आमाको विवाह पन्ध्र वर्षको उमेरमा भयो । करिब २० जनाको संयुक्त परीवारमा बुहारी भएर भित्रिनु जीवनलाई काँडाको बाटोमा हिँडाउनुसरह थियो । जीवनमा धेरै नै उतारचढाव आए । कहिले सन्तान वियोग त कहिले आफ्नै परिवारबाट विभिन्न लाञ्छना र आरोप । यी सबै सहजरूपमा स्विकारिन् । जे दिन्छन् त्यही खाइन् । जस्तो दिए त्यस्तै लाइन् । जसरी बोल भने त्यसरी नै बोलिन् । कहिलेकाहीँ विद्रोह गर्न तम्सिएकी पनी हुन् । घर छोड्नेसम्म पनि विचार गरिन् । बाँचेका सन्तानसहित आफैँलाई नै मार्ने पनि विचार गरिन् । तर, यस्ता सबै विचार विचारमै सीमित रहे । अनि दोष दिन लागिन् आफ्नै भाग्यलाई – छैठीमा लेखिएको मैले चाहेर किन परिवर्तन हुन्थ्या र ? । यही हो उनको अहिलेसम्मकै निष्कर्ष ।
आमालाई लिखित वा मौखिकरुपमा कसैले पनी सहेर बस, तिमीले आफ्नो बारेमा सोच्न हुँदैन, पाउँदिनौ, छोरा नजन्माए तिमी घरबाट निकालीन्छौ वा सौता भित्रिन्छे भनेन । तर, व्यवहार, हाउभाउ, चलिआएको रीतले उनलाई हरप्रहर यिनै कुरा भनीरहे । फलस्वरुप, छोराको आशमा एकपछि अर्की छोरी जन्माइरहिन्, आफ्नो शरीरभन्दा घरको कामलाई नै महत्त्व दिइन् । दस जना सन्तानमध्ये ४ जनामात्र जीवित छौँ । शरीरमा दम, एलर्जी, उच्च रक्तचाप लागेका छन् । यी सबै भोगाइ उनका इच्छा थिए कि बाध्यता उनीलाई नै थाहा होला । अहिले भन्छिन् – महिला भएपछि सहनु नै पर्छ, कहाँ पुरुषसरह बन्न सकिन्छ ? उनले परिवार र समाजबाट यही सिकिन् । के उनकोे इच्छा नै यही हो ? की समय र परिस्थितिले विभेद र हिंसालाई सहज ठानेर सहन सिकाएको हो ? परम्परा, मान्यता, परिवार र समाजको इज्जत धान्ने निःशुल्क र अन्यायपूर्ण ठेक्का भिराइएकी उनलाई के आफ्नो इच्छा के हो भन्ने पनि थाहा होला र ?
र, यो प्रश्न हजारौँ आमाहरुलाई पनि !
महिलाको इच्छा के हो ? ती इच्छा कस्ता देखिन्छन् ? के ती इच्छा स्वतन्त्र हुन्छन् ? यी प्रश्न मभित्र दौडन थाले ? झल्याँस्स एउटा कुरा सम्झेँ । एकजना नाम चलेकी महिला मोडलले आफ्नो अंग प्रर्दशन नितान्त व्यक्तिगत इच्छा र स्वतन्त्रतामा पर्छ भनेको । उनले त्यतिभन्दा मलाई सोध्न मन लागेको थियो – के त्यो नितान्त व्यक्तिगत खुसी र सहजताको लागि थियो ? या उनको शरीरका हरेक अंग पुजीवादी बजारमा विक्रीका लागि रहेको दृष्टान्तको पुष्टि थियो ? म आफैँलाई पनि छोटा लुगा लगाउन मनपर्छ, आरामदायी लाग्छ र लगाउँछु पनि । तर, मेरो शरीरलाई कुनै वस्तुजस्तो बजारमा झुन्याइएको मन पर्दैनमात्र भने । उनले केही पनि प्रतिक्रिया दिइनन् । सायद, मेरो कुरा मन परेन ।
महिला कस्तो देखिनुपर्छ भन्ने निर्धारण कसले गर्छ ? के महिलालाई त्यो स्वतन्त्रता छ ? महिलाले लाउने, खाने, हिँड्ने, बोल्ने, काम गर्ने, आफ्नो यौनिकताका बारेमा छलफल गर्ने आदि मामिलामा अलिखित कानुन भनिने सामाजिक मूल्य मान्यताले निर्धारण गर्छन् । महिलालाई यी मान्यताले आफ्नो प्राकृतिक सुन्दरतामा विश्वास गर्नबाटै वन्चित गरीदिएको छ ।
त्यसैले कस्मेटिक्स बजारमा अर्बौंको व्यापार फस्टाउँदो छ । फेसनको नाममा कथित छनोटको नारीवादी खेती पनि उत्तिकै फस्टाउँदो छ । कुनै महिला आफ्नो छाला कालो छ भन्दै ‘ह्वाइट्निङ’ क्रिमको प्रयोग गर्छिन् च्वाइसको नाममा । उनलाई सीकाइएको छ – सुन्दर त गोरो छाला, रातो ओठ, काला, लामो परेला, छिनेको कम्मर पो हो । महिलालाई कति अमानवीय वस्तु बनाइदिएको छ भने उनीहरु संसारमा काला, राता, गहुँगोरा वर्णका मानिस पनि छन् । प्रत्येक व्यक्ति आफैँमा सुन्दर र विशेष छ भन्ने बिर्सन्छन् ।
पितृसत्ताले आफ्नो हैकम टिकाइराख्न महिलालाई उसकै अनुकूलताको नीति नीयम बनाएर बाँधिदियो । समयसँगै पितृसत्ताको रणनीति पनि बदलिएको छ । अहिले आधुनिकीकरणका नाममा सुन्दरताको परिभाषासहित महिलालाई पुँजीवादको जंजिरले बाँधेर स्वतन्त्रताको खोल ओडाएको छ । हामीलाई बाहिरबाट हेर्दा लाग्छ आहा हामी कति स्वतन्त्र, हाम्रो त विश्व बजारसम्म पहुँच छ । हामी सशक्त भयौँ, आर्थिकरुपमा सक्षम भयाैँ ।
तर, के हामीले त्यो कथित स्वतन्त्रताको खोलभित्रको जन्जीरलाई देख्न सकेका छौँ ? की झलक्क परेको बोक्रामै रमाइरहेका हौँ ? महिलालाई वस्तुसरह बजारमा बिकाएर, आधुनिकीकरणसँगै कथित स्वतन्त्रता र इच्छाको नारा घन्काइरहँदा आउनुस् एकपटक छलफल गरौँ । के साँच्चै हामी महिलाहरु आफ्नो इच्छा र स्वतन्त्रतामा बाँचेका छौँ ? के हाम्रो शरीर, विचार र सुन्दरताको पिरभाषा हामी आफैँले लेख्न सकेका छौँ त ?