काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री ओली दुई पदमध्ये एक पद छाड्न राजी हुनुपर्ने विकल्प अघि सारेका छन् । पार्टीभित्र विवाद उत्कर्षमा पुगेपछि समाधानका लागि ओलीले प्रधानमन्त्री तथा पार्टी अध्यक्षमध्ये एक पद छाडेर सहज निकास दिनुपर्ने अडान नेपालको छ । अहिले समस्याको जड नै प्रधानमन्त्री भएकाले निकास पनि ओलीले नै दिनुपर्ने नेता नेपालले बताएका छन् ।
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग यसअघि भएका छलफलमा नेता नेपालले यही प्रस्ताव राखेको र अबको बटमलाइन पनि त्यही भएको निकट स्रोतले जानकारी दियो ।
“(माधव नेपाल)ले सुरुदेखि नै उठाउँदै आएको एक व्यक्ति एक पदको नीति अहिले पनि कायमै छ, त्यसमा उहाँ अडिग नै हुनुहुन्छ । केपी शर्मा ओलीले दुईमध्ये एक पद छाड्नुपर्छ भनेर उहाँले भन्दै आउनुभएको छ । अहिले अघि सारेको विकल्प पनि त्यही हो,” नेपालनिकट एक नेताले बाह्रखरीसँग भने ।
प्रधानमन्त्री ओलीसँगसँगै अन्यत्र पनि यही लागु हुनुपर्ने उनको भनाइ छ । गण्डकी र प्रदेश नम्बर पाँचका मुख्यमन्त्रीहरू त्यहाँका पार्टी इन्चार्ज पनि छन् । उनीहरूले पनि एक पद छाड्नुपर्ने प्रस्ताव नेपाल समूहको छ ।
नेता नेपालले गत भदौ ३ गते ७ बुँदे असहमति पत्र दर्ज गर्दै एक व्यक्ति एक पद पार्टीका सबै तहमा लागु गर्न माग गरेका थिए । “वरिष्ठता एवम् योग्यतालाई बेवास्ता गर्दै बिना कुनै मापदण्ड कसैलाई जिम्मेवारीमाथि जिम्मेवारीको खातैखात कसैलाई जिम्मेवारीविहीन बनाएर अपमानित गर्ने कुरालाई न्यायोचित मान्न सकिन्न । अतः एक व्यक्ति एक प्रमुख जिम्मेवारीको वैधानिक व्यवस्थालाई पार्टी अध्यक्षद्वयदेखि सबै ब्यक्तिमा लागु गरियोस्,” उनले सचिवालयका निर्णयविरुद्ध असहमति पत्र दर्ज गर्दैै भनेका थिए ।
अहिले नेता नेपाल पूर्ववर्ती अडानमै कायम रहेको नेता नेपालनिकट स्रोत भन्छन् ।
“उहाँले मलाई यो पद चाहियो भनेर माग गर्नुभएको छैन । पार्टी एकतालाई बलियो बनाउन ओली सहमतिमा आउनै पर्छ । पार्टीका नीति, विधि, विधान, पद्धति केही पनि नमान्ने र स्वेच्छाचारी ढङ्गले अघि बढ्ने हो भने पार्टीको औचित्य रहँदैन । एकताको पनि औचित्य रहँदैन,” नेपालनिकट एक नेताले भने ।
तर, ओली आफ्नो अडानमा टसको मस छैनन् । “उहाँ नयाँनयाँ रणनीति अघि सारिराख्नुभएको छ । कहिले महाधिवेशनबाट अध्यक्ष दिन्छु भन्दै फकाउने कोसिस गर्नुहुन्छ । कहिले सबै परिस्थितिको सामना गर्छु भनेर धम्क्याउनुहुन्छ,” स्रोतले भन्यो ।
प्रचण्ड समूह भन्छ– दुवै पदबाट राजीनामा
अध्यक्ष ओलीले मनोमानी गरेको भन्दै भैंसेपाटी गठबन्धन अझ कसिलो बनेको छ । गठबन्धनमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता झलनाथ खनालसहित ६ जना नेता भए पनि सबैको आ–आफनै दाउ छन् । गठबन्धनमै भए पनि महासचिव विष्णु पौडेल विवाद मिलाउने मध्यस्थताको भूमिका निर्वाह गरिरहेका छन् । सोमबार अध्यक्ष ओली र नेता नेपाल समूहबीच झण्डै ४ घण्टा छलफल चल्यो । ओली समूहको प्रतिनिधित्व गर्दै पौडेल पनि आएका थिए ।
अहिलेसम्म प्रचण्डले मुख फोरेर ओलीलाई पद छाड्न दबाब नदिएको निकटवर्ती बताउँछन् । तथापि प्रचण्डको दाउ ओलीलाई दुवै पदबाट राजीनामा गराउने नै रहेको स्रोतको दाबी छ । “अब ओलीबाट पार लाग्दैन । ओलीलाई कमजोर बनाएर राजीनामा दिन लगाउने या अपदस्थ गराउने मौका यही हो भन्ने उहाँको बुझाइ छ,” प्रचण्ड निकट स्रोत भन्छ ।
प्रचण्डको यही तयारी बुझेकाले पनि हुनुपर्छ, सोमबार सांसदहरूसँगको भेटमा प्रधानमन्त्री ओलीले आफूलाई हटाउने तयारी गरेको भन्दै गुनासो गरेका थिए । “उहाँहरूले हटाउने तयारी गरिरहनुभएको छ । पार्टी टुटफुटको दिशामा जान सक्छ । तयार रहनुस्,” प्रधानमन्त्री ओलीले भेटमा भनेका थिए ।
आ–आफ्नै तयारी
नेकपाले आज सचिवालयको बैठक बोलाएको छ । स्रोतका अनुसार आजको बैठकमा प्रचण्ड–नेपालहरूले स्थायी कमिटीको बैठकको जोडदार माग गर्नेछन् । २० जना स्थायी कमिटी सदस्यहरूले हस्ताक्षर गरेर बुझाइसकेकोले मागलाई बल पुगेकै छ । स्थायी कमिटी बैठकलगत्तै केन्द्रीय कमिटी बैठक माग गर्ने र सर्वत्र आलोच्य बनाएपछि संसदीय दलको बैठक बोलाएर नेताबाट हटाउने तयारी गठबन्धन समूहको छ ।
प्रचण्ड, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम यसमा सहमत छन् । तर, नेपाल संसदीय दलको नेताबाट हटाइहाल्ने पक्षमा भने छैनन् । “अध्यक्ष पद छाड्नेबित्तिकै पनि सहज निकास निस्कन्छ । कुन बाटो हिँड्ने उहाँकै इच्छाको कुरा हो,” नेपालनिकट स्रोत भन्छ ।
प्रधानमन्त्री ओलीले गठबन्धन पछि नहट्ने संकेत पाएपछि सांसदरूलाई आफ्नो कित्तामा तान्न भरमग्दुर प्रयास गरिरहेका छन् । यसका लागि उनले सांसदहरूलाई नै खटाएका छन् । सोमबार साँझ उनले ३० जना सांसदहरूलाई बालुवाटार बोलाएर छलफल गरे । बुधबार पनि त्यसलाई निरन्तरता दिएका छन् ।
“उहाँ अहिले संसदीय दलमा बहुमत जुटाउन लाग्नुभएको छ । संसदीय दलबाहेक अन्यत्रबाट हटाउने ठाउँ नभएकाले त्यहाँ आफ्नो उपस्थिति बलियो बनाउन लाग्नुभएको छ,” स्रोतको दाबी छ ।
नेकपा संसदीय दलमा प्रत्यक्ष निर्वाचनबाट चुनाव जितेका १ सय १४, समानुपातिक ५८ गरी १ सय ७२ जना सांसद छन् । ओलीलाई बहुमत जुटाउन १० जना सांसद अपुग छ । अहिले ओली बहुमत जुटाउने भगिरथ प्रयत्नमा लागेको स्रोतको भनाइ छ ।