site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
नेकपा विवादमा ट्विस्ट– वामदेव प्रधानमन्त्री प्रस्तावित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सहजै नगल्ने देखिएका छन् । बुधबारको सचिवालय बैठकमा नयाँ प्रस्तावका साथ उपस्थित भएको स्रोतको भनाइ छ । उनले वामदेव कार्ड प्रयोग गरे ।

दिउसोभरि बालुवाटारमा सांसदहरू बोलाएर हस्ताक्षर गरेका प्रधानमन्त्री ओलीले नयाँ कार्ड प्रयोग गरेका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

आजको सचिवालय बैठकमा उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउन प्रस्ताव गरेको स्रोतको दाबी छ । बुधबार बिहान वामदेव गौतम निकट सांसदहरू बालुवाटार पुगेका थिए । केहीले हस्ताक्षर गरे केहीले प्रधानमन्त्रीको पक्षमा उभिने सङ्केत दिए । त्यो पंक्तिमा गौतमपत्नी तुलसा पनि थिइन् ।
स्रोतका अनुसार आजको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आक्रोशित मुद्रामा प्रस्तुत भएका थिए । उनले पार्टी एकतापछि आफू निकै अपमानित भएको भन्दै दुःखमनाउबाट कुराको आरम्भ गरेका थिए । एकताको मर्म र भावनाअनुसार ओली नचलेको र आफूलाई त्यसले चिन्तित तुल्याएको प्रचण्डको गुनासो थियो । 

मन्तव्यको अन्त्यतिर आइपुगेपछि सरकारको चौतर्फी आलोचना भएको, जनभावना, जनआकाङ्क्षाअनुसार चल्न नसकेको भन्दै राजीनामा दिएर मार्ग प्रशस्त गर्न दबाब दिएका थिए ।  “मुख फोरेर भन्न त सकेनन् । ‘यसरी सवत्र विरोध हुँदा मचाहिँ राजीनामा दिन्थेँ’ भनेर घुमाउरो भाषा प्रयोग गरे,” स्रोतले भन्यो ।

प्रधानमन्त्री पनि गल्ने पक्षमा थिएनन् । उनले सरकारको सक्दो प्रतिरक्षा गर्ने नै भए । “अहिले नर्मल, अति सामन्य अवस्था छ । सरकारको आलोचना कसकसले गरिरहेको छ, सबैले थाहा पाएकै छन् । कोरोनाको अवस्था सकियोस् म संसद् नै फेस गर्छु । मैले छाड्नु नै पर्ने हो भने साथीहरू भइसक्नुभयो, कोही एकपटक, कोही दुईपटक, नयाँ, अवसर नपाउनुभएको वरिष्ठ नेता वामदेव हुनुहुन्छ, कुनै क्षेत्र खाली गरौं, उहाँलाई उठाउँ, जिताएर ल्याउँ, प्रधानमन्त्री बनाउँ,” प्रधानमन्त्रीको प्रस्ताव उद्धृत गर्दै स्रोतले बाह्रखरीसँग भन्यो ।

त्यसपछि प्रचण्ड गलेका थिए । प्रधानमन्त्रीले नयाँ कार्ड प्रयोग गरेपछि प्रचण्डले ‘वामदेवलाई बेलाबखत भकुण्डो बनाउने गरिएको’ भन्दै कटाक्ष गरेका थिए ।

प्रधानमन्त्रीले नयाँलाई अवसर दिउँ र वामदेव अघि सारौं भनेपछि नेता माधवकुमार नेपाल पनि गलेको स्रोतको दाबी छ । प्रधानमन्त्री ओलीको प्रस्ताव रक्षामन्त्री समेत रहेका ईश्वर पोखरेलले समर्थन गरेका थिए । विष्णु पौडेल पनि ओलीको प्रस्तावकै पक्षमा उभिएको स्रोत बताउँछ ।

नेताहरूको बीचमा अनौपचारिक संवाद बढाउने र सचिवालयको अर्को बैठक २० गते बस्नेगरी आजको बैठक सकिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति: बुधबार, वैशाख १७, २०७७  २२:५९
प्रतिक्रिया दिनुहोस्