काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले सरकारले काम गरिरहेको भन्दै कोरोना रोकथाम, नियन्त्रणका लागि सर्वदलीय समिति आवश्यक नरहेको बताएका छन् ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कोभिड–१९ विरूद्ध मुकाबिला गर्न सबै राजनीतिक दल सम्मिलित साझा संयन्त्र आवश्यक रहेको बताएका थिए ।
तीन दिनअघि इमेज टेलिभिजनसँग विशेष कुराकानी गर्दै अध्यक्ष प्रचण्डले सबै प्रमुख राजनीतिक दल, सत्तापक्ष, प्रतिपक्ष, राष्ट्रिय राजनीतिक दलहरू र महत्त्वपूर्ण व्यक्तित्व सम्मिलित संरचना नै बनाएर यसको मुकाबिला गर्नतिर जानु आवश्यक भएको औंल्याएका थिए ।
“यसले यो समस्याको सामना गर्न, जनतामा विश्वास, एकता र आत्मविश्वास पैदा गर्न त्यस खालको संरचना गर्न त्यस खालको संरचनाले मद्दत गर्छ भन्ने मलाई लागेको छ,” उनको विश्वास प्रकट गरेका थिए ।
बाह्रखरीसँग सङ्क्षिप्त कुराकानी गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका खनालले पार्टीभित्र यसबारे कुनै कुराकानी नभएको र यसबारे उठेको बहसको कुनै औचित्य नरहेको बताएका छन् ।
“पार्टीभित्र केही पनि कुरा भएको छैन । अहिले सरकारले नै काम गरिरहेको छ किन चाहियो त्यसप्रकारको संरचना ?,” उनले प्रश्न गर्दै भने ।
सरकारले नै सबै पक्ष, राजनीतिक दलहरूलाई समेटेर अघि बढ्नुपर्ने खनालको धारणा छ ।
“अहिले सरकारी संयन्त्रले काम गरिरहेको छ । त्यही समितिले सबै राजनीतिक दलहरूलाई समेटेर अघि बढ्नुको विकल्प छैन,” उनको थप टिप्पणी छ ।
सरकारले कोरोना सङ्क्रमणबारे थप कदम चाल्न ९ विभागीय मन्त्री सम्मिलित उच्चस्तरीय संयन्त्र बनाएर काम गरिरहेका बेला पार्टीभित्रैबाट अलग सर्वदलीय समितिको बहस उठान गरिएको भन्दै असन्तुष्टि प्रकट भएको छ ।
पार्टीका अर्का वरिष्ठ नेता माधवकुमार नेपालले पनि सर्वदलीय संयन्त्र आवश्यक नरहेको बताइसकेका छन् ।
के भनेका थिए अन्तर्वार्तामा अध्यक्ष प्रचण्डले ?
यहाँसम्म आइपुग्दा हामीले जेजति राम्रा कामहरू गरेका छौं, यो रोगलाई रोकथाम गर्नका लागि सरकारको तर्फबाट, राजनीतिक दलहरूको तर्फबाट, नागरिक समाजको तर्फबाट, जे प्रयास भएको छ मुख्यतः अझ स्वास्थ्यकर्मी, चिकित्सकहरूको तर्फबाट, सुरक्षाकर्मीहरूको तर्फबाट यो सबै सन्दर्भमा । यसबीचमा देखा परेका सीमाहरू, कमीकमजोरीहरूको पनि समीक्षा गर्दै सबै प्रमुख राजनीतिक दलहरूको बीचमा एउटा संरचना नै बन्नुपर्दछ भन्ने मलाई लागेको छ ।
मैले यो कुरा प्रधानमन्त्रीजीसँग र अस्ति सचिवालय बैठक बस्दा पनि सबैलाई साथमा लिएर जानुपर्छ, यो हामी सबैको साझा समस्या हो, यतिवेला राजनीतिक दलहरूको बीचमा राजनीति गर्ने ढङ्गले घोचपेच गर्नेभन्दा राष्ट्रिय, अन्तर्राष्ट्रियस्तरमा मानवजाति र समाजकै निम्ति देखा परेको यो चुनौतिको सामना गर्न अगाडि जानुपर्छ भन्ने हामीले छलफल गरेका छौं । सरकारले पनि त्यसमा सकारात्मक पहल गर्ने विश्वास पनि दिलाएको छ ।
म के भन्छु आज भने, सबै प्रमुख राजनीतिक दल, सत्तापक्ष, प्रतिपक्ष, राष्ट्रिय राजनीतिक दलहरू र महत्त्वपूर्ण व्यक्तित्व सम्मिलित संरचना नै बनाएर यसको मुकाबिला गर्नतिर जानु आवश्यक छ ।
यसले यो समस्याको सामना गर्न, जनतामा एउटा विश्वास पैदा गर्न, एकता पैदा गर्न, आत्मविश्वास पैदा गर्न त्यस खालको संरचनाले मद्दत गर्छ भन्ने मलाई लागेको छ । मैले प्रधानमन्त्रीजीलाई पनि र सरकारलाई यो दिशातिर सोच्ने, प्रतिपक्षी दललगायत सबै राजनीतिक दलका नेताहरूलाई पनि यसखालको संरचना निर्माण गरेर यस्तो वातावरण बनाउने जसले साझा समस्याको साधा समाधान, साझा रूपले गर्ने वातावरण बनोस्, म यो अपिल विशेष रूपले गर्न चाहन्छु ।