काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेपछि नेकपाभित्रको अन्तरकलह नयाँ मोडमा पुगेको छ । बुधबारको बालुवाटारको बैठकबाट बाहिरिएपछि नेताहरू आ–आफ्नै रणनीतिमा लागेका छन् ।
हिजोको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले वामदेवलाई मात्रै कार्ड फालेका थिएनन्, माधव नेपाललाई पनि तेस्रो अध्यक्षको आश्वासनको पन्तुरो थमाएका थिए । तेस्रो अध्यक्षको नयाँ जिम्मेवारी पाउने वचन पाएको माधव नेपाल समूहले प्रधानमन्त्रीको प्रस्तावप्रति विश्वस्त हुने आधार कत्ति पनि नभएको बताएको छ ।
“नयाँनयाँ विषय बोकेर बैठकमा आउने प्रधानमन्त्रीको पुरानै बानी हो । यसमा विश्वस्त हुने आधार छैन,” नेता नेपाल निकट स्रोतले बाह्रखरीसँग भन्यो । माधव नेपाल समूहको बटम लाइन प्रधानमन्त्री या पार्टी अध्यक्षबाट ओलीको बहिर्गमन हो । पार्टीका तेस्रो वरीयताका नेता झलनाथ खनालका अनुसार हिजो सचिवालय बैठकमा अधिकांश नेताहरूले ओलीको राजीनामा नै माग गरेका थिए । माधव नेपाल समूह अहिले पनि त्यो अडानमा यथावत छ ।
नेपाल समूहले ओलीको अहिलेको प्रस्तावले पनि अध्यादेशकै नियति बेहोर्ने दाबी गरेका छन् । “यो हतियारले पनि ओलीको रक्षा गर्न कठिन छ । जुन नियतले ल्याइएको भए पनि यसले गठबन्धनलाई घाटा पुर्याउने छैन,” नेपाल समूहका एक नेताले भने ।
ओलीले अध्यक्ष थप्ने प्रस्तावसहित वामदेवलाई प्रधानमन्त्री बनाउने अस्त्र प्रहार गरेपछि भैंसेपाटी गुट–गठबन्धन तितरवितर हुने हो कि भन्ने आशंका भने बढेर गएको छ । खनालले त वामदेव कार्ड गठबन्धन फुटाउने उद्देश्यबाट प्रेरित नै भएको निष्कर्ष निकालिसकेका छन् ।
माधव नेपाल समूहको पनि निष्कर्ष त्यही छ । “ओली अझै गल्ने पक्षमा छैनन् । उनले पार्टीभित्र अझै खेल्न सक्छन् । राजीनामा गराउनेतिरै विषय केन्द्रित गर्नुपर्छ,” समूहको निचोड सुनाउँदै एक नेताले बाह्रखरीसँग भने ।
संसदीय दलमा ओलीको बहुमत नरहेको निष्कर्ष
प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार दिनभर बालुवाटारमा सांसद बोलाएर हस्ताक्षर गराए । ओली पक्षका सांसदहरूले प्रधानमन्त्री ओलीको पक्षमा बहुमत कायम रहेको बताएका थिए । बहुमत सांसदको हस्ताक्षर बोकेर सचिवालयमा जाने योजना तुहिएपछि प्रधानमन्त्रीले नयाँ औजार प्रयोग गरेको माधव नेपाल समूहको निष्कर्ष छ ।
नेपाल समूहका अनुसार बुधबारको बैठकमा प्रधानमन्त्री ओलीले निर्णय नै गर्न चाहेका थिए । कोरोना सङ्क्रण रोकिएपछि राजीनामा दिन्छु भनेपछि सदस्यहरूले थप व्याख्याको माग गरेका थिए । जवाफमा ओलीले लकडाउन सकिएपछि राजीनामा दिने बताएका थिए । तर, प्रचण्ड, झलनाथ खनाललगायत नेताहरू सशंकित भएपछि निर्णय पुस्तिकामा नलेखी नेताहरूले परामर्श गर्ने भन्दै बैठक स्थगित गरिएको नेपाल समूहको दाबी छ । बैठक वैशाख २० गतेलाई तय भएको छ ।
राजीनामा नै दिन्छु भनेर बैठकमा भनेकाले प्रधानमन्त्रीको वैधता समाप्त भएको ठहर्ने नेपाल समूहको बुझाइ छ । “म राजीनामा दिन्छु । उसो भए वामदेवलाई प्रधानमन्त्री बनाउँ भन्नुको तात्पर्य के हो ? म बहुमतमा छैन भनेको होइन ?,” माधव नेपाल निकट एक नेता प्रश्न गर्दै भन्छन्, “प्रधानमन्त्री स्वयम्ले राजीनामा दिन तयार छु भनेपछि उहाँले वैधता गुमाइसक्नुभएको छ ।”
बुधबारको बैठकमा प्रधानमन्त्रीको प्रस्तुति–प्रस्तावले प्रधानमन्त्री बहुमतमा नरहेको सङ्केत गरेको नेपाल समूहको बुझाइ छ । “बहुमत सिद्ध गर्न सकेको भए उहाँ संसदीय दलमा जान्छु भन्न सक्नुहुन्थ्यो । संसद फेस गर्छु भनेर किन भन्नुपथ्र्यो !,” नेपाल समूहका नेता भन्छन् ।
प्रचण्ड समूह बिलखबन्दमा !
प्रधानमन्त्रीको पछिल्लो प्रस्तावले पूर्वमाओवादी केन्द्र विशेषतः पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समूह किंकर्तव्यविमूढको अवस्थामा छ । हिजैदेखि प्रचण्ड समूह छलफलमा जुटेको भए पनि निचोड निकाल्न सकेको छैन । प्रधानमन्त्रीको प्रस्तावप्रति उसको बुझाइ पनि गठबन्धन फुटाउने उद्देश्यबाटै प्रेरित भएको त छ, तर पूर्वएमाले समूहप्रति विश्वस्त हुन नसकिरहेको स्रोत बताउँछ । पूर्वएमाले समूह एकताबद्ध बनाउने र ‘इनटेक’ राख्नेगरी प्रधानमन्त्रीले प्रस्ताव ल्याएपछि झन् बढी सशंकित छ । कतै पूर्वएमाले एकढिक्का हुने र हामीलाई एक्ल्याउने त होइन ? अहिले पूर्वमाओवादी केन्द्र समूहको दिमागमा घुमेको प्रश्न यही हो ।
“प्रधानमन्त्री ओली वचनमा पक्का मानिस होइन । पहिलोपटक प्रधानमन्त्री हुँदा आलोपालो प्रधानमन्त्रीको मौखिक समझदारी भएकै हो । बैठकमा म नै थिएँ । उहाँले बजेटपछि सरकारको नेतृत्व हस्तान्तरण गर्छु । राजीनामा दिन तयार छु भन्नुभएकै हो । बजेटपछि बखेडा झिक्न थाल्नुभयो,” त्यतिबेला द्विपक्षीय छलफलमा साक्षी रहेका एक नेताले बाह्रखरीसँग भने, “पार्टी एकता गर्दा पनि आलोपालोको समझदारी भएकै हो । खै त पालना ? उहाँले नयाँ बखेडा झिक्नु भएन त ! त्यसैले प्रधानमन्त्रीको वचनमा विश्वस्त हुने आधार उहाँ आफैंले भत्काउँदै आउनुभएको छ ।”
यसअघि पनि पार्टी सचिवालयले वामदेव गौतमलाई राष्ट्रियसभामा मनोनीत गर्ने भनेर निर्णय गरिसकेको बताउँदै ओलीकै कारण कार्यान्वयन रोकिएको प्रचण्ड समूह बताउँछ । हिजो आफैं समेत उपस्थित भएको बैठकले गरेको निर्णय कार्यान्वयन गर्न आलटाल गर्नेले आज प्रधानमन्त्री बनाउँछु भन्दा विश्वास गर्न नसकिने उनीहरू बताउँछन् ।
“हिजोको प्रस्ताव असल मनशायबाट आएको होइन । वामदेवलाई प्रधानमन्त्री बनाउँदा त राम्रै हुन्छ । उहाँले रहर पनि गरिराख्नु भएको छ तर अहिलेको मूल प्रश्न वामदेवलाई प्रधानमन्त्री बनाउने कि अरू पात्र खोज्ने भन्ने होइन, पार्टी विधि, पद्धति अनुसार चल्नुपर्छ । पार्टीका नीति, निर्णय निसर्त कार्यान्वयन हुनुपर्छ भन्ने हो,” प्रचण्डनिकट एक नेता भन्छन् ।
प्रचण्ड समूहका नेता देवेन्द्र पोडेलले आफूहरू छलफलमा रहेको बताए ।
“प्रधानमन्त्रीको प्रस्ताव आएको छ । यसबारे हामी बुझिरहेका छौं । नेताहरूको बीचमा छलफल भइरहेको छ । निष्कर्ष निकालिसकेका छैनौं,” उनले भने ।