हुन्छ भन्ने बुझाउन प्रयोग हुन्छ ।
मूल प्रसंगमा फर्कौँ । डा. भट्टराईले प्रधानमन्त्री ओलीलाई भस्मासुरको उपमा दिएपछि यो चर्चा चुलिएको हो । अन्तर्वार्ता लिने र प्रसारण गर्नेसँग स्पष्टीकरण सोधेर सरकारले असहिष्णुता देखाएको छ ।
के प्रधानमन्त्री ओली भस्मासुर हुन् ? कि पूर्वप्रधानमन्त्री भट्टराई भस्मासुर भएका थिए ? भट्टराई पनि १० वर्षे कथित ‘जनयुद्ध’ कालमा भस्मासुर जस्तै उद्दण्ड शक्तिशाली भएका थिए । जसलाई मन यसलाई ‘सफाया’ गराउन सक्थे । अंगभंग गराउन सक्थे । शक्तिको गलत प्रयोग हेर्ने हो भने त तुलनात्मकरुपमा ओलीभन्दा कैयौँ गुना बढी भस्मासुर त भट्टराई देखिन्छन् ।
नेपाली जनमनले नबिर्सने भस्मासुर त भट्टराई नै हुन् । मानवता र मानवप्रति यिनमा रत्तिभर सम्मान थिएन । यिनको मियोमा एक दशक घुमेको नेपालको हिंसात्मक द्वन्द्वमा कति मानिसलाई ज्यूँदै जलाइए, कति टुहुरा र अनाथ भए ? देशको अर्थतन्त्र कहिल्यै उकासिन नसकिने गरी क्षतविक्षत बनाए ? गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी, डेकेन्द्र थापा आदिको हत्यामा संलग्नलाई कसरी उन्मुक्ति दिए ? कसरी हत्यारा बालकृष्ण ढुंगेललाई पक्रनबाट जोगाए ? भारतीय इसारामा देशलाई कसरी बन्धक बनाए ? यिनी भस्मासुर त हुन् नै अराष्ट्रिय पनि हुन् ।
यसको अर्थ ओली असल भनिएको भने होइन । उनी पनि निहत्था नागरिकको हत्या गरेरै अहिलेको स्थानमा पुगेका हुन् । धर्मदत्त ढकाल र बुधन चौधरी आदिको घाँटी सेरेरै यिनी पनि यो कुर्सीमा पुगेका हुन् । त्यसैले यी दुवै भस्मासुर हुन् । पदमा पुगेपछि देखाएको चरित्रले ओलीमा पनि प्रचुर मात्रामा भस्मासुर प्रवृत्ति रहेको पुष्टि भएको छ ।
ओलीका कामकारवाही भ्रष्टाचार, कुसंस्कार र मनोमानी र नग्न ढंगले अगाडि बढेका छन् । ओलीतन्त्र कायम छ र यो समय उनको बचाउ गर्ने समय पनि होइन । तर, जब तुलना हुन्छ त्यसबेला कसैले ‘चोर’ र ‘डाँका’मध्ये कसको पक्षमा ? भन्दा निश्चय नै ‘चोर’का पक्षमा भन्नै पर्ने हुन्छ ।
हालः वोस्टन, अमेरिका ।