काठमाडौं । स्वदेशी बजारको माग ६० प्रतिशतसम्म धानेको जुत्ताचप्पल उद्योग कोरोना भाइरस संक्रमणको असरले धरासायी अवस्थामा पुगेको छ । जुत्ताचप्पल उद्योगीहरूको छाता संगठन फुटवेयर उत्पादक म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपालका अनुसार अहिले देशभर १ हजार ५ सयभन्दा बढी उद्योगले जुत्ताचप्पल उत्पादन गर्दे आएका छन् ।
एसोसिएसनका अनुसार कोरोनाको संक्रमणका कारण भइरहेको लकडाउनले दैनिक ७ करोडदेखि १० करोडसम्म क्षति भइरहेको छ । यस उद्योगमा प्रत्यक्ष रुपमा ५० हजारभन्दा बढि व्यक्तिले रोजगारी पाइरहेको दाबी संघको छ । कारोना संक्रमणका कारण जुत्ताचप्पल उद्योग बन्द हुँदा ती श्रमिक समस्यामा छन् भने कम्पनीहरूलाई उनीहरूको व्यवस्थापनमा समस्या भएको छ ।
संघका अनुसार जुत्ताचप्पल उद्योगमा ५० अर्बभन्दा बढी लगानी छ । कच्चा पदार्थ आपूर्तिकर्ता, स्टकिस्ट, डिलर, रिटेललगायतको क्षेत्र समेत हेर्ने हो भने यस क्षेत्रमा थप लगानी छ । अधिकांश उद्योग बैंक तथा वित्तीय संस्थाबाट ऋण लिई सञ्चालन भएका छन् । लामो समयसम्म उद्योग बन्द हुँदा उद्योगले बैंक ब्याज तिर्न सक्ने अवस्था नरहेको संघको दाबी छ ।
संघका महासचिव नवराज गौतमका अनुसार जुत्ता चप्पललाई आवश्यक पर्ने कच्चा पदार्थमध्ये ३० प्रतिशतमात्र स्वदेशी प्रयोग हुन्छ । एउटा जुत्ता उत्पादन गर्न धेरै प्रकारका कच्चा पदार्थ चाहिने भएकाले स्वदेशी कच्चा पदार्थले एक प्रतिशत पनि जुत्ताचप्पल उत्पादन हुँदैन । धेरैजसो कच्चा पदार्थ चीन र भारतबाट आयात हुने गर्छ । गौतको दाबी छ, “चीनबाट आयात हुने कच्चा पदार्थ चिनियाँ नयाँ वर्षको लामो बिदाका कारण डिसेम्बर दोश्रो सातादेखि आयात हुन सकेको थिएन ।” त्यसपछि कोरोना भाइरसको प्रकोपले कच्चा पदार्थ आउन नसक्दा कतिपय उद्योग एक महिना अगाडिदेखि नै बन्द हुने अवस्थामा पुगेको थिए ।
संघले तत्काल महामारी नियन्त्रणमा आए पनि कच्चा पदार्थ आयात गरेर जुत्ताचप्पल उत्पादन गर्न कम्तीमा ६ महिना लाग्ने जनाएको छ । स्थिति नियन्त्रणभन्दा जटिल बन्दै गएको वर्तमान अवस्थामा यो अवधि अझै लम्बिन सक्ने देखिन्छ । संघले भनेको छ, “मानव जीवन कष्टकर बनिरहेको अवस्थामा उत्पादित वस्तुले बजार पाउन सहज छैन । बजारमा भएको लगानी उठ्न पनि सम्भव छैन ।” उत्पादन नगर्दा पनि उद्योग डुब्ने, उत्पादन गर्दा पनि उद्योग नै डुब्ने यो परिस्थितिबाट उद्योगलाई कसरी वचाउने अहिले मुख्य चुनौती बनेको संघको दाबी छ ।
यसबाहेक जनशक्तिको अभाव, कच्चा पदार्थको अभाव, उत्पादित वस्तुको बजारीकरणलगायत समस्या छ ।