
काठमाडौं । राष्ट्रियसभा सदस्य बामदेव गौतमले समाजवाद घोषणा गर्न अब ढिला गर्न नहुने बताएका छन् । आइतबार सिंहदरबारमा बसेको राष्ट्रियसभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समिति बैठकमा बोल्दै उनले मुलुकमा समाजवाद घोषणा गर्ने समय भइसकेको बताए ।
उनले समाजवादको बाटोमा हिँडे मात्रै समृद्ध बन्न सकिने जिकिर गरे । अरू बाटोबाट हिँडे मुलुक गरिब र नेताहरू त्यहीँ गरिब जनतालाई ठग्नेभन्दा अरू नहुने उल्लेख गरे ।
“समाजवाद घोषणा गर्ने बेला भयो, ढिला गर्नुहुँदैन । त्यही बाटोमा हिँड्नुपर्छ हामी समृद्ध हुन्छौँ । अरू बाटोबाट हामी गरिबको गरिब, गरिब जनतालाई ठग्ने नेता, त्यो भन्दा अरू हुँदैन । भ्रष्टाचार नगरी नेता बाँच्दैन, नेताले चुनाव जित्न पनि सक्दैन, केही न केही गर्नैपर्छ,” उनले भने ।
भ्रष्टाचार नगरी नेता नबाँच्ने, चुनाव नजित्ने र राज्यलाई धोका दिनैपर्छ भन्ने बाटोमा मुलुक रहेको बताउँदै त्यसलाई परिवर्तन गर्नुपर्नेमा जोड दिए । नेपालमा केही कुराको अभाव नरहेको बताउँदै समाजवादको बाटोमा अगाडि बढ्ने काम गर्नुपर्ने स्पष्ट पारे ।
उनले संविधानमा समाजवाद लेखिए पनि कार्यान्वयन नभएको भन्दै आपत्ति जनाए ।