
पोखरा । गण्डकी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रदेशसभाबाट पारित भएको छ । यही जेठ २१ गते प्रदेशसभामा प्रस्तुत भएको नीति तथा कार्यक्रममाथि दुई दिनसम्म छलफल भएपछि आइतबारको प्रदेशसभा बैठकबाट बहुमतले पारित भएको हो ।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नीति तथा कार्यक्रम पारित गरियोस् भनी प्रदेशसभामा पेस गरेको प्रस्तावलाई बहुमत सदस्यले समर्थन गरेका थिए । त्यस क्रममा मुख्यमन्त्री पाण्डेले संघीय सरकार र स्थानीय तहसँगको समन्वय तथा सहकार्यमा अगाडि बढ्ने बताए । उनले आत्मनिर्भर प्रदेशको आधार तयार गर्ने गरी नीति तथा कार्यक्रम ल्याइएको बताए ।
“स्रोत र राजस्व वृद्धिमा विशेष ध्यान दिइएको छ, लगानीमैत्री वातावरण बनाई आर्थिक विकास र रोजगारी सिर्जना गर्नुपर्ने आवश्यकता छ,” उनले भने । त्यसअघि नीति तथा कार्यक्रममाथि प्रदेशसभा सदस्यहरूले विभिन्न धारणा राखेका थिए ।