काठमाडौं । कोटेश्वर, बालकुमारी पुलको पश्चिमतर्फ नेपाल वन पैदावार व्यवयायी महासंघको कार्यालय छ । लकडाउनको कारण बन्द रहेको संघको कार्यालयमा सोमबार चहलपहल ह्वात्तै बढेको थियो ।
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) आन्तरिक किचलोमा छ । आन्तरिक विग्रह समाधान हुन नसक्दा अन्तिमतिर पुगिसकेको पार्टी एकता प्रक्रिया अवरूद्ध छ । सरकारले प्रभावकारी ढङ्गले कार्य सम्पादन गर्न सकेको छैन । पार्टी र आन्दोलनले प्राप्त गरेको अभूतपूर्व अवसर विवादै विवादले छायामा परेको छ । नेकपाभित्रको ठूलो हिस्सा सरकारको प्रतिपक्षीजस्तो बनेको छ ।
पार्टी एकतादेखि नै यो दशा बेहोर्दै आएको थियो । अध्यादेश प्रकरणले पार्टीको अन्तरकलह उत्कर्षमा पुर्याइदिएको छ । पार्टी अध्यक्ष केपी ओलीइतर समूह एकढिक्का भएका छन् । ओलीलाई सबक सिकाउने तयारीमा जुटेका छन् ।
पार्टी कमिटी, संसदीय दल सवत्र अल्पमतमा परेपछि ओलीले बल्ल संवादको थालनी गरेका छन् । पूर्वएमालेलाई एक ठाउँमा ल्याउने कोसिस थालेका छन् । वन पैदावार व्यवसायी महासंघको कार्यालय नेकपाको आन्तरिक विवाद मिलाउने थलो बनेको थियो । छलफल त्यसको सुरुआत थियो ।
पार्टी अध्यक्ष ओली र चौथो वरीयताका नेता माधवकुमार नेपाल समूह छलफलमा जुटेका थिए । ओली समूहको नेतृत्व उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले गरेका थिए । नेपाल समूहको तर्फबाट माधव नेपाल आफैं छलफलमा सहभागी भएका थिए । दिउँसो २ बजेबाट सुरु भएको साँझ ६ बजेसम्म चलेको थियो । ओली समूहमा पोखरेलका अतिरिक्त महासचिव विष्णु पौडेल, पाँच नम्बर प्रदेशका मुख्यमन्त्री, प्रदेश इन्चार्ज शंकर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सहभागी थिए । नेपाल समूहका तर्फबाट भीम रावल, सुरेन्द्र पाण्डे रघुजी पन्त सहभागी थिए ।
छलफलको मध्यतिर प्रदीप ज्ञवाली बैठकस्थलबाट बाहिरिएका थिए । बैठक सकिएपछि महासचिव पौडेल र नेता नेपालको एकान्त पनि चलेको थियो । छलफल सकिएपछि नेपाल समूह छुट्टै पनि बसेको थियो ।
चारघण्टा छलफल चले पनि ठोस कुराकानी हुन नसेकेको र ओली समूह विशेष प्रस्तावबिना नै बैठकमा जुटेको नेपाल पक्षको दाबी छ । “उहाँँहरूसँग ठोस, मूर्त प्रस्ताव केही थिएन । विषय पुरानै थिए । छलफलमा बढी सैद्धान्तिक कुरा भए,” नेपाल निकट स्रोतले बाह्रखरीसँग भन्यो, “उहाँहरूले मिलेर जाउँ भन्ने बहानामा समय कटाउन खोजेजस्तो मात्रै देखियो ।”
नेताहरूमार्फत् संवाद गरेर ओलीले नेपाललाई मनाउन खोजेको निकटस्थहरूको बुझाइ छ । आजको छलफलमा त्यसैको छनक पाएको नेपालनिकट नेताहरूले बताए । “पार्टीमा जेजस्ता समस्या देखिएको छ त्यसको समाधान भनेको ओली नेपाल मिल्नु नै हो । मिलेर अघि बढ्दा नै पार्टी र कम्युनिस्ट आन्दोलनको रक्षा हुन्छ,” ओलीका तर्फबाट छलफलमा बसेकाहरूले जोड दिएको कुरा स्रोतले उद्धृत गर्यो ।
‘प्रस्ताव लगेका थिएनौं’
ओलीको तर्फबाट छलफलको अगुवाइ गरेका उपप्रधानमन्त्री पोखरेलले नेपाल समक्ष कुनै प्रस्ताव नराखिएको बताए । “अनौपचारिक कुराकानी भए । पार्टी, सरकार सञ्चालनमा देखिएका अनेक अन्तरविरोध र यसको समाधान के हुन्छ भन्ने बारेमा नेताहरूले आ–आफ्ना धारणा राख्यौं । एकदमै अनौपचारिक गफगाफ थियो । नेताहरूका बीचमा यस प्रकारका संवाद निरन्तर हुँदै आएका छन् । भोलि पनि हुनेछन् । यस्ता अनौपचारिक कुराकानीमा प्रस्ताव लैजाने भन्ने हुँदैन,” पोखरेलले बाह्रखरीसँग भने ।
उनले नेताहरूले बैठकमा जोड दिएको पनि बताए । “अहिले जति पनि विषय आएका छन् । ती सबै बैठकमा लिएर जाऔं भन्ने कुराकानी भयो,” उनले भने ।
नेताहरूले सचिवालयको बैठक राखेर एकीकृत धारणा तय गर्न सुझाव दिएको बताए । नेताहरूकै सुझावलाई ध्यानमा राखेर मङ्गलबार सचिवालय बैठक बस्ने अनौपचारिक कुराकानी भएको बताए ।
नेपाल पक्षका तर्फबाट छलफलमा सहभागी रघुजी पन्तले पनि नेताहरूले पार्टी कमिटीको बैठक राख्न जोड दिएको बताए । पार्टी, सरकार सञ्चालनमा देखा परेका समस्याको निकास पार्टी अध्यक्ष, प्रधानमन्त्रीको हैसियतले केपी ओलीले नै दिनुपर्ने धारणा नेताहरूले राखेको उनको भनाइ छ ।
“हामी पावर सेयरिङ (शक्तिको बाँडफाँड) गर्नुपर्छ भन्ने तहबाट छलफलमा गएनौं । सरकार र पार्टीको कामको बिनापूर्वाग्रह समीक्षा गर्नुपर्छ । यो समस्याको निकास खोज्नुपर्छ । निकास पार्टी अध्यक्ष, प्रधानमन्त्रीले नै दिनुपर्छ । हाम्रो नेतृत्व उहाँ नै हो । समस्याको समाधान उहाँले नै दिने हो,” छलफलपछि स्थायी कमिटी सदस्य रघुजी पन्तले भने ।
छलफलमा सहभागी नेपाल समूहका नेता भीम रावल, सुरेन्द्र पाण्डेले स्थायी कमिटी बैठकमै जोड दिएको पन्तले बताए । “नेताहरूबीच अनौपचारिक कुराकानीले मात्रै समाधान दिँदैन । पार्टी कमिटीको बैठक राख्नुपर्छ, त्यही खुलाखुलस्त छलफल गनुपर्छ भन्ने नै हाम्रो जोड हो,” पन्तले भने ।
माधव नेपालको जोड– ओली एक कदम पछि हट्नुपर्छ
सोमबार बिहानमात्रै ओली नेपालबीच गहन संवाद भएको थियो । सोमबार बिहान पनि ओलीको सन्देश लिएर ज्ञवाली र पोखरेल नेपाललाई भेट्न निवास नै आएका थिए । सोही समूहले प्रचण्डलाई र वामदेव गौतमलाई भेटेर बैठक बस्नुपूर्व नै विवाद मिलाएर जाने रणनीति तयार पारेको थियो ।
तर, पनि नेपाल दबाबमा छन् । पार्टी एकता र त्यसपूर्वदेखि नै ओलीको पेलानमा परेको महसुस गरेका नेता कार्यकर्ताले नेपाललाई सजिलै मिल्न दिने पक्षमा छैनन् । ओली–नेपाल समूह एकठाउँमा उभिए तत्काल ओलीले गल्ती महसुस गर्ने र पुरानै लयमा फर्कने उनीहरूको आशंका छ । अतः ओलीलाई गलाएरै छाड्ने रणनीतिमा उनीहरू छन् ।
“जनताका बीचमा उनको छवि धूलिसात छ एकातिर भने, अर्कोतिर सरकार दिनानुदिन अलोकप्रिय हुँदैछ । ओली निकट भनिएकाहरू पनि एकपछि अर्को गरी बदनाम हुँदैछन् अतः ओलीलाई साइजमा ल्याउने उपयुक्त समय नै यही हो,” नेपाल समूहको बुझाइ छ ।
त्यसले पनि ओलीलाई एक्लै संवादमा जुट्न दिएको छैन । नेपाल र ओलीले समूह नै तयार पारेर छलफल गर्नुको कारण पनि त्यही हो ।
अहिले नेपाल ओलीको कुनै पनि प्रलोभनमा नफस्ने र सरकार गठनपछिका एकएक कदमको गल्ती महसुस गराउने पक्षमा दृढतापूर्वक उभिएका छन् । निकटवर्ती नेताहरूले टेको लगाइरहेका छन् । त्यसो त ओली–नेपाल एक ठाउँमा उभिनेबित्तिकै पूर्वमाओवादी एकठाउँमा उभिने परिस्थिति बन्छ । पार्टी एकता झन् भँड्खालोमा पर्छ । पार्टी एकताको वस्तुगत अवस्थाले पनि ओली नेपाललाई एकठाउँमा उभिन नदिएको उनीहरू बताउँछन् ।
“अहिले ओलीसँग पावर सेयरिङ गर्ने कुरै छैन । उहाँ (नेपाल)को मान्यता ओली एक कदम पछि हट्नुपर्छ भन्ने नै हो । अन्तिमसम्म उहाँ त्यसमा उभिनुहुन्छ, उभिनुपर्छ । बैठक बसेर पार्टी विधि, पद्धतिमा चलाउँछु भनेर ओली आत्मआलोचित हुनैपर्छ । बाहिरै समाधान खोजेर बैठकमा जाऔं भन्दैमा सहमत हुने अवस्था छैन,” नेपालनिकट एक नेता भन्छन् ।
नेता नेपाललाई ओलीले किनारमा पारेका नेता कार्यकर्ताको दबाब छँदैछ । भैंसेपाटी गठबन्धनको पनि दबाब छ । ओली–नेपाल पक्ष वन पैदावार व्यवसायीको कार्यालयमा जुट्दै गर्दा प्रचण्ड, झलनाथ खनाल खुमलटारमा छलफलमा थिए । सोमबार बिहान वामदेव पनि प्रचण्ड भेट्न खुमलटार पुगेका थिए ।
त्यो गबठन्धनले नेपाललाई सजिलै ओलीसँग मिल्न दिने पक्षमा नरहेको स्रोत बताउँछ । “अहिलेको अवस्थामा नेपाललाई ओलीसँग भन्दा प्रचण्डसँगै मिल्न सजिलो छ । उधारो आश्वासनमा नेपाल फस्नुभयो भने ओलीको स्वेच्छाचारितालाई नै बल पुग्ने हो । पार्टीलाई त्यसले बलियो बनाउँदैन एकता झन् अप्ठ्यारोमा पार्छ,” नेपालनिकट नेता परिस्थितिको विश्लेषण गर्छन् ।
फाइल तस्बिर