site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘सुक्खा चिउरा र दालमोटकै भर’

काठमाडौं । काभ्रेको दोलालघाटनजिकै एक हूल मानिस कस्सिएर हिँडिरहेका थिए । उनीहरूको हिडाइ देख्दा लाग्थ्यो लामो गन्तव्य तय गर्नुछ । सबैले झोला बोकेका, चप्पल लगाएका । केही परबाटै मनमा कुरा खेल्यो यो लकडाउनको समयमा यसरी चप्पल लगाएर झोला भिरेर हिँड्ने को होला ? 

मनको खुलदुली मेटाउन उनीहरू नजिकै पुगेर प्रश्न गरे, कहाँ पुग्ने ? कहाँबाट आएको ? ६ जनाको समूहमा रहेका ती युवाहरूमध्ये एक जनाले भने, “सिन्धुपाल्चोकबाट काठमाडौं जान लागेको ।” त्यतिकैमा अर्को एक जनाले भने, “होइन मोरङ जान लागेको ।”

मैले फेरि प्रश्न गरें लकडाउनमा यसरी हिँड्न पाइँदैन भन्ने थाहा छैन ? उनीहरूको जवाफ थियो, “थाहा त थियो नि तर के गर्नु ? ३ गतेसम्म त लकडाउन खुल्छ अनि घर जाने भनेर बसेका फेरि १५ गतेसम्म लकडाउन थपियो अझै कहिलेसम्म हुने हो थाहा छैन । काम गर्न गएको ठाउँमा काम पनि सकियो अब कसले खान दिन्छ र बस्नु त्यसैले मरे पनि आफ्नै घरमा गएर मर्ने हो ।”

उनीहरू सिन्धुपाल्चाकको चौतारा साँगाचोकगढी नगरपालिकाको चेहेरे भन्ने ठाउँमा कुनै नयाँ रिसोर्ट सञ्चालनका लागि काम गर्न गएका मजदुर रहेछन् । ६ मध्ये एकजनाको घर पर्साको वीरगन्ज रहेछ भने एकजनाको सिन्धुली र बाँकी ४ जनाको मोरङको उर्लाबारी । सिन्धुली र मोरङ घर भएका युवाहरू दोलालघाट हुँदै धुलिखेल आएर बीपी राजमार्गको बाटो हुँदै उर्लाबारीसम्मको करिब ४०० किलोमिटर यात्रा तय गर्न कस्सिएका रहेछन् भने अर्का एक युवक काठमाडौं हुँदै पार्साको ठोरी गाउँपालिकासम्म । 

दोलालघाटबाट २ किलोमिटर अगाडि बढिसकेका उनीहरूलाई मैले मोरङ जाने मान्छे किन धुलिखेलसम्मको लामो यात्रा तय गर्नुहुन्छ ? तपाईंहरू दोलालघाटबाट सुनकोसी किनारको बाटो जानुभयो भने धुलिखेल पुग्दा सिन्धुलीका नेपालथोक पुग्नुहुन्छ किन एक दिन भए पनि बढी हिँड्नुहुन्छ भनेपछि, बाटो थाहा नपाएर उतैबाट जान लागेको एक युवाले बताए । त्यसमध्ये अर्का एक भान्जा पर्ने काठमाडौं जानुपर्ने एक्लै कसरी छाड्ने पनि भन्न थाले । 

त्यहीमध्येका एकले साहुको अर्को साइड (काम गर्ने क्षेत्र) जिरोकिलोमा छ साहुलाई फोन गरेर उसलाई काठमाडौं पुर्याइदे भन्ने भन्दै फोन गरे । फोन गर्दा पुर्याउन नसके पनि बस्ने व्यवस्था मिलाउन भनेपछि एकजनलाई त्यहींबाट पठाएर दोलालघाटबाट सुनकोसी किनारैकिनार मोरङको यात्रा तय गर्ने भन्दै उनीहरू पुनः २ किलोमिटर फर्किएर जाने साल्लाह गर्न लागे । 

यति लामो बाटो कसरी जानुहुन्छ, खानेकुरा बोकेको छ कि छैन भनेर प्रश्न गर्दा उनीहरूमध्येका एक, करिब ३५ वर्षका कुमार नाम गरेका व्यक्तिले भने, “केही मात्रामा चाउचाउ बिस्कुट बोकेका छौं, र बाटोमा किन्ने कुरा पाइयो भने खानाले मरिँदैन, केही पैसा साथमा बोकेका छौं ।” तर अब केही दिन बस्दा खानेकुराकै अभाव हुने अवस्था आएपछि हिँडरै जान लागेको उनले बताए । 

त्यसपछि अगाडि बढ्ने क्रममा काठमाडौं छोडेर काभ्रे, सिन्धुपाल्चोक, दोलाखा रामेछापलगायत जिल्लामा हिँडेर जानेहरूकै भिड बाटैभरि देखियो । पाँचखाल प्रहरी चौकीनजिकै आउँदा २ महिला र ३ पुरुषसहित पाँच जनाको टोली बाटोको छेउमा बसेका थिए । त्यसमध्ये एक महिलाले काखमा बच्चा बोकेकी थिइन् । उनीहरू सडकछेउका रुखको छहारीमा बसेर पोको पारेर ल्याएका केही खाजा खाँदै थिए । 

त्यस समूहका एकजना रामेछाप जाने रहेछन् भने बच्चा बोकेकी महिला र अर्को महिलाको साथै अन्य दुई युवा सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाको माझी बस्ती पुग्नुपर्ने गन्तव्य तय गर्दै थिए । जुन सभामुख अग्निप्रसाद सापकोटाको निर्वाचन क्षेत्र र नगरपालिकासमेत हो । 

अघिल्लो दिन धुलिखेलमा बास बसेको सुनाउने तिनीहरू अब त पुगिन्छ होला भन्दै थिए । उनीहरूलाई घरमा कोही आफन्तको मोटरसाइकल छ भने लिन बोलाउनुस् बच्चाको विजोग भयो यहाँसम्म मोटरसाइकल आउन दिन्छ भन्दै अगाडि बढे । 

शुक्रबारको बिहान करिब साढे ९ बजेको थियो पाँचखाल बजारका केही पसल फाट्टफुट्ट खुलेका थिए । व्यापारीहरू अब सोमबार मात्रै बजार खुल्छ भन्दै थिए । पाँचखाल नगरपालिकाले खाद्यान्नलगायत पसल पनि सातामा सोमबार र शुक्रबार मात्रै खोल्न पाउन व्यवस्था गरेको रहेछ । 

त्यहाँबाट अगाडि बढेपछि पनि बाटैभरि हिँडेर जानेको लर्को थियो । बनेपा पुलबजारनजिकै ६ जनाको अर्को टोली भेटियो । उनीहरू ललितपुरमा घर बनाउने काम गर्दा रहेछन् । लकडाउन पछि ठेकेदारसँग भेट नभएको र खानेकुराको अभाव भएको सुनाए । नगरपालिकासँग राहत माग्‍न जाँदा नागरिकता छ भने दिने अन्यथा नदिने बताएपछि खानेकुरा अभाव भएर घर जान लागेको बताए । उनीहरू सुनसरीको इनरुवासम्मको यात्रा हिँडेरै तय गर्ने भनेर लम्किएका थिए । 


उनीहरूलाई कति दिनमा पुग्नुहुन्छ भनेर प्रश्न गर्दा ४ दिनमा त पुगिएला नि भन्दै थिए । सबै चौधरी थरका उनीहरू पैदल जाने कुनै वैकल्पिक बाटो थाहा भए बताइदिन आग्रह गर्दै थिए । चार दिनमा घर पुगिएला भनेर सुक्खा चिउरा दालमोट र बिस्कुट बोकेको तर पानी भने बाटोमा पाइएला नि भन्दै अगाडि बढे । 

त्यसको २०० मिटर पनि अगाडि जान नपाउँदै ५ जनाको अर्को समूह भेटियो । उक्त समूहलाई कता जान लागेकोभन्दा केही झस्किए । समूहमध्येका एक राजेश चौधरीले काठमाडौंमा खान नपाइने भयो आफ्नै घर जान लागेको भने । 

“सर्लाहीको चक्रघण्टा भन्ने ठाउँमा पुग्ने हो, रामेश्वर यादवको निर्वाचन क्षेत्रमा पर्छ हाम्रो घर,” उनले बेलिविस्तार लगाए । काठमाडौंको जोरपाटीमा बस्दै आएका ती व्यक्ति बिग्रिएका प्रेसरकुकरलगायत मर्मतको काम गर्थे ।


यहाँको नगरपालिकाले दुईपटक सम्म प्रहरीको सिफारिस लिएर जाँदा पनि राहत नदिएको उनले गुनासो गरे । नागरिकता नभई नगरपालिकाले राहत नदिने र आफूहरूको नागरिकता घरमै रहेको तर नेपाली नागरिक भएको अन्य प्रमाण पेस गर्दा नगरपालिकाले राहत नदिएको उनले गुनासो गरे । 

२०० रुपैयाँ बोकेर ५ जनाको टोली सर्लाहीसम्मको यात्राका लागि निस्केको उनले बताए । साँगाका प्रहरीले भने पानी र बिस्कुट खान दिएर पठाएको र बाटोमा पनि मागेरै भए पनि खाँदै जान पाइएला भनेर हिँडेको उनले बताए । साँगामा निस्कने बेलामा भक्तपुरमा बसेको सशस्त्र प्रहरीको टोलीले अभद्र व्यवहार गरेको अर्का एक युवाले सुनाए । 

यसरी करिब एक घण्टाको यात्रा गर्दा सयौंको संख्यामा बूढाबूढी, काखमा बच्चा बोकेका महिला, बच्चाबच्ची तथा मजदुरहरू सयौं किलोमिटरको पैदल यात्रा गर्न बाध्य हुँदा पनि सरकार भने मूकदर्शक बनेर बसेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख ५, २०७७  १९:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro