काठमाडौं । मुलुक कोरोना सन्त्रासका कारण लकडाउनमा छ । दिनानुदिन लकडाउन कसिलो बन्दै छ । सुरुसुरुमा व्यापक उलङ्घनका घटना भए पनि अहिले सबैले लकडाउनलाई दैनिकी बनाइसकेको प्रतीत हुन्छ । चीनको वुहानबाट फैलिएको कोरोनाको कहर विश्वव्यापी बन्दा सबैभन्दा प्रताडित युरोप बनेको छ । अणु, परमाणु बमबाट सुसज्जित विश्व मानवजाति विषाक्त जिवाणुबाट त्राहिमाम् छ । हायलकायल हुँदै आफ्नै घरभित्र बन्दी जीवन बिताइरहेको छ ।
कोरोना भाइरसविरूद्ध सिङ्गो मानव समूमदाय एकढिक्का छ । आ–आफ्नो भूगोल बिर्सिएर परोपकार, परसहयोगमा जुटेका छन् । देशको सीमा, क्षेत्रीयता, जातीयताको परिधि नाघेर परस्परमा सहयोग, सद्भाव र सदासयताको हात फिँजाइरहेका छन् ।
कोरोना त्रासदीले हामीलाई पनि गाँजेको छ । सत्तापक्ष, प्रतिपक्ष नभनी सिंगो देश एकगट्ठा भएर कोरानाको विश्वव्यापी डढेलो निभाउन जुट्नुपर्नेमा, राष्ट्रिय एकताको हात बढाउनुपर्नेमा नेकपाका नेता–कार्यकर्ता आफैं कल–झगडामा फसेका छन् । कोरोनाको कहर साम्य पार्नु त कता हो कता ! ‘आङ कन्याएर छारो उडाउने’ प्रचलित आहानको पात्र बनेका छन् । एकले अर्काको अनुहारमा मोसो पोत्न तँछाड्मछाड् गरिरहेछन् ।
चिकित्सा सामग्री खरिदमा भ्रष्टाचार, अनियमितता भएको घाम जत्तिकै छर्लङ्ग भइसक्यो । स्वास्थ्य सेवा विभागले नै भ्रष्टाचारको तथ्य स्वीकार गरेर खरिद प्रक्रिया रद्द गरिसकेको छ । विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले ठगेर खान खोजेकाले सम्झौता खारेज गर्नुपरेको बताइसकेका छन् । ओम्नी बिजनेस कर्पोरेसन इन्टरनेसनलमात्रै दोषी हो कि, माथिसम्मै मिलेमतो छ, पर्दा उघ्रँदै जाला ।
यसर्थ नेकपा अरिङ्गाल अथवा, कर्मी मौरीतुल्य नेताकार्यकर्ताको गालीगलौजको चपरीले मात्रै यो ढाकिनेवाला छैन । सम्झौता, खरिद प्रक्रियामा संलग्नहरूले पैसा नै खाएनन् होला । उनीहरूको नियत खोटो पनि थिएन होला । तर, ऐन–कानुन, विधि, पद्धति, प्रक्रिया, प्रणाली, नाघेर काम गर्नु पनि भ्रष्टाचार हो ।
‘यस्तो होला भन्ने थाहै थिएन’, ‘चारैतिर सामग्रीको हाहाकार भएका बेला नल्याइ नहुनी थियो’, ‘गर्न त राम्रै खोज्या हो तर ढङ्ग पुगेनछ’, ‘भ्रष्टाचार गरेको प्रमाणित भए झुन्डिन तयार छु’ भन्नेजस्ता रुन्चे तर्कले मात्र यसको ढाकछोप हुनेवाला छैन । प्रकरण अलिकदिन सामसुम भए पनि कोरोना कहरको तुवाँलो फाटेपछि सतहमा आउनेवाला नै छ ।
एकपछि अर्को प्रकरणको पटाक्षेप हुँदै जाँदा नेकपाभित्र भ्रष्टाचार संस्थागत हुने क्रममा छ । बन्सोझैं मौलाउँदो र झाँगिदो क्रममा पनि छ । यसलाई बेलैमा उखेलेर फ्याँक्न नसके सिंगो पार्टीलाई यसले गाँज्ने छ । नेकपाका नेता–कार्यकर्ता हुँ भन्नेहरूले एकएक गरी मूल्य भुक्तान गर्दै जानुपर्ने छ । प्रकारान्तरले नेकपालाई उठ्नै नसक्नेगरी थला बसाल्ने अस्त्र पनि भ्रष्टाचार, अनियमितता र घूसखोरी, कमिसनतन्त्र नै बन्ने छ । अतः यस्तो अक्षम्य अपराधमा नेताको मुख हेरेर हुँदैन । हेर्न थालियो भने पार्टी र समग्र आन्दोलनलाई भ्रष्टीकरणको दिशामा लैजान्छ ।
उसो त अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विश्व कम्युनिस्ट आन्दोलनमा पनि सत्तामा आएपछि भ्रष्टाचारमा निर्लिप्त भएको प्रतिक्रियावादीको एक गोली नखाइ खण्डहर भन्न पुगेको दृष्टान्त मञ्चैपिच्छे पस्कँदै आएका छन् । पार्टीभित्र धमिराको रूप धारण गरेका भ्रष्टाचारीहरूमाथि निर्मम बन्नुपर्ने बेला नेकपाका नेता कार्यकर्ता यतिबेला एकले अर्कालाई दोषी करार गर्ने र आफू, आफूनिकटका नेता कुशझैं पवित्र देखाउन होडमा छन् ।
प्रोक्सी वारको थालनी कृष्णबहादुर महरा प्रकरणबाट भएको हो । महरा सभामुखमात्र थिएनन्, प्रचण्डको अति नै निकटका विश्वासपात्र पनि थिए । प्रचण्डको उत्तराधिकारीकै रूपमा हेरिएको पनि हो । पद र नैतिकताको सीमाभित्र बाँधिन नसक्दा र बँधुवा गाईझैं फुक्दाको फल उनले चाखिसकेका छन् । भलै उनलाई अदालतले सुनपानी छर्किएको होस् । चोखिएका हुन् ।
तर, पूर्वमाओवादी केन्द्रले यो प्रकरणलाई प्रचण्डविरूद्धकै षड्यन्त्रका रूपमा बुझ्यो । अमेरिकी सहायता अनुदान प्रस्ताव, मिलेनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी) अघि नबढाउँदा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिफल साँधेको आरोप लगाइरहेको छ, अद्यापि ।
प्रचण्डको विश्वासपात्र ढलेको खुसीयालीमा रमाइरहेका पूर्वएमालेका संस्थापन समूहलाई त्यतिवेला झल्याँस्स भए, ओलीका अति निकटपात्र गोकुल बाँस्कोटा ७० करोड कमिसनको मोलमोलाइमा फसे । सेक्यिुरिटी प्रिन्टिङ प्रेस खरिद गर्न कमिसनको डिल गरेको अडियो नै आएपछि बोल्ने ठाउँ रहेन । क्याबिनेट सदस्यबाट बहिर्गमित हुनुपर्यो ।
त्यतिबेला प्रचण्ड प्रधानमन्त्री भएकाबेला विज्ञ नियुक्त भएका विजयप्रकाश मिश्रले नै उनलाई नियोजित रूपमा फसाएको र त्यसमा पूर्वमाओवादी केन्द्र समूहका नेताहरूका हात रहेको पूर्वएमाले, संस्थापन पक्षले आरोप लगाउँदै आएको छ ।
चिकित्सा सामग्री खरिदमा प्रक्रिया मिचेर आफू निकटको कम्पनीलाई अनुमति दिएको भन्दै स्वास्थ्यमन्त्री भानुभक्त ढकालको नियतमाथि शङ्का उत्पन्न भयो । माघमा आह्वान भएको टेण्डर चैतमा रद्द गरेर ओम्नी समूहसँग रातारात सम्झौता गरिएपछि सामाजिक सञ्जालमा संशय उत्पन्न हुनु स्वाभाविकै थियो । भलै उनी नमुछिएका हुन् । उनको नियत असल नै होला ।
तर, पूर्वएमालेका, विशेषतः संस्थापन पक्षले यसलाई ओलीमाथिकै प्रहारका रूपमा बुझे ।
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले मार्टिन निमोलरको कविताको सहारा लिँदै हिजो देशलाई विकृति र बेथितिको दलदलमा पुर्याउनेहरूले छानीछानी हमला गर्न थालेको टिप्पणी गरे । “तिनले भ्रष्टाचारको कथा आफैं लेख्छन्, आरोप आफैँले लगाउछन्, भ्रष्टाचारी आफैँले करार गर्छन् र रिस उठ्नासाथ त्यस्तो पगरी लगाइदिन्छन् ।”
उनले बाँस्कोटा प्रकरणमा पनि डीप फेककै सहारा लिइएको दाबी गरेका छन् । “गोकुल बाँस्कोटा अर्काथरि दुष्टहरूले सत्यजस्तै लाग्ने झूट (डीप फेक)को प्रपञ्च रचे र निशाना बनाइनुभयो,” उनले सामाजिक सञ्जालमा आक्रोश पोखेका छन् । चिकित्सा सामग्री खरिद प्रक्रियामा ढकालको भूमिकाका बारेमा प्रश्न उठिराखेका बेला नेकपाका केन्द्रीय सदस्य तथा विदेश मामिला विभागका उपप्रमुख विष्णु रिजाल पनि बचाउमा उत्रिए ।
“काम गर्न पाएकै छैन, लखेट्न कति हतार हो ? सबैलाई थाहा छ, स्वास्थ्यमन्त्री, स्वास्थ्यको विज्ञ होइन र सबै कुरा थाहा नहुनु अन्यथा होइन । रात–दिन खट्नुभएको छ, राज्यका सीमा, स्रोत र साधनले भ्याएसम्म नागरिकलाई बचाउन हरसम्भव कोसिस गरिरहनुभएको छ,” रिजालले सामाजिक सञ्जालमार्फत् ढकालको सक्दो बचाउ गरे ।
काम गर्न पाएकै छैन, लखेट्न कति हतार हो ?
— Bishnu Rijal (@bishnurijal1) March 27, 2020
सबैलाई थाहा छ, स्वास्थ्यमन्त्री @dhbhanu स्वास्थ्यको विज्ञ होइन र सबै कुरा थाहा नहुनु अन्यथा होइन । रात-दिन खट्नुभएको छ, राज्यका सीमा, स्रोत र साधनले भ्याएसम्म नागरिकलाई बचाउन हरसम्भव कोसिस गरिरहनुभएको छ ।
विश्वव्यापी कोरोना कहर बढेसँगै पूर्वएमाले र पूर्वमाओवादी केन्द्रबीच फर्जी झगडा सुरु भइसकेको थियो । प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपण गरेर स्वास्थ्य लाभ लिइरहेका थिए । तर पूर्वमाओवादी केन्द्रका नेताहरूले आफू निकटका अनलाइनमा कोरोना नियन्त्रण र रोकथाम गर्न सरकारले कुनै पहल नगरेको समाचार लेखाएको ओली पक्षको आरोप छ ।
“कोरोना नियन्त्रण गर्न कुनै काम नभएको, प्रदेशमा ल्याब (कोरोना परीक्षण केन्द्र)समेत स्थापना नगरिएको भन्दै तिनले लेखेका थिए, अहिले विभागीय मन्त्रीहरूले काममा तदारूकता देखाउन थालेपछि उनीहरूका ‘प्रभु’ गुप्तबास बसेका छन्,” ओली निकट एक नेताले बाह्रखरीसँगको अनौपचारिक संवादमा भनेका थिए ।
अहिले पूर्वएमाले संस्थापन समूहले पार्टी अध्यक्ष प्रचण्डसँग व्यापारिक समूह, घरानाको नाम जोडेर प्रश्नको सिलसिला तयार पारेको छ । काम नगर्ने ठेकेदार शारदाप्रसाद अधिकारीदेखि सेक्युरिटी प्रेस खरिदमा कमिसनको प्रस्ताव गर्ने विजय मिश्रसम्मको निकटता प्रश्नको कोटीमा परेका छन् ।
पूर्वमाओवादी केन्द्र समूहका रामप्रसाद सापकोटा ‘दीपशिखा’ले यसको कटु जवाफ फर्काएका छन् । “जसको काँधमा चढेर चचहुई गरिराखेका छौं नि, उसले काँध छाडेको दिन तिमी सिसा फुटेझैँ झर्याम्म हुने हौ । जहाँसम्म काँधमा बोक्नेको कुरा छ, तिमीसँगको सम्बन्धले उसको जेनतेन एकहाप इन्च उचाई बढेको हो, तिमी धुरी चढेका हौ । अपच हुनेगरी घिचेर हाम्रा मुखमा बान्ता नगर भन्दा किन टाउको दुखेको ?” पार्टीको युवा संगठनका संयोजकसमेत रहेका दीपशिखाले कटु टिप्पणी गरेका छन् ।
कहाॅ गडबड भयो, कसले गडबड गर्यो ? मानिसहरूले गरेका प्रश्नहरूमा प्रतिबन्ध नलगाउ, जवाफ दिनुपर्छ भन्दा`तलाई पख, सरकारको बिरोध गर्छस्’धम्क्याए !
— Ram Prasad Sapkota `Deepshikha’ (@deepshikha_im) April 1, 2020
आखिर सरकारले सम्झौता रद्द गरेछ, सामाग्री पनि डुब्लिकेट आएछ !
मन्त्रि, सरकार दोषी हुन र नहुन पनि सक्छन् ! जवाफ दिनुपर्छ र छानविन हुनुपर्छ !
उनी यतिमै रोकिएका छैनन् । ओम्नी समूहसँगको सम्झौता रद्दपछि पनि उनले उस्तै प्रतिक्रिया दिएका छन्, “कहाँकहाँ गडबड भयो, कसले गडबड गर्यो ? मानिसहरूले गरेका प्रश्नहरूमा प्रतिबन्ध नलगाऊ जवाफ दिनुपर्छ भन्दा ‘तँलाई पख, सरकारको विरोध गर्छन्’, धम्क्याए ! आखिर सरकारले सम्झौता रद्द गरेछ, सामाग्री पनि डुब्लिकेट आएछ ! मन्त्री, सरकार दोषी हुन र नहुन पनि सक्छन् ! जवाफ दिनुपर्छ र छानबिन हुनुपर्छ !,” उनले माग गरेका छन् ।
चिकित्सा सामग्री खरिद् प्रकरणले पूर्वएमाले र माओवादी केन्द्रबीच कित्ताकाट गराएको छ नै, पूर्वएमाले समूह पनि विभाजित देखिन्छ । विभागले खरिद् सम्झौता रद्द गरेपछि केन्द्रीय सदस्य रामकुमारी झाँक्रीको ट्विट त्यसैको सङ्केत हो ।
“हिजोसम्म कन्दनी सुर्क्याउँदै सबै ठिक छ, राम्रो छ, तलमाथि भएको छैन, टेबुलमा बसेर कुरा गर्न तयार छु भन्ने उहाँ के भन्नुहुन्छ त अब ?,” उनले ट्विट गरेकी छिन् ।
हिजो सम्म कन्दनी सुर्काउँदै सबै ठिक छ, राम्रो छ, तलमाथि भएको छैन, टेबलमा बसेर कुरा गर्न तयार छु भन्ने उहाँ के भन्नुहुन्छ त अब? #ओम्नी
— Ram kumari Jhakri (@Jhakri_didi) April 1, 2020
चिकित्सा सामग्री खरिद्मा अनियमितता भएको खबर बाहिरिएपछि प्रचण्ड बुधबार अपराह्न बालुवाटार गएका थिए । ओलीसँगको भेटमा उनले खरिद् प्रक्रियाबारे चासो राखेका थिए ।
प्रधानमन्त्री निकट एक नेताले भने प्रचण्ड लोकाचारका लागि बालुवाटार गएको टिप्पणी गरे ।
“बिहानै डीजीले सम्झौता रद्द गरिसक्नुभएको छ, प्रचण्ड बेलुका गएर चासो राख्दैमा के हुन्छ ? त्यो सामान्य लोकाचारमात्रै हो,” प्रधानमन्त्री निकट नेताले बाह्रखरीसँगको कुराकानीमा भने ।
सामाजिक सञ्जालमार्फत् छेडखानी बढ्न थालेपछि प्रचण्डले पहिलोपल्ट (गत भदौ ९) गते बसेको केन्द्रीय कमिटीको बैठकले यसमा रोक लगाउने निर्णय गरेको थियो । सदस्यले नेताका बारेमा केही कुरा व्यक्तिगतरूपमा उठानु परेमा त्यसलाई पहिला पार्टीभित्र राख्नुपर्ने सीमा राखिएको थियो । उलङ्घन गरे अनुशासनको कारबाही गर्ने चेतावनी दिइएको थियो ।
स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकमा पनि अध्यक्ष प्रचण्डले पार्टीमा ‘अराजकता बढेको’ निष्कर्ष प्रस्तुत गरेका थिए ।
कोरोना कहर रोक्न अलग्गै संयन्त्र बनाएर परिचालन गर्दा पनि पार्टीभित्रैबाट आलोचना नथामिएपछि केही दिनअघि ओली–प्रचण्डले विशेष सर्कुलर पठाएका थिए ।
“सरकारले नेपालमा कोरोना भाईरसको संक्रमण फैलिन नदिन उच्च सतर्कताका साथ महत्त्वपूर्ण कदम चालेको यथार्थ सबैमा विदितै छ । सरकारले अपनाएको सतर्कता र प्रयासको कारणले नै अहिलेसम्म नेपालमा कोरोना भाइरसले महामारीको रुप लिइहाल्नसकेको छैन । सरकारका यी कमदहरुलाई स्वागत, समर्थन गर्नु र साथ दिनु हरेक नेपालीको जिम्मेवारी हो,” ओली प्रचण्डले सर्कुलरमार्फत् सन्देश पठाएका थिए, “कोरोना भाइरसद्वारा सिर्जित विश्व्यापी संकट र राष्ट्रका सम्मुख बढ्दो खतराको घडीमा आपसी एकतालाई बलियो बनाउँदै यसलाई सामना गर्न सहयोगी हात जुटाउनुपर्नेमा सङ्कीर्ण स्वार्थमा अल्झिएर भ्रम फिजाउने वा सीमित साधन स्रोतका बाबजुद सरकारले गरेका प्रभावकारी कामहरूलाई समेत आलोचना गर्नेजस्ता नकारात्मक प्रवृत्तिहरू कतैबाट पनि प्रकट हुनु वाञ्छनीय हुँदैन ।”
तर, नेकपाभित्र पूर्वघटकहरूको ‘प्रोक्सी वार’को सिलसिला रोकिएको छैन । कुन बिन्दुमा पुगेर थामिने हो टुङ्गो पनि छैन ।
पूर्वएमालेका केही नेता–कार्यकर्ता भने सामाजिक सञ्जालको जुहारी देखेर वाक्कदिक्क छन् । यसरी ‘हिलो छ्यापाछ्याप गर्नुभन्दा त, पार्टी फुटे जाती हुन्थ्यो’ भन्दै टिप्पणी गर्न थालिसकेका छन् ।
फाइल तस्बिर