चितवन । मेडिकल सिटी र देशकै केन्द्रमा रहेको चितवन कोरोना भाइरसको लागि ल्याब परीक्षण केन्द्र छनोटमा नपरेको भन्दै नेपाल समाजवादी पार्टीले आपत्ति जनाएको छ ।
काठमाडौ बाहिर सबैभन्दा बढी बिरामी जाँचिने चितवनमा ल्याब परीक्षण केन्द्र नबनाइएकोमा पार्टीले सरकारलाई विज्ञप्तिमार्फत ध्यानाकर्षण गराएको हो ।
पार्टीका जिल्ला सचिव विनोद शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘सरकारले काठमाडौ लगायतका केही शहरहरुमा सुविधासम्पन्न ल्याब बनाउने निर्णय गरेको,तर चितवनजस्तो काठमाडौ पछि बिरामीको चाप बढ्ने र सबैलाई पायक पर्ने मेडिकल सिटीले परिचित जिल्लामा ल्याब ल्याउने सरकारको निर्णय नपरेकोमा पार्टीको गम्भिर ध्यानकार्षण भएको छ । ’
सरकारले गरेको निर्णय बैज्ञानिक नभएको भन्दै विज्ञप्तिमा लेखिएको छ ,‘चितवनलाई केन्द्रीय राजधानी बनाउछौ भनी जनतालाई झुटो आश्वासन दिने निर्वाचित जनप्रतिनिधिलाई जिम्मेवार बन्न आग्रह गर्दछौं ।’
पार्टीले स्वास्थ्यजस्तो सम्वेदनशील जस्तो बिषयमा उपचारको पहुँच पुरयाउन र परिक्षणको प्रबन्ध मिलाउन समेत आग्रह गरेको छ ।