हामी नेपालीलाई काम गर्दागर्दै त गाँस, वास र कपास जुटाउन सधैँ धौधौ हुन्थ्यो । अहिले त विश्वभर नै कोरोनाभाइरसको आतंक मच्चिएर दुनियाँ सबै बन्दाबन्दीमा छ । सबै विपत्तिले पहिले सताउने बिहान काम गरेर साँझ हातमुख जोर्नेलाई नै रहेछ । सरकारले बन्दाबन्दी भनेको छ मान्नै पर्यो ।
नमान्दा पनि कोभिड –१९ बाटै पो मरिन्छ कि भन्ने डर । मानेर बस्यो भने भोकले नै पो मरिने डर भइसक्यो । सरकारले त घर बाहिर ननिस्किनु भनेर भनेको छ । घरभित्र बसिरहन खाना छैन । सरकारी सहायता पाउनै मुस्किल । पाए पनि खानै नसकिने कुहिएको । गरिब हुँदैमा कुहिएकै दाल चामल खाएर बसेको त हुदैन नि !
काम गर्न बाहिर निस्किन मिल्ने समयमा त साँझ बिहान त एक पेट मीठै खाइन्थ्यो । पर्याप्त खानेकुरा साँचेर राखेको पो हुदैन त । परिवार ठुलो हुन्छ । एक, दुईजनाको कमाइ । त्यो पनि न भने झैँ रोजगारी पाइन्छ । रोजगारी पाए पनि परिवार पाल्न पुग्ने ज्याला दिइँदैन । जहिले पनि श्रमिकहरुलाई त शोषण न भइरहेको छ नि । काम गर्दा नै पनि श्रमको उचित मूल्य छैन । त्यसैगरी सम्मान पनि छैन । कामलाई नै ठूलो सानो भनेर भेदभाव गरिएको हुन्छ ।
श्रमिकको पनि परिश्रमअनुसारको पारिश्रमिक पाउने भए त काम नहुँदा अर्थात् यस्तो समस्या पर्दा त केही सातासम्म बसेर खान सक्ने बचत हुन्थ्यो होला ।
सरकारले कोही पनि भोकै बस्नु पर्दैन भनेको त छ नि तर के गर्नु सहायता पाउने आशा नै नभएर विभिन्न स्थानमा श्रमिकहरु भोकभोकै गाँउ नै फर्किन बाध्य भएर पैदलै हिडिरहेका छन् । मजदुरले काम गरेकै ठाउँमा गाँँस, वास पाएको भए को त्यसरी हिँड्थ्यो होला र ? बाटाबाटामा भोको पेटमा छटपटाउँदै ई हिँडिरहेको तस्बिर जताततै देख्दा मन रुन्छ । आखिर काम गर्न पाउँदा त जति नै दुःख भए पनि एक पेट त खाएका थिए । आज काम नहुनेबित्तिकै पेट रित्तै बनाएर हिँड्नुपर्ने कस्तो परिस्थिति हो ?
घरसम्म पुग्न सके भने ओल्लोपल्लोघर ऐँचोपैँचो गरेर खान पाएन्छ । गाउँमा अन्न सकिएछ नै भने पनि बनतिर गएर गिठ्ठाभ्याकुर त खान पाइन्छ । यही कारण पनि मजदुरहरू फर्केका हुन् ।
भोट माग्ने बेलामा दिनरात दुःखसुख सोध्न आउनेहरु आज भोकभोकै मर्ने स्थिति हुँदा कोही आएनन् । सरकार फेरियो तर श्रमिकहरुलाई हेर्ने दृष्टि फेरिएन । भाइरससँग त श्रमिकहरू जसोतसो बाँच्लाने तर भोकबाट भने सरकारले बचाएमात्र बाँचिएला । जनताले दुःखमा सरकारको साथ पाइन्छ भनेर ढुक्क हुन कहिले पाउने हो ?