काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी विभाजनमा जानबाट रोक्ने महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन् ।
शनिबारको बैठकमा प्रधानमन्त्री ओली पार्टीको भावनात्मक, कार्यशैलीगत एकताको योजनासहित प्रस्तुत भएको र त्यसले पार्टी आन्दोलनमा नयाँ तरङ्ग पैदा गरेको खनालको दाबी छ ।
“नेकपाभित्र जेजस्ता विवाद देखा परेका थिए । ती विवाद समाधान भएका छन् । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली आत्मआलोचना सहित प्रस्तुत हुनुभएको थियो । कमीकमजोरी सुधारेर पार्टीलाई अझ एकताबद्ध बनाउन भूमिका खेल्छु भनेर बैठकमा प्रतिबद्धता जाहेर गर्नुभएको छ । सरकारको कामको थप समीक्षा गरेर कमजोरी सच्चाएर अघि बढ्न तयार रहको बताउनुभयो, हामीले स्वागत गर्यौं,” उनले बाह्रखरीसँग भने ।
'प्रचण्ड थप बलियो बन्नुहुनेछ'
पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले पार्टी अध्यक्ष पुष्पकमल दाहालले कार्यकारी अधिकार प्रयोग गर्न पाउने दाबी गरेका छन् । आजको बैठकले मंसिर ४ गतेको निर्णय कार्यान्वयन गर्न टेवा पुर्याएको उनले बताए । त्यस दिनको बैठकले ओलीमा निहीत कार्यकारी अधिकार प्रचण्डलाई प्रत्यायोजन गरेको थियो ।
“पार्टी, बैठक सञ्चालनका विषयमा अतिरिक्त निर्णय त भएको छैन । तर, आजको बैठकपछि उहाँ कार्यकारी प्रमुख बलियो भएर जानुहुन्छ,” खनालले विश्वास व्यक्त गरे ।
हस्ताक्षर च्यात्ने निर्णय
बुधबारको सचिवालय बैठकपछि भैंसेपाटी गठबन्धन र प्रधानमन्त्री ओली समूह आ-आफूलाई बलियो देखाउन सांसदहरूलाई हस्ताक्षर गराउने होडमा लागेका थिए । र, दुवै पक्षले आफू बहुमतमा रहेको र आवश्यक परे संसदीय दल फेस गर्ने तयारीमा जुटेका थिए ।
आजको बैठकले दुवैतर्फका हस्ताक्षर च्यात्ने निर्णय गरेको खनालले बताए । उनले आजको निर्णय सबैको सर्वसम्मतिमा भएको पनि बताए ।
“दुवै समूहले गरेका हस्ताक्षर च्यात्ने निर्णय गरिएको छ । आगामी दिनमा यस्ता कार्य बन्द गरिनेछ,” उनको भनाइ छ ।
सचिवालयले कायम गरेको एकता नै स्थायी कमिटीको एजेण्डा बन्ने खनालको निष्कर्ष छ ।
“सचिवालयले जुन एकता कायम गरेको छ, स्थायी कमिटीले यसैको समीक्षा गर्छ । पार्टी र सरकारको कामको समीक्षा गर्छ । वर्तमान अवस्थाको विश्लेषण गर्दै पार्टीलाई थप एकताबद्ध बनाउने विषयमा अबको स्थायी कमिटी विशेष रहनेछ,” उनको दाबी थियो ।
उनले यसबीचमा पार्टीभित्र भएका कमीकमजोरी छुट्टै समीक्षाको पाटो रहेको बताए । पार्टी कमिटीका निर्णयको इमान्दार कार्यान्वयन नै समस्या समाधानको उपाय भएको खनालको निष्कर्ष पनि छ ।