site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
भैंसेपाटी गठबन्धनको निष्कर्ष– दुवै अध्यादेश तुरुन्तै फिर्ता गर्नुपर्छ

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का शीर्ष नेताहरूले राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार जारी गरेको दुवै अध्यादेश तुरुन्तै फिर्ता गराउने निर्णय गरेका छन् ।

वामदेव गौतम निवास भैंसेपाटीमा भेला भएका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, महासचिव विष्णु पौडेल, प्रवक्ता नारायणकाजी श्रेष्ठको समूहले दुवै अध्यादेश फिर्ता लिन सरकारलाई आग्रह गर्ने निर्णय गरेको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

पार्टीका तेस्रो वरीयताका नेता खनालले बाह्रखरीसँग कुरा गर्दै भने, “हामी अनौपचारिक रूपमा बसेका हौं । सरकार र पार्टीको कामकारबाहीको बारेमा कुराकानी भयो । सरकारले जारी गरेको अध्यादेश अहिले कामै छैन भन्ने निष्कर्ष निकाल्यौं ।”

“अहिलेको प्राथमिकता भनेको कोरोना हो । त्यसपछि संसद अधिवेशन चल्छ । जे ल्याउनुपर्ने हो त्यहीँ ल्याउने । अध्यादेश फिर्ता लिएर सरकार आफ्नो कामतिर लाग्नुपर्छ भन्ने कुराकानी भयो,” खनालले थपे ।

प्रधानमन्त्री केपी ओलीले बिहीबार बिहानै पार्टी अध्यक्ष प्रचण्ड र नेता नेपाललाई निवासमा भेटघाट, परामर्श गरेका थिए । भेटमा दुवै नेताले अध्यादेश फिर्ता लिन सुझाव दिएका थिए । तर प्रधानमन्त्रीले कानुनविद्सँग परामर्श गर्ने बताएका थिए ।

त्यसलगत्तै नेताहरू भैंसेपाटीमा भेला भएर ओलीलाई थप दबाब दिएका हुन् । ओलीको पछिल्लो कदमले भैंसेपाटी गठबन्धन ब्युँताउन उत्प्रेरित गरेको छ । यसअघि सभामुखमा ओलीले आफ्नो अडान नछाडेपछि भैंसेपाटीमै भेला भएर अग्नि सापकोटालाई उमेदवार बनाउन नेताहरू सहमत भएका थिए । 

भैंसेपाटी गठबन्धनको निष्कर्षलाई ओली मान्न बाध्य भएका थिए । यो प्रकरणमा पनि ओलीलाई गलाएरै छाड्ने इतर समूहको तयारी छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख ११, २०७७  २०:४०
प्रतिक्रिया दिनुहोस्