.jpeg)
अडिनु पर्थ्यो उमेर सत्र अठारमै !
ती रोमान्चकारी दिनहरू सम्झँदा लाग्छ- जन्मदिन मात्र हैन, प्रत्येक क्षणलाई उत्सव बनाइदियौं । तर, उमेर त चिप्लिगयो सिसामा सर्प चिप्लेझैँ । खसिगयो उच्चाइबाट भकुन्डो खसेझैँ । विलाइगयो घामको रापमा तुसारो विलाएझैं ।
अहिले मलाई उमेर भुसुक्कै बिर्सन मन छ । उमेर गन्ने गणित भुलिजान मन छ ।
म जन्मेकै साल जन्मेका मित्रहरू आएर कानमा फुसफुसाउँछन्– सायन, म यति वर्षको भएँ, उति वर्षको भएँ ।
बिर्सन बिर्सन लागेको उमेर पनि सम्झाई जान्छन् । हिसाब गर्दै आउँछन् र मेरै उमेरछेउमा टक्क अडिन्छन् । कन्सिरीमा फुलेका केसहरू ढाकछोप गर्छन् र भ्रमको रंग बाँच्छन् ।
कसैगरी उमेर भुल्न दिँदैनन् ।
आफ्नो आयुको हेक्का राख्छु । घडीभित्रको प्रत्येक सेकेन्डको हेक्का राख्छु । आँखाको हेक्का राख्छु र जिन्दगीको दृश्य छाम्छु । कानको हेक्का राख्छु र जिन्दगीको गीत सुन्छु । जिब्रोको हेक्का राख्छु र जिन्दगीको मीठो स्वाद थाहा पाउँछु । छालाको हेक्का राख्छु र जिन्दगीको न्यानो स्पर्स लिन्छु । नाकको हेक्का राख्छु र छिटो–छिटो जिन्दगीको बासना लिन्छु । मृत्युलाई बडो जतनले आयुको सन्दुकमा राखेको छु । कुन बेला सन्दुक भ्वाङ पर्छ र जीवन टिपेर हिँड्छ !
भ्याउँछु कि भ्याउँदिन- किराना पसलको उधारो तिर्न । कुनै मन परेको पुस्तकमा अल्झी बसेको बुकमार्क निकाल्न । हिँड्दा हिँड्दैको उकालो छिचोल्न । झर्दा झर्दैको ओरालो खस्न । तर्दा तर्दैको खोलो सक्न । खाँदा खाँदैको गाँस निल्न । जीवन अद्भूत कलात्मक छ भनेर बुझाउन खोज्ने साथीसँग गर्दागर्दैको गफ सक्न ।
मलार्इ मृत्युसँग डर लाग्दैन, लोभ लाग्छ । म मृत्युलार्इ फारू गरेर चलाउन चाहन्छु । जोगाउन चाहन्छु । मृत्युसँग जिस्कँदै, ठट्टा गर्दै, प्रेमले सुम्सुम्याउँदै मर्न चाहन्छु ।
मृत्यु आउँदा सेतो आकासे रंगको टिसर्टमा कालो जिन्सको पाइन्ट र एडिडास ब्रान्डको जुत्ता लगाएर आओस् । आँखामा चस्मा नहोस् । कपाल पूरै कालो हैन, सुन्तले रंगले सिँगारेको होस् । हातमा मार्लिन मुनरोको तस्बिर र हर्मन हेसेको 'सिद्धार्थ' होस् । दाहिने नाडीमा राडो ब्रान्डको महँगो घडी तर काँटाहरू बिग्रेका होऊन् । जिन्स पाइन्टको खल्तीमा एप्पलको ग्याजेट होस् तर सामाजिक सञ्जालका सबै एकाउन्ट ह्याकरको कब्जामा होस् (मेरो मृत्युको खबर कतै पोस्ट गर्न नपाओस् ।)
मलार्इ बिस्तारै सुम्सुम्याओस् । दुःखहरू नसोधोस् तर अनिवार्य खुसी सोधोस् । ओठमा आएर बसोस् ।
यसपछि शान्त लयमा भनोस्, "सायन ! भन् तँ अब के गर्छस् ?"
म मृत्युको हात समातेर घरको कौसीमा जानेछु । रातो पुच्छर भएको सेतो रंगको चंगा लटाइबाट चुटाएर आकाशतिर पठाइदिनेछु । र, मृत्युलाइ भन्नेछु, "हेर् मृत्यु ! म धार्मिक नास्तिक हुँ । तर, ईश्वर मान्छु । जस्तो: अघिसम्म मेरो ईश्वर जीवन हो । म जीवनलार्इ विश्वास गर्छु । मेरा आस्था जीवन हो । अब तँ मेरो ईश्वार होस् । अब तँलार्इ मान्छु ।"
अर्थात म मृत्युलार्इ ईश्वर मान्छु ।
केटाकेटी छँदा राजाको जन्मदिनको दिन स्कुल बिदा हुन्थ्यो । स्कुल जान नपर्दाको खुसी कम्ता हुन्नथ्यो ।
यो राजा भनेके के होला ? जन्मदिन भनेको के होला ?
अलिक हुर्केपछि राजा भनेको ठूला मान्छे रहेछ भन्ने थाहा पाएँ ।
जन्मदिन भनेको के हो ? थाहा पाइनँ ।
अझै हुर्केपछि जन्मदिन भनेको पनि थाहा पाएँ तर जन्मदिन राजाको मात्रै हुन्छ होला भन्ने लाथ्यो । गाउँघरमा आफूभन्दा ठूला वा आफूसँगै हुर्कंदै गरेका मसिना-मसिना फुच्चाफुच्चीहरूले जन्मदिन मनाएको कहिलै थाहा पाइनँ ।
पछि म बसाइँ सरें । स्कुल पनि बसाइँ सर्यो ।
यहाँ पनि राजाको जन्मदिनको दिन स्कुल बिदा हुन्थ्यो । हामीजस्ता केटाकेटीले कसैको पनि जन्मदिन हुँदैनथ्यो ।
७ कक्षामा पढ्दा एकदिन एउटा साथीले जन्मदिन भन्दै निम्चुस चक्लेट बाँड्यो । म महाअचम्ममा परेँ ।
"ओइ तँ राजा होस् ? तेरो जन्मदिन कसरी भयो ? जन्मदिन त राजाको मात्रै हुन्छ ।"
साथी निम्चुस बाँड्दै हिँड्यो । मेरो प्रश्नमा अडिएन । वा उसलार्इ उत्तर आउँदैनथ्यो वा जन्मदिन राजाको मात्रै हुन्छ भनेको मन पराउँदैनथ्यो ।
जन्मदिन सबैको हुन्छ भन्ने थाहा पाउन झन्डै १६ वर्ष लाग्यो । स्कुल सकियो । कलेज पढ्न थालेँ ।
कलेज पढ्दाको पहिलो जन्मदिनको दिन साथीहरूलाइ चक्लेट बाँडेँ । साथीहरूले शुभकामना दिए । मन कति हो कति खुसी भयो । साथीहरूको शुभकामनाले कहिलै मर्दिनँ होला जस्तो लाग्यो ।
म कसरी जन्मे हुँला ? किन जन्मे हुँला ?
म मान्छे नभएर कुकुर भएको भए ? सुँगुर भएको भए ? गोरू भएको भए ? भैँसी भएको भए ? बाघ, हात्ती, मुसा, बिरालो, खरायो, झिँगा, माकुरा, भित्ती, सर्प, हैट् के हो के सम्झेँ !
धन्न मान्छे भएछु । मान्छे भएकोमा मेरो बुद्धि छ जस्तो लाग्यो । बुद्धि भएकैले मेरो जन्मदिन भएको होला ।
ती मुसा, ती बाघ, ती खरायो, ती भैंसी, ती झिँगा भएको भए म कहिलै जन्मदिन मनाउन पाउँदिनथें हुँला । धन्न मान्छे भएछु ।
साथीहरूलार्इ चक्लेट बाँडेपछि विराटनगर बजार फन्को मारेँ । आफैंसँग बात मार्दै एक फन्को काटेर डेरा पुगेँ ।
ऐना हेरेँ । आफूलार्इ सुम्सुम्याएँ । अफ्नो अनुहार यति सुन्दर लाग्यो कि त्योभन्दा सुन्दर चिज मानौं संसारमै छैन ।
ओठमाथि पलाउँदै गरेको कलिलो जुंगाको रेखी थियो । गालामा पहिलो पल्ट पलाएको मसिना दाह्री थिए । एकदुर्इ पल्ट सुम्सुम्याएँ । दाह्री जुंगाले नराम्रो देखिएँ जस्तो लाग्यो । विचरा ! निर्दोष कलिला दाह्री जुँगालार्इ पहिलो पल्ट निर्मम शैलीमा काटिदिएँ ।
एकछिनपछि ऐना हेर्दा थाहा पाएँ- अब म संसारकै सबैभन्दा झुर मान्छे भएँ । कुरूप मान्छे । नराम्रो मान्छे । ऐनाभित्रको आफ्नै अनुहार कुनै ग्रहको एलिट जस्तो लाग्यो ।
ऐना भ्रम हो कि सत्य ! पहिलोपल्ट जन्मदिनको दिन एकैपल्ट राम्रो र नराम्रो भएँ । आफैंले देखेँ ।
यसरी लगातार दुर्इ जन्मदिनसम्म चक्लेट बाँडेपछि थाहा पाएँ, मेरो असली जन्मदिन हैन रहेछ । म सर्टिोिकेटको, नागरिकताको जन्मदिन मनाउँदो रहेछु ।
त्यसपछि जन्मदिनमा चक्लेट बाँड्ने मोह हरायो । चक्लेट बाँड्ने मोह हटेपछि असली जन्मदिन सम्झन्छु भन्दाभन्दै भुसुक्कै बिर्सिदो रहेछु ।
दसैंआसपास जन्मदिन पर्ने हुनाले बिर्सने कारण यो दसैं पनि हो ।
चौबीस वर्षपछिका जन्मदिन आफूले सम्झनु परेन । सामाजिक सञ्जालले सम्झाउँछ । आफूले मनाउनु पर्दैन, साथीभाइले मायाले, प्रेमले मनाइदिन्छन् । जन्मदिनको जिम्मेवारीबाट मुक्त भएको छु ।
जिन्दगी यतिका वर्षसम्म मैसँग बाँची आयो । मेरो दुःखसुखमा साथ दियो । उकाली ओराली गर्यो । मैसँग भोकै बस्यो । मैसँग खायो । म हाँस्दा हाँस्यो । म रूँदा रूयो । म नाच्दा नाच्यो । म बस्दा बस्यो । म खोलो तर्न नसकेर किनारामा बसेको बेला जिन्दगीले हिम्मत गरेर हामफाल्यो र मलार्इ तारेर यहाँसम्म ल्याइपुर्यायो ।
कहिलेकाहीँ जिन्दगीलार्इ साह्रै दुःख दिएँ हुँला भन्ठानेर प्रेमले फकाएर मबाट छुटाउन चाहन्छु तर मसँग कसैगरी छुट्टी जान मान्दैन ।
जिन्दगी तँ नभइदिएको भए म कहाँ हुन्थेँ ! तँ छस् र पो म छु । तँलार्इ जन्मदिनको कति हो कति शुभकामना !
हुर्रे जिन्दगी !!
र, अन्त्यमा–
जन्मजति मृत्यु रोमाञ्चकारी छैन । जन्मको तुलनामा मृत्यु रहस्यमय हैन । सम्भोग, स्खलन, डिम्ब, शुक्रकीट, भ्रूण, शिशु हुँदै जन्मसम्म आइपुग्दा जीवनको मात्र हैन, प्रेमको पनि उत्पत्ति हुन्छ । तर, मृत्यु अफूमात्र मर्छ । प्रेम र सम्झनालार्इ सँगै लाँदैन । त्यसकारण मृत्यु एकलकाटे छ । निष्ठुरी छ । असामाजिक छ । अभद्र छ ।
मृत्युपछि के हुन्छ ? यो रहस्य हैन । जन्मपछि हुने प्रत्येक घटनाक्रम रहस्यमय र रोमाञ्चकारी छन् ।
जय जन्म !
ट्विटर – @rashayans