site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
तरकारी किसानका पीडा : ‘सितैमा दिंँदा पनि लगेनन्, बाध्य भएर जोत्यौं’

चितवन । लकडाउनका कारण बिक्री नभएपछि दूध पोखेको एक साता पनि नबित्दै किसानले तरकारी बारीसमेत जोत्न थालेका छन् । स्थानीय तरकारी थोक बजार बन्द भएपछि उनीहरूले कांँक्रो, गोलभेडा, मुला, धनियाँ लगाइएका बारी जोत्न थालेका हुन् । अहिले केही दिनदेखि नै भरतपुर महानगरपालिकाका केही वडामा लगाइएका तरकारीले बजार नपाएपछि बारी खाली गर्न ट्र्याक्टर लगाएर जोत्न सुरु गरेका हुन् ।

भरतपुर महानगरपालिका १६ का किसान जनक पाठक लकडाउन खुल्ला अनि बेचौंला भनेर राखिएका कांँक्राहरू बारीमै कुहिन थालेपछि जोत्न थालेको बताउंँछन् । “मैले १२ कट्ठामा कांँक्रा लगाएको थिएंँ,” उनले भने, “सित्तैमा लैजाउभन्दा पनि नलगेपछि बाध्य भएर जोतें ।’ उनका अनुसार कांँक्रोबाट मात्रै उनले यसपटक ४ लाख रुपैयाँ नोक्सान बेहोर्नुपरेको छ । अधिकांश किसानले मौसमी तरकारी लगाउन ढिला भएकाले पनि बाध्य भएर जोत्नुपरेको हो । सोही वडाका अर्का किसान रामकृष्ण अधिकारी आफूले केही दिनअघि नै १० कट्ठामा लगाएको कांँक्राखेती जोतेर नष्ट गरिएको बताउंँछन् । उनले कांँक्राको अलावा गोलभेडा खेतीसमेत गर्दै आएका छन् । “कांँक्रो पनि बिक्री नभएर जोतें,” उनले भने, “टमाटर पनि पाक्न थालिसके नबिके यो पनि जोत्ने हो ।”

Argakhachi Cement Island Ad

उनका अनुसार उक्त वडावरिपर मात्रै मात्रै सय जनाको हाराहारीमा तरकारी किसान छन् । तरकारीलाई धेरै समय बारीमै राख्न नसकिने र भण्डारण पनि गर्न नसकिएका कारण किसानले क्षति बेहोर्नुपरेको हो । स्थानीय टोल–बजारमा केही खपत भए पनि अधिकांश किसानको बाहुल्यता रहेकाले बिक्री गर्न नसकिएको उनीहरूको भनाइ छ । 

नारायणगढमा रहेको महानगर फलफूल तथा तरकारी थोक बजार पनि चैत १८ देखि स्थानीय प्रशासनको निर्देशनमा बन्द छ । जसकारण लकडाउनअघि प्रतिकेजी ४५ रुपैयांँसम्म कांँक्रो बिक्री भए पनि त्यसपछि सित्तैमा समेत कसैले नलगेको किसानहरू बताउंँछन् । 

अर्का किसान नवराज बोलके पनि अन्य किसानले तरकारी बारी जोत्न थालेपछि आफूले पनि जोत्न लागेको बताउंँछन् । “राखेर कुहाउनुभन्दा जोतेर बारी खाली गर्नु बेस,” उनले भने, “जोतेर बरु मल त हुन्छ ।” 

अर्का किसान टेकबहादुर गुरुङले आफूले २ कट्ठामा लगाएको धनियांँ जोतेर नष्ट गरिसकेको र १७ कट्टामा लगाएको कांँक्रो जोत्न तयारीमा रहेको बताए । “के गर्नु बरु मकै लगाउंँदा फाइदा हुन्छ कमसेकम भण्डारण त गर्न मिल्छ,” उनले भने । कतिपय यहांँका किसानले मुलासमेत बिक्री नभएपछि केही दिनअघि नै जोतेर अन्य खेती लगाउने तरखरमा छन् । लकडाउनका कारण ढुवानी सहज नभएका कारण र तरकारी बारीमा काम गर्ने मजदुरसमेत नभएकाले उपभोक्ताको माग र आवश्यकता भए पनि घरदैलो पुर्याउन नसक्दा ठूलो क्षति बेहोर्नुपरेको हो । 
 

प्रकाशित मिति: बिहीबार, चैत २७, २०७६  १५:५०
प्रतिक्रिया दिनुहोस्