काठमाडौं । सरकारले लकडाउनको स्वरूप परिवर्तन गर्ने तयारी गरेको छ । कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको शनिबार बसेको बैठकले एक महिने लकडाउनको समीक्षा गर्दै स्वरूप परिवर्तन गर्नेगरी प्रस्ताव तयार पार्न लागेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार लकडाउनको मोडालिटी तयार पार्न निर्देशन दिएका थिए । आज बसेको समितिको बैठकमा विभिन्न मोडालिटीबारे छलफल भएको एक मन्त्रीले जानकारी दिए ।
ती मन्त्रीका अनुसार काठमाडौं उपत्यकासहित सहरी क्षेत्रमा कुनै हालतमा लकडाउन खुकुलो नबनाउने बरु हिमाली जिल्लामा परीक्षणका रूपमा केही खुकुलो बनाउन मन्त्रीहरूले सुझाव दिएका थिए ।
“काठमाडौं उपत्यका, जनघनत्व भएका क्षेत्रमा लकडाउन खुकुलो तुल्याउँदा प्रत्युत्पादक हुनसक्छ, परीक्षणको दायरा अझै बढाउनु पर्ने देखिएको छ । त्यसो हुँदा पहिलो चरणमा हिमाली जिल्ला खुकुलो बनाउने र थप सङ्क्रमित फेला नपरे क्रमशः पहाडी हुँदै सहरी क्षेत्र खुकुलो बनाउने सुझाव–प्रस्ताव आएको थियो,” बाह्रखरीसँग कुरा गर्दै उच्चस्तरीय समितिमा रहेका मन्त्रीले भने ।
उत्तर, दक्षिण दुवैतर्फको सीमानाका भने अनिश्चतकालसम्म बन्दै राख्नेबारे छलफल भएको उनले बताए ।
“हामी भू–बनोटका हिसाबले पनि दुई ठूला मुलुकको चेपुवामा छँदैछौं, कोरोनाका दृष्टिले पनि हाम्रो अवस्था त्यही छ । भारतमा सङ्क्रमण बढ्दो रूपमा रहेकाले हाम्रो चुनौति नै खुला सीमा हो । नाका खोल्ने होइन, तराई क्षेत्रमा अझै कडाइ गर्नुपर्ने देखिएको छ भन्ने सुझावहरू आएका छन् । यी सबै सुझावलाई व्यवस्थित, एकतृत गरेर आजै साँझ ठोस प्रस्ताव तयार पार्छौं र आइतबार बस्ने मन्त्रिपरिषद् बैठकमा पेस गर्छौं,” मन्त्रीले जानकारी दिए ।
लकडाउनकै कारण सङ्क्रमण फैलन नपाएको निष्कर्ष निकाल्दै समितिले आन्तरिक एवम् बाह्य उडान स्थगन नै राख्ने सुझाव आएको थियो । तदनुरूप समितिले जेठ २ गतेसक्क आन्तरिक एवम् बाह्य उडान रोक्ने निर्णय गरेको छ ।
“विश्वमा पछिल्लो लकडाउनको मोडालिटी के छ ? छिमेकी देशबाट सङ्क्रमण फैलने खतरा के कसो छ ? चुनौतिहरू के–के छन्, सबैको अध्ययन र निष्कर्षकै आधारमा लकडाउनबारे थप निर्णय लिन्छौं,” उनले भने ।
कोरोना रोकथाममा नेपाल एसियाकै अग्रस्थानमा
उच्चस्तरीय समन्वय समितिको चैत १० गते बसेको बैठकले लकडाउनको घोषणा गरेको थियो । पहिलो चरणमा चैत ११ गते बिहान ६ बजेदेखि एकसाता लकडाउनको घोषणा गरिएको थियो । चैत १७ गते बसेको मन्त्रिपरिषद् बैठकले समय थप गरेर चैत २५ गतेसम्म कायम राखेको थियो ।
चैत २४ गते मन्त्रिपरिषद् बैठकले पुनः आठदिन थपेर वैशाख ३ गतेसम्म लकडाउन लम्ब्याइएको थियो । पछिल्लोपटक १२ दिन थपेर वैशाख १५ गतेसम्म लकडाउन बढाइएको थियो ।
समितको आजको बैठकले कोरोना रोकथाम, नियन्त्रणका लागि लकडाउन प्रभावकारी बनेको निचोड निकालेको छ ।
“कोरोना सङ्क्रमण रोक्न हामी तुलनात्मक हिसाबले सफल छौं । जे उपायहरू अवलम्बन गरिएको छ, त्यो ठीक छ । सुरुमा अलिअलि अन्योल, अस्पष्टा भए पनि बिस्तारै स्पष्टता हुँदै गयो । अन्योलता हट्दै गए । परिचालनमा पनि तीव्रता आयो । परीक्षणको दायरा पनि बढ्यो,” समितिको निष्कर्ष रहेको मन्त्रीले बताए ।
सरकारले चालेको कदमका कारण कोरोना रोकथाम र नियन्त्रणका लागि नेपाल एसियाकै अग्रस्थानमा रहेको समितिले निचोड निकालेको छ ।
“कोरोना सङ्क्रमण देखिएका मध्ये एसियाका १० मुलुकमा एकजनाले पनि ज्यान गुमाउनु परेको छैन । त्यसमा नेपाल पनि पर्छ । दक्षिण एसियामा कोरोना परीक्षण गर्ने सन्दर्भमा नेपाल तेस्रो स्थानमा छ । नेपालभन्दा अगाडि भुटान र मालदिभ्स छन् । उनीहरूको जनसङ्ख्या पनि हाम्रोभन्दा कम छ,” समितिको निष्कर्ष रहेको ती मन्त्रीले भने ।
यसले सरकारले लिएका योजना, नीति ठीक रहेको देखाए पनि ढुक्क हुने अवस्था भने नरहेको मन्त्रीको भनाइ छ ।
“कोरोना सङ्क्रमण हाम्रो काबुमै छ । तै पनि ढुक्क हुने अवस्था छैन । परीक्षणको दायरा अझै बढाउनुपर्ने, आपूर्ति व्यवस्थामा ध्यान दिनुपर्ने, स्वास्थ्यकर्मीहरूको परिचालन अझै बढाउनुपर्ने देखिन्छ,” समितिका सदस्यहरूले सुझाव दिएका थिए ।
गृह, स्वास्थ्य तथा जनसङ्ख्या, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, सङ्घीय मामला तथा सामान्य प्रशासन मन्त्रालय, अरू सम्बन्धित मन्त्रालय, सुरक्षा निकाय बसेर लकडाउनको मोडालिटीका बारेमा एकीकृत प्रस्ताव तयार पार्ने निर्णय भएको समितिले जानकारी दिएको छ ।