काठमाडौं । जगदम्बा सिमेन्ट–स्टील (शंंकर गु्रप) का एकजना मालिक शुलभ अग्रवाल कूटनीतिज्ञको समेत खिल्ली उडाउँदै कालोबजारी गरिरहेको अवस्थामा मंगलबार काठमाडौंबाट पक्राउ परे ।
उनले तीनहजार पर्ने ‘थर्मल गन’ (ज्वरो नाप्ने मेसिन) लाई १६ हजार रुपैयाँमा बेच्दै गरेको पाइएपछि प्रहरीले पक्राउ गरेको हो । यो सूचना प्राप्त गरेपछि प्रहरीले उनको पिछा गरेको थियो । प्रहरी नै ग्राहक बनेर उनलाई पक्राउ गरेको स्रोतले जनाएको छ ।
उनले कम्तिमा पनि २० हजार वटा थर्मल गन नेपाल भित्र्याएको अनुमान छ ।
गत शनिबार चीनबाट सामान लिएर आएको नेपाल एयरलाइन्सको जहाजमा उनको सामान आएको अनुमान छ ।
“हामीले २० हजार थर्मल गन ल्याएको अनुमान गरेका छौं,” महानगरीय अपराध महाशाखाका एपसी मुकेश सिंहले भने, “एउटा गनबाट कम्तिमा पनि १० हजार रुपैयाँ बढी लिएको पाइएको छ ।”
प्रहरी स्रोतका अनुसार अग्रवालले कतिपय व्यापारिक घरानालाई त्योभन्दा पनि चर्को मूल्यमा बिक्री गरेको खुल्न आएको छ ।
कूटनीतिक नियोगकै गाडी दुरुपयोग गरेर कालोबजारी ! अग्रवाललाई पाँचवर्षसम्म जेल सजाय हुन सक्छ
मंगलबार दिउँसो प्रहरी नै ग्राहक बनेर नक्साल पुगेको थियो । किर्गिस्थानका अवैतनिक दूत समेत रहेका अग्रवालको गाडीबाट प्रहरीले ६७ थान थर्मल गन फेला पारेको थियो ।
पक्राउ परेलगत्तै अग्रवालले आफू शक्तिशाली व्यक्ति भएको भन्दै प्रहरीको गाडीमा चढ्न मानेका थिएनन् । सो क्रममा धकेलाधकेल हुँदा प्रहरी भ्यानको सीसा फुटको एसपी सिंहले जानकारी दिए । पक्राउ परेलगत्तै प्रहरीले अग्रवालको घर र कार्यालयमा पनि छापा मारेको थियो ।
“बालुवाटारमा रहेको घर र नक्सालमा रहेको शंकर ग्रुपको कार्यालयमा छाप मारिएको थियो,” एसपी सिंहले भने, “त्यहाँ केही फेला परेन । हामीले अनुसन्धान जारी राखेका छौँ ।”
अग्रवाल पक्राउ परेपछि प्रहरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “कालोबजारी गरेको अभियोगमा काठमाडौं महानगरपालिका–४ बालुवाटार बस्ने ४३ वर्षीय सुलभ अग्रवाललाई काठमाडौं महानगरपालिका–१ नक्साल बालमन्दिरबाट मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कोभिड १९ विश्वव्यापी महामारी संकटको अवस्थामा बजार मूल्य अन्दाजी ३ हजार ५ सय रुपैयाँ प्रतिगोटा पर्ने थर्मल गनलाई १५ हजार रुपैयाँ प्रति गोटामा बेच्ने शंकर ग्रुपका संचालक अग्रवाललाई निजले प्रयोग गर्ने २०९ एससीसी १ नम्बर भएको कूटनीतिक नियोगको नम्बर प्लेट राखिएको मित्सुबिसी पजेरो गाडी र उक्त गाडीको डिकीमा राखिएको थर्मल गन ६७ थानसहित महानगरीय प्रहरी अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।”