
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) गर्न तयार भइरहेका जलविद्युत् आयोजना सञ्चालकहरूसँग निर्माण र वातावरणीय अवस्थाबारे विस्तृत विवरण चार दिनभित्र पेस गर्न निर्देशन दिएको छ ।
सञ्चालक समितिको ९९४औँ बैठकको निर्णयअनुसार, कनेक्सन एग्रिमेन्ट सम्पन्न गरिसकेका आयोजनामध्ये प्राथमिकताका आधारमा पीपीए गर्नुपर्ने भएकाले आवश्यक अध्ययन तथा विश्लेषणका लागि उप–कार्यकारी निर्देशकको संयोजकत्वमा समिति गठन गरिएको प्राधिकरणले जनाएको छ ।
आयोजना राष्ट्रिय निकुञ्ज, आरक्ष वा संरक्षित क्षेत्रमा पर्छ वा पर्दैन । संक्षिप्त प्रगति विवरणसहित आयोजना तयारीको अवस्था, जेनरेशन लाइसेन्स, वित्तीय व्यवस्थापनको अवस्था, निर्माण स्थलको तयारी, वातावरणीय अध्ययनको स्थिति आदिको जानकारी समावेश गर्न भनिएको छ ।
सूचनाअनुसार, समितिले छिटोभन्दा छिटो प्रतिवेदन बुझाउनुपर्ने भएकाले सम्बन्धित ५० भन्दा बढी आयोजनालाई पत्राचार गर्दै निर्धारण गरिएको म्यादभित्र विवरण पठाउन आग्रह गरिएको छ ।
सरकारले बजेटमा ‘टेक एन्ड पे’ राखेपछि निजी क्षेत्र त्यसको विरोधमा लागेको छ । प्राधिकरणले भने पीपीएका लागि विवरण माग गरेको हो ।