किताब पढ्ने, लेखन कार्य गर्ने, शरीरको सरसफाइ र फूल रोप्नेलगायत अरु रचनात्मक कार्य गरेँ ।
स्कुलको अन्तिम दिन थियो म र सबै साथीहरु लामो बिदा हुने भयो भनेर खुसी थियौँ । अरु साथीका जस्तै मेरा पनि विभिन्न योजना थिए । फिल्म हेर्न जाउँला, क्रिकेट खेलाैँला र घुम्न जाउँला भनेर योजना बनाएको म सरकारले लकडाउन घोषणा गरेपछि निराश भए । घरमै थुनिएर बसेको मलाई झ्यालबाट बाहिर हेर्दा बाहिर जाँऊ जाँऊजस्तो हुन्थ्यो ।
सबै योजनाहरु परिवर्तन भएपछि म निराश भएको थिएँ । चन्चले स्वभावको म दिनभर घरमा बस्दा २।४ दिन त जेलमा बसेझैँ भयो । दिनभर पब्जी खेल्ने, सुत्ने र मोबाइल चलाउने गरेकोले एक किसिमको मभित्र सामाजिकको कमी हुँदै थियो भने अर्कोतिर म एकोहोरो भएको थिए । एकछिन बिजुली जाँदा पनि मलाई के गरुँ के गरुँजस्तो हुन्थ्यो । केही काम नपाएर सुत्थेँ तर मेरो अगाडि कति धेरै अवसर रहेको मैले थाहा पाउन सकेको थिइन । हुनत, मोबाइल प्रयोग गर्नु हामीले सामान्य ठान्छाँै तर यसको अत्याधिक प्रयोगले नसा प्रणालीमा असर पर्छ ।
एकदिन मलाई आमाले पढ् पढ् भनेपछि मैले थन्किएका किताबहरु हेर्न सुरु गरेँ । त्यहाँ हाम्रै विद्यालयका पूर्वविद्यार्थी प्राविधिक केट केसीद्वारा लेखिएको ‘आर्तनाद’ भन्ने किताब पढ्न थाले । केही पाना पढेपछि मलाई अझै पढ्न मन लाग्यो । किनभने किताब रोचक तरिकाले लेखिएको थियो । किताब देखेपछि टाउको दुख्ने मैले त्यो किताब भने ३ दिनमा नै पढेर सिध्याएँ । त्यसपछि मैले घरमै भएको इन्साक्लोपेडिया पढे । यसरी ममा पढ्ने बानी विकास हुँदै गयो । किताब पढेर विभिन्न कुरा सिक्न पाँउदा मैले म कति मोबाइलमा अल्झिँदो रहेछु भन्ने बल्ल थाहा पाएँ ।
समय बित्दै गयो र मैले सक्रिय जीवन जिउन थालेँ । प्रत्येक बिहान आमाले उठाउनु पर्ने म आजकाल आमाभन्दा पहिला उठ्न थालेको छु । त्यसपछि शारीरिक सरसफाइ र व्यायाम गरेर खाना खान्छु । खानापछि म किताब पढ्छु, चित्र कोर्छु र साँझमा समाचार सुन्छु । विभिन्न शीर्षकमा निबन्ध लेख्न सुरु गरेको छु । परिवारका सदस्यहरुसँग कुराकानी गर्छु । हामीले सधैँ परिवारसँग समय बिताउन पाए हुन्थ्यो भन्थ्यौँ । यही लकडाउनको समयमा हामीले अनुभव र विचार बाँड्न पाएका छौँ । आमाबुवा अफिस, दिदी काठमाडाैं र म विद्यालय हुने भएकोले राम्ररी कुराकानी पनि हुन्थेन । अहिले सबैसँग समय बिताउन पाउँदा म खुसी भएको छु ।
त्यसैगरी आमालाई खाना पकाउन पनि सघाउँछु । मैले अम्लेट, सुख्खा रोटी, चिया र दाल बनाउन सिकेँ । आफूले बनाएको भनेपछि अम्लेटमा नुन धेरै, सुख्खा रोटी टाटेपाटे र चियामा चिनी कम हुँदा पनि मीठै लाग्ने रहेछ । यसरी मैले आमाले कति मेहनत गरेर खाजा बनाउनु हुन्थ्यो भन्ने थाहा पाएँ । आमाले बिहानै उठेर हामीलाई खाना बनाउनु हुन्थ्यो तर मैले नमीठो छ भनेर वचन लगाउँथे । त्यस्तो गर्दा आमालाई कस्तो लाग्दो हो भन्ने बल्ल थाहा भयो मलाई । आमालाई बारीमा पनि बोडी, सिमी र चिप्लेभिन्डी रोप्न सघाएँ । फूल पनि रोपेँ । मैले फूललाई दिनदिनै पानी दिने गर्छु र फूल हुर्किरहेको देख्दा मन प्रफुल्ल हुन्छ ।
चीनको वुहान सहरबाट फैलिएको कोरोनाभाईरसको त्रास संसारभर छ । यस त्रासले नेपाललगायत धेरै देशमा लकडाउन घोषणा गरिएको छ । यस्तो चुनौतीपूर्ण समयमा हामीले आदर्श नागरिक भएर आफ्नो कर्तव्य पूरा गर्नुपर्छ । हामी सधैँ राष्ट्रियताका बारेमा कुरा गर्छौँ । राष्ट्रियता देखाउने यही अवसर हो । राष्ट्रियता देखाउन तपाईँहरु पनि घरैमा बस्नुहोस् । हो ! तपाईंहरुलाई पनि मलाई जस्तै झ्यालबाट बाहिर हेर्दा बाहिर जाऊँ जाऊँ हुन्छ होला तर हामीले हाम्रै रक्षाको लागि लकडाउन घोषणा गरिएको हो भन्ने बुझ्नुपर्छ ।
आदर्श नागरिकका रुपमा हामी घरमा नै बसेर विभिन्न रचनात्मक क्रियाकलाप गर्न सक्छाँै । विद्यार्थीहरुले घरमा दिनभर मोबाइल खेल्नेभन्दा किताब पढ्ने बानीको विकास गराँै । व्यावहारिक अध्ययन गर्न सकिन्छ । सबैले सकरात्मक सोच विकास गर्यौँँ भने यो चुनौतीपूर्ण समय सजिलोसँग काट्न सकिन्छ ।
(कक्षा ७, गण्डकी आवासीय विद्यालय, पोखरा ।)