चितवन । लामो समयमसम्म देशभर लकडाउन भइरहेका बेला यसको ठूलो असर तरकारी खेतीमा परेको छ । यो समय स्थानीय उत्पादनको उपयुक्त समय भए पनि बजारसम्म तरकारी नपुग्दा किसान मारमा परेका छन् ।
जसका कारण तरकारी बारीमा कुहिने अबस्था रहेको किसानहरू बताउंँछन् । तरकारीको माग राम्रै भए पनि बजार हुँदै उपभोक्तामाझ पुग्न नसक्दा यो अवस्था आएको हो । स्थानीय प्रशासनले तरकारी ढुवानी र वितरणमा कडाइ गर्दा आफ्नो तरकारी खेर गएको किसानको गुनासो छ ।
भरतपुर महानगरपालिका २६ का खत्रौलीका किसान दीपक तिमिल्सिना आफ्नो बारीमा भएको तरकारी बिक्री नहुंँदा चिन्ता थपिएको बताउंँछन् । “स्थानीय बजारमा कम खपत हुन्छ, बजार लैजान पाएको छैन,” उनले भने । तिमिल्सिनाले ११ बिघामा तरकारी लगाउंँदै आएका छन् । अहिले उनको बारीमा गोलभेडा, बोडी, घिउ सिमी बिक्रीका लागि तयारी अवस्थामा छन् । लकडाउनअघि तरकारीको सहज आपूर्ति भए पनि अहिले तरकारी बिक्री ठप्पजस्तै भएको उनले बताए ।
तरकारी खेतीका लागि पकड क्षेत्र मानिएको पश्चिम चितवनमा ढुवानी सहज नहुंँदा र उपभोक्ताको घरमा सहजै पुग्न नसक्दा किसानको उत्पादन खेर गएको हो ।
भरतपुर महानगरपालिका २५ का अर्का किसान अनुप सुवेदीले १५ बिघामा तरकारी लगाएका छन् । तर बजारसम्म पुर्याउन नपाउंँदा समस्या भएको उनी बताउंँछन् । “गाउंँघरका पसलेले केही मात्रामा त लान्छन्,” उनले भने, “तर मेरो उत्पादन बढी छ । खपत न्यून छ ।” उनका अनुसार बेलाबेलामा तरकारी खेतीमा मूल्यको समस्या आए पनि बिक्री नै नहुने समस्या भने पहिलोपटक आएको हो ।
स्थानीय उत्पादनका लागि ढुवानी सहज नभए पनि दैनिक दर्जनौं ट्रक तरकारी भारतबाट आइरहेका छन् । स्थानीय उत्पादनले बजार नपाउँदा सरकारले भारतीय तरकारी गाडीलाई रोक लगाउनुपर्ने तर्क राख्छन् खैरहनी नगरपालिका ३ का किसान नारायण खड्का । “सबैभन्दा बढी समस्या भारतीय तरकारीले गरेको छ,” उनले भने, “तत्काल यसमा सरकारले रोक लगाउनुपर्छ ।” यो समय नेपालकै उत्पादनले पुग्ने भएकाले भारतीय तरकारी आवश्यक नरहने उनको भनाइ छ । यसका लागि स्थानीय प्रशासन र स्थानीयतहले सहज रूपमा उपभोक्ताको घर–घरमा तरकारी पुर्याउने वातावरण सिर्जना गर्नुपर्ने उनले बताए ।
महानगर तरकारी तथा फलफूल बजार नारायणगढका निर्देशक थीरप्रसाद धिताल तरकारीको माग उच्च भए पनि बजारै बन्द हुंँदा किसानले थप घाटा बेहोर्नुपरेको बताउंँछन् । “चैत १८ गतेसम्म त तरकारी बजार खुलाएका थियौं,” उनले भने, “भीड बढी भएका कारण पूर्ण रूपमा प्रशाशनले बन्द गरिदियो ।” तरकारी आपूर्ति र वितरण उच्च सावधानीका साथ सुचारु गर्नुपर्ने धितालले बताए । यहांँको तरकारी तथा फलफूल बजारबाट काठमाडौं, बुटवल, पोखरा, तनहुँलगायत जिल्लामा आपूर्ति हुने गरेको छ । यहांँ स्थानीय तरकारी दैनिक ७५ टन, बाह्य जिल्लाबाट ५० टन र भारतबाट ७५ टन बराबरको आपूर्ति हुने गरेको धितालको भनाइ छ ।
आपूर्ति कम, मूल्य बढी
बारीमा तरकारी खेर गएर बिक्री नभएको अवस्थामा उपभोक्ता भने दोब्बर मूल्य तिरेर किन्न बाध्य छन् । सडकका चोक, गल्लीमा रहेका पसलहरूले खरिद गरेकोभन्दा दोब्बर मूल्यमा तरकारी बिक्री गर्दै आइरहेका छन् ।
किसानको बारीबाट झन्डै आधा मूल्यमा तरकारी ल्याएर उनीहरूले दोब्बरमा बेच्ने गरेको पाइएको हो । “टमाटर प्रतिकेजी ६०, बोडी प्रतिकेजी २० मा बेचेका छौं,” किसान अनुप सुवेदीले भने, “पसलेले कतिमा बेच्छन् हामीलाई थाहा भएन ।” तर खुद्रा पसलमा भने टमाटर १ सय १० रुपैयाँ, बोडी प्रतिकेजी ६० रुपैयाँसम्म बेच्ने गरेका छन् । भरतपुर महानगरपालिका १२ की वागमती श्रेष्ठ किसानको बारीमा तरकारी खेर गए पनि आफूले भने चर्को मूल्यमा तरकारी खरिद गर्नुपरेको बताउंँछिन् । “लकडाउनअघि औसत रूपमा सबै तरकारी ५० देखि ७० रुपैयांँ पाइए पनि अहिले जुनसुकै तरकारी प्रतिकेजी १०० रुपैयांँभन्दा बढीमा किन्नु परेको छ,” उनले सुनाइन् । तर खुद्रा पसलले आफूले पनि अन्य व्यापारीसंँग खरिद गरेकाले स्वभाविक रूपमा मूल्य बढी हुने तर्क राख्छन् ।