चितवन । लकडाउन लम्बिएसंँगै देशका हरेक क्षेत्रमा यसले थप असर र क्षति पुर्याउंँदै गएको छ । देशको आर्थिक गतिविधि प्रायः ठप्प छ । भएका उत्पादनहरू पनि उपभोक्ता, क्रेतासमक्ष नपुग्दा खेर जाने अवस्था त छँदै छ । उत्पादनमा समेत भारी गिरावट आएको छ । यसको प्रत्यक्ष असर कृषि तथा पशुपालक किसानमा परेको छ ।
चितवनका केरा किसान, दुग्ध उत्पादक, मौरीपालक, तरकारी उत्पादक, माछापालक, पोल्ट्री किसानहरूलाई लकडाउनले झनै पिरोल्न थालेको छ । जसका कारण चितवनका कतिपय किसानले दूध खेर फाल्नुपरेको अवस्था छ । कतिपय किसानले लगाएका तरकारी सित्तैमा बाँड्न थालेका छन् । उपभोक्ताको माग भए पनि उनीहरूसमक्ष पुर्याउन नसक्दा यस्तो अवस्था आएको हो ।
किसानका बारीमा केरा पहेंलै हुन थालेका छन् । पोल्ट्री क्षेत्रका किसानले दानाको अभाव झेलिरहेका छन् । त्योभन्दा बढी क्षति त उत्पादन भएर पनि बिक्री नहुनु झन् दुखद बनेको छ । एकातिर उत्पादित वस्तु खेर जानु अर्कोतर्फ उपभोक्तासामु पुग्न नसक्नु । यस्तै पीडा माछापालक किसानको छ । पोखरीमा पानीको मात्रा, अक्सिजनको मात्रा र प्रशस्त दाना र पोषण नपाउंँदा माछा उत्पादनमा पनि गिरावट आउने किसानहरूको अनुमान छ ।
रत्न नगरनगरपालिका ९ का भरत महतो आफ्नो ५० बिघामा पालन गरेको माछाको अवस्था हरेर टोलाउँछन् । माछाका लागि दाना नहुंँदा समस्या भएको उनी बताउँछन् । “मैले एउटा पोखरीमा दैनिक ५० केजी भुरा हाल्थें, अहिले १० केजी दाना हालेर बचाएको छु,” उनले सुनाए । लकडाउनअघि माछाको बिक्री राम्रै भए पनि अहिले ठप्प रहेको उनले बताए । “एकातिर तयारी माछा बिक्री हुँदैन अर्कोतिर दाना पाइएको छैन,” उनको दुखेसो छ, “कोरानाबाट हामी त बाँचौंला, माछा मर्ने भए ।”
माछाका आहारा पोषण, औषधि सबै भारतबाट आउने भएका कारण अधिकांश किसानको केही दिनलाई पुग्ने दाना, आहारा पनि छैन । नेपाल मत्स्य व्यवसायी संघ, चितवनका खगेन्द्र सुवेदी आफू घरबाट बाहिर निस्कन नपाउंँदा पोखरीमा माछाको अवस्था के छ भन्ने पनि थाहा नपाएको बताउँछन् । “एक साताअघि दाना छाडेर त आएको हो, हेरालुले के गरेको छ पत्तो छैन,” उनले सुनाए । उनका अनुसार यो सिजन माछाका लागि वृद्धिदर उकासिने समय हो भने, तयारी माछा निकाल्ने समय पनि । अधिकांश माछा निकाल्ने मजदुरहरू घर गइसकेकाले निकाल्न पनि नपाएको उनको भनाइ छ । प्रशासनले किसानलाई फार्म, खेतमा जानसमेत पास सहज नगर्दा र ढुवानीमा समेत अवरोध गर्दा यस्तो समस्या भएको किसानको गुनासो छ ।
संघका केन्द्रीय अध्यक्ष अम्बिकाप्रसाद अधिकारी सरकारले कृषक र व्यवसायीको लागि विकल्प नसोची एक्कासि लकडाउन गर्दा स्थिति भयावह हुने तर्क राख्छन् । “माछा केही दिनका लागि दाना नभई पनि बाँच्न सक्छ,” उनले भने, “तर उत्पादनमा भने भारी गिरावट आइसक्यो । देशभर ६० प्रतिशत हिस्सा नेपाली माछाकै उत्पादनको थियो उनले भने, २५ प्रतिशत गिरावट आइसक्यो ।” गर्मीयाममा पानी, अक्सिजन र दानाको मात्रा नमिल्याउंँदा भुराहरू उत्पादन र माछाको तौलमा समेत असर पुग्ने उनको भनाइ छ ।
संघको तथ्यांकअनुसार देशभर देशभर १४ हजार व्यावसायिक माछापालक किसान छन् भने चितवनमा मात्रै १७ सयको हाराहारीमा छन् ।