site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रधानमन्त्रीको ब्रिफिङ–नेकपा फुटाउँदैछन्, तयार रहनू 
SkywellSkywell

काठमाडौं । पार्टीभित्रको अन्तरकलह झाँगिदै गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आफूनिकट सांसदहरूलाई बालुवाटार बोलाएर ब्रिफिङ गरेका छन् ।  विवाद सतहमा आएर पार्टी एकता धरापमा पर्ने खतरा बढेपछि केही सांसदहरूले प्रधानमन्त्री ओलीसँग माग गरेका थिए । 

भेटमा प्रधानमन्त्री ओलीले पार्टीभित्र थेग्नै नसक्ने विवाद देखा परेको बताएका थिए । जति कोसिस गर्दा पनि विवाद न्यूनीकरण गर्न नसकेको भन्दै सांसदहरूलाई पनि भूमिका खेल्न आग्रह गरेका थिए ।

“पार्टीमा मविरुद्ध षडयन्त्र भइरहेको छ । मलाई हटाउनेसम्मको तयारी बुझेको छु । पार्टी जुनसुकै बेला विभाजनको दिशातिर अघि बढ्न सक्छ, सतर्क रहनू,” भेटमा प्रधानमन्त्रीले भनेको कुरा सांसद विजय सुब्बाले उद्धृत गरे ।

KFC Island Ad
NIC Asia

ब्रिफिङमा प्रधानमन्त्रीले सरकारले गरेका सकारात्मक कामहरूको समेत प्रचार हुन नसकेको भन्दै दुःखमनाउ पनि गरेका थिए ।

“उहाँहरूको दृष्टिकोणमै नभएको, योजनामै नभएको काम सरकारले गरेको छ । सरकारले असाधारण काम गरेको छ । तर, उहाँहरूले कहिल्यै सरकारले राम्रो काम गर्‍यो भनेर जस दिनुभएन । विरोधै मात्रै गर्दै आउनुभएको छ । अहिले त बाहिरबाहिर बैठक बसेर मेरा विरुद्ध षड्यन्त्र रच्न थाल्नुभएको छ । यो सबै मैले बुझेको छु । यसले जतिबेलै टुटफुटको बाटोमा पुर्‍याउन सक्छ,” प्रधानमन्त्रीको ब्रिफिङ रहेको सुब्बाले बताए ।

Royal Enfield Island Ad

प्रधानमन्त्री पार्टी अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधव कुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमप्रति बढ्ता आक्रोशित थिए । जेभन्दा पनि उनीहरू मान्ने अवस्थामा नरहेको पार्टीलाई विभाजनमै लैजान खोजेको प्रधानमन्त्रीको आरोप थियो ।

प्रधानमन्त्री ओलीले अध्यादेश विरोधको बहाना मात्रै भएको बताएका थिए । “अध्यादेश एउटा आवश्यकताले ल्याइएको थियो । साथीहरूले आपत्ति जनाउनुभयो । अरूले पनि विरोध गर्नुभयो । विवाद मत्थर होला भनेर फिर्ता लिइदिएँ । तर उहाँहरूको योजना अर्कै रहेछ, अहिले देखिँदैछ,” प्रधानमन्त्रीले भेटमा भनेका थिए ।

अपदस्त नगरी नछाड्ने अठोट

प्रधानमन्त्री निकै अप्ठ्यारो अवस्थाबाट गुज्रिइरहेको सुब्बाको भनाइ थियो । आफूमात्रै होइन, पार्टी, पार्टी एकता र आन्दोलन नै अप्ठ्यारोमा परेको प्रधानमन्त्रीको बुझाइ रहेको सुब्बाले बताए ।

“म पार्टी फुट्न दिने पक्षमा छैन । पार्टीलाई कमजोर बनाउन दिने पक्षमा पनि छैन तर साथीहरू सबैले थाहा पाउनेगरी लागिराख्नुभएको छ । सबै सतर्क रहनुपर्ने अवस्था आएको छ,” प्रधानमन्त्रीको जोड थियो । सुब्बाका अनुसार छलफलमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका विश्वासपात्र मानिएका लेखराज भट्ट पनि सहभागी थिए । उनले पनि प्रधानमन्त्रीको बचाउ गरेको सुब्बाले बताए ।

“अध्यादेश एउटा प्रक्रियाबाट आयो, त्यो फिर्ता भइसकेको छ । फेरि नैतिकताको कुरा अगाडि ल्याएर विषय कोट्याइरहनु उचित हुँदैन । त्यसलाई एजेण्डा बनाउनुको कुनै अर्थ छैन,” भट्टले छलफलमा भनेको कुरा सुब्बाले उद्धृत गरे, “अहिलेको सरकारले विगतका कुनै सरकारले नगरेको काम गरेको छ । तर, प्रचार हुन सकेको छैन ।”

भट्टले एकतासम्म दुई अध्यक्षको सहमतिमै पार्टी सञ्चालन हुनुपर्नेमा जोड दिएका थिए । एउटा अध्यक्षको सहमति नभएमा त्यो विषय थाति रहनुपर्ने उनको तर्क थियो ।

“अहिले एकता कमजोर बनाउने, सरकार फेर्ने गतिविधि कहीँकतैबाट हुनुहुँदैन, जनताको म्यान्डेड पनि त्यो होइन । सरकारले गल्ती गरेको हुन सक्छ, नेताहरूको बीचमा छलफलको विषय बन्न सक्छ तर बाहिरबाहिर भन्दै हिँड्नुको अर्थ रहँदैन । त्यसले सरकार, पार्टीलाई कमजोर बनाउँछ,” भट्टले प्रधानमन्त्री ओलीको प्रतिरक्षा गरेको कुरा सुब्बाले बताए ।

उनले ओलीले पाँचवर्ष सरकारको नेतृत्व गर्न जनमत पाएकाले अहिले नै लेखाजोखा गर्ने बेला भइनसकेको पनि बताएका थिए । छलफलमा धादिङका सांसद खेम लोहनी पनि सहभागी थिए । बाह्रखरीसँग कुरा गर्दै लोहनीले छलफलका लागि सांसदहरूले नै प्रधानमन्त्रीसँग समय माग गरेको बताए ।

“हामीले बाहिरबाहिर सरकार ढाल्ने तयारी, पार्टीभित्र विवादजस्ता धेरै कुरा सुन्यौं, त्यसबारे बुझ्न प्रधानमन्त्रीसँग समय मागेका थियौं । उहाँले हिजो (सोमबार) साँझ बोलाउनुभएको थियो । भेटमा सरकारमाथि चारैतिरबाट आक्रमण भइरहेको, पार्टीभित्रैबाट पनि आक्रमण भइरहेको बताउनुभयो,” लोहनीले प्रस्ट्याए ।
लोहनीले पनि प्रधानमन्त्री ओलीले सरकार ढाल्ने खतरा औंल्याएको बताए ।

“पार्टी एकतालाई जसरी भए पनि जोगाउँछु । पार्टीलाई टुटफुट हुन दिन्नँ । सरकारले प्रभावकारी काम गरिरहेको छ । छिट्टै पार्टी कमिटीको बैठक राखेर समस्या समाधान गर्ने दिशातिर अघि बढ्छु,” प्रधानमन्त्रीले भेटमा भनेको कुरा लोहनीले उद्धृत गरे ।

प्रधानमन्त्रीले सरकारलाई रचनात्मक सुझाव दिन, त्रुटि औंल्याउन र राम्रा कामहरू जनताको बीचमा लैजान आग्रह गरेका थिए । छलफलमा सहभागी तिलक महत क्षेत्रीले प्रधानमन्त्री समस्या समाधान गर्न चिन्तित रहेको पाएको बताए ।

“हामीले मूलतः पार्टीमा देखा परेका समस्याबारे नै छलफल गर्‍यौं । नेताहरू मिलेर अघि बढ्न सांसदहरूले सुझाव दिएका थिए,” उनले भने । महत, लोहनी, सुब्बाका अतिरिक्त काठमाडौंका सांसद कृष्ण राई, सरिता न्यौपाने, नवराज सिलवाल, प्रेम आलेलगायत सांसद बालुवाटार पुगेका थिए ।

‘प्रचण्ड प्रतिक्रियावादीको मतियार बन्दैछन्’

ओली निकट सांसदले प्रचण्ड प्रतिक्रियावादीको ‘मतियार’ बनेको आरोप लगाएका छन् । सेक्टर काण्डदेखि पार्टी एकतापूर्वसम्म आफ्ना प्रतिद्वन्द्वीलाई पाखा लगाउँदै आएको आरोप लगाउँदै प्रचण्डलाई अहिले पनि पुरानै बानीले पिरोलेको ओली पक्षका सांसदको भनाइ छ । 

उनीहरूले प्रचण्डले पार्टी एकतालाई ‘मार्न’ खोजेको पनि आरोप लगाएका छन् ।

“पार्टीभित्र विवाद हुन सक्छन् । समस्या हुनसक्छन् । ओलीका कमीकमजोरी हुनसक्छन् । बैठक बसेर मिलाउनको सट्टा बाहिर बसेर घेराबन्दी गर्न मिल्दैन । ओली महाधिवेशनबाट निर्वाचित अध्यक्ष हो । जनताबाट निर्वाचित प्रधानमन्त्री हो । कसैले घरमा बसेर राजीनामा माग्दैमा दिने कुरा आउँदैन,” ओली निकट एक सांसदले बाह्रखरीसँग भने, “नेताहरू बाहिर बसेर पार्टी नेतृत्व, एकताविरुद्ध षड्यन्त्र गर्ने हो भने हाम्रो धैर्य पनि टुट्न सक्छ ।”

प्रचण्डले विगतका गल्तीबाट पाठ सिक्नुपर्ने उनीहरूको भनाइ छ । २०७३ सालमा जस्तो सरकार ढाल्ने खेलमा नलाग्न बैठक बसेर समस्या समाधानमा भूमिका खेल्न सोमबार छलफलमा सहभागी एक सांसदले बताए ।

फाइल तस्बिर 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख १६, २०७७  १७:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro