
काठमाडौं । मुलुक कुनै न कुनै अप्ठेरो परेका बेला कालोबजारी पनि त्यसैगरी मौलाउने गरेको छ । यस्ता परिस्थितिमा कालोबजारी गरेर मोटाउने प्रवृति उद्योगी व्यवसायीमा हुँदा उद्योगी व्यवसायीप्रति नै सर्वसाधारणको आक्रोश हुनु अस्वाभाविक पनि मान्न सकिन्न ।
हाल कोरोना भाइरसविरुद्ध देश र जनता लडिरहेका बेला देशकै एक प्रमुख व्यापारिक घराना कालोबजारी गरिरहेको अवस्थामा पक्राउ परेका छन् । जगदम्बा सिमेन्ट–स्टील (शंंकर गु्रप) का एकजना मालिक शुलभ अग्रवाल कूटनीतिज्ञको समेत खिल्ली उडाउँदै कालोबजारी गरिरहेको अवस्थामा पक्राउ परे ।
उनले तीनहजार पर्ने ‘थर्मल गन’ (ज्वरो नाप्ने मेसिन) लाई १६ हजार रुपैयाँमा बेच्दै गरेको पाइएपछि प्रहरीले पक्राउ गरेको हो । उनले कतिपय व्यापारिक घरानालाई त्योभन्दा पनि चर्को मूल्यमा बिक्री गरेको खुल्न आएको छ ।
महानगरीय अपराध महाशाखाको टोलीले नक्सालबाट शुलभलाई मंगलबार पक्राउ गरेको हो । उनको साथबाट ६६ थान थर्मल गन बरामद भएको प्रहरीले जनाएको छ । प्रहरी महाशाखाका एसएसपी सहकुल थापाले उक्त गनको बजार मूल्य करिब ३ हजार पर्ने र उनले गाडीमा राखेर १६ हजारमा बेच्दै गरेको पाइएपछि पक्राउ गरेको जानकारी दिए ।
थापाका अनुसार प्रहरीले बुधबार अग्रवाललाई अदालतमा उपस्थित गराउनेछ । थापाका अनुसार अग्रवालविरुद्ध कालोबजारी ऐन अनुसार मुद्दा चलाउने तयारी भइरहेको छ । अभियोग पुष्टि भएमा उनलाई पाँचवर्षसम्म कैद सजाय हुन सक्छ ।
अग्रवाल किर्गिस्थानका लागि नेपाली अवैतनिक दूतसमेत हुन् । अवैतनिक दूत भएका नाताले उनले निलो रङ्को नम्बर प्लेट भएको गाडी प्रयोग गर्छन् ।
सोही निलो रङ्को नम्बर प्लेटको गाडी प्रयोग गरेर ‘थर्मल गन’ को कालोबजारी गर्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । अग्रवालले कालोबजारीमा कूटनीतिक मर्यादाकोसमेत दुरुपयोग गरेका छन् ।
के हुन्छ कारबाही ?
उनलाई कालोबजारी ऐनअनुसार सजाय हुन्छ भने एक जना कूटनीतिज्ञसमेत भएको हुँदा विदेशी राज्य र कूटनैतिक प्रतिनिधिको सुविधा तथा उन्मुक्ति ऐन, २०२७ अनुसार पनि कारवाही हुन सक्छ ।
जसअनुसार उनको कूटनीतिक प्रतिनिधि खोसिन सक्ने सम्भावना बढी रहेको कानुनविदहरु बताउँछन् ।
यो ऐनको दफा १० को १ (ग) मा कूटनैतिक प्रतिनिधिले आफ्नो औपचारिक कार्य भन्दा बाहिर कुनै व्यवसाय वा व्यापार सम्बन्धी काम गरेकोबाट उठेको मुद्दा मामिलामा उन्मुक्ति नपाउने व्यवस्था छ ।
यस्तै सोही ऐनको दफा १७ मा नेपाली नागरिक वा नेपालको स्थायी आदिवासी भएको कूटनैतिक प्रतिनिधिलाई नेपाल सरकारले थप सुविधा तथा उन्मुक्ति प्रदान गरेकोमा बाहेक आफ्नो कार्यपालनको सिलसिलामा गरेको औपचारिक काम कारबाहीको सम्बन्धमा मात्र यस ऐन बमोजिम अधिकार क्षेत्रबाट उन्मुक्ति तथा अनतिक्रम्यता हुनेछ, भन्ने व्यवस्था छ ।
कानुनविद ओमप्रकाश अर्यालका अनुसार उनलाई कारवाहीका लागि दुवै ऐन आकर्षित हुन सक्छ । अग्रवाल कूटनीति प्रतिनिधिबाट समेत निष्काशनमा पर्न सक्ने अर्यालले बताए । कूटनीतिक प्रतिनिधिबाट नेपाल सरकार र किर्गिस्थान सरकार वा दुबैले हटाउन सक्नेछन् ।