काठमाडौं । शनिबार, साँझपख मङ्गलाल श्रेष्ठ भोटाहिँटीतिर टहलिन पुगेका थिए । कोरोनाभाइरस (कोभिड–१९) को असर भोटाहिँटीमा टड्कारो देखिन्थ्यो ।
भोटाहिँटी, असन, इन्द्रचोकतिर घरधनीलाई न्यूनाधिक असर गरेको थियो । चीनको बुहानबाट सल्किएर विश्वव्यापी बनेको कोरोनाको डढेलोले महाबौद्ध क्षेत्रका खुद्रा, थोक बिक्रेता, व्यापारीलाई पनि प्रताडित तुल्याएको देखिन्थ्यो । त्यस क्षेत्रका साना–ठूला पसलमा महिना दिनदेखि ताल्चा झुण्डिएका छन् । चर्को मारमा परिरहेका छन्– असन–महाबौद्ध क्षेत्रलगायत व्यापारिक थलोमा आश्रित भरियाहरू ।
पटपटी कुर्कुच्चा फुटेका भारी बोक्ने श्रमजीवी भरिया निन्याउरो अनुहार लगाएर सडकपेटीमा पल्टिएरहेका थिए । कोही झण्डै महिनादिनदेखि बन्द रहेको धूलाम्य सटरमा अडेस लागेर चुरोटको धुवाँमा फुङ्ग निराशा उडाइरहेका थिए । कोही बाघचाल, लुँडोमा अलमलिँदै दिग्दारी पन्छाउन खोजिरहेझैं देखिन्थे । बेलाबखत खुइय.. काढ्दै कुनै पसल खुल्यो कि भनेर धमिलो दृष्टि पुर्याउँथे ।
उनीहरूको अनुहार चर्को सन्नाटाले घेरेको थियो । दिनभरि भारी बोक्न नपाउँदाको पीडा आँखामा प्रतिच्छवित थियो । बेलुकी जहान, छोराछोरीको पेटमा उठेको भोकको जुलुस कसरी शान्त तुल्याउने ? अन्योलग्रस्त थियो, सबैजसो भरियाको अनुहार ।
सधैं असनको भीडभाडमा गइरहने मङ्गलालले भरियाको अनुहार देख्नै पाएका रहेनछन् । लछप्पै पसिनाले भिजेका उनीहरूका पिठ्युँ, चिरिएका खुट्टाका बिटहरूमा राम्ररी आँखा पुगेको रहेनछ । अनुहारमा सलबलाइरहने निराशाका धर्साहरू ठम्याउन सकेका रहेनछन् । सधैं सहरको मध्यभागमा रहेर पनि ‘अदृष्य’ बन्न पुगेको उनीहरूको अभाव, दुःख र पीडासँग परिचित हुनै पाएका रहेनछन् ।
त्यसदिन राम्रैसँग साक्षात्कार हुन पाए ।
कोरोनाको विश्वव्यापी बढ्दो प्रभावसँगै रोजरोटी अन्योलमा परेका भरिया, न्यूनज्यालाधारी मजदुरको दुर्दशा देखेपछि मङ्गलालको चित्त काढियो । उनले ती दीन–हीन मजदूरहरूको पीडा मोचन गर्ने उपायको खोजी गर्न थाले । तत्काल कुनै उपाय मथिङ्गलमा आएन । निरूपाय हुँदै, भीड छिचोलेर भोटाहिँटी आइपुगेका थिए, अर्को दृष्यले झन् पिरोल्यो ।
सकडपेटीमा अन्दाजी ५५ वर्षजतिकी महिला बडो तनाबमा थिइन् । नाङ्लामा चुरोट, चकलेट, पुष्टकारी राखेर फुटपाथमा ग्राहक कुरिरहेकी थिइन् । दिनभरि पेटी कुर्दा पनि एक खिल्ली चुरोट बेच्न नसकेको पीडा उनको अनुहारमा प्रष्टै देखिन्थ्यो ।
“किन बसिरहनुभएको बज्यै ?,” मङ्गलालले बिस्तारै सोधे ।
उनले मौन जवाफ फर्काइन् । बरु भोटाहिँटीतिरबाट कोही आउँदैछन् कि भनेर रुग्ण दृष्टि हुत्याइन् ।
“कोरोना भाइरसको जोखिम बढेको छ । घरमै बस्नुभए हुन्थ्यो नि !”
“घर बसेर के गर्नु ? खान परिहाल्छ !” बल्ल मुख खोलिन् उनले ।
दिनभरि पेटी नकुरे कसरी हातमुख जोड्नू !
यी दुई दृष्यसँग जम्काभेट भएपछि उनी घर आइपुग्दासम्म बेचैन भए । अभावले छिमलेका ती निमुखा अनुहारहरूले मन हुँडलिरह्यो । घर आइपुग्दा पनि आँखा वरिपरि छाइरह्यो । भरिया र निम्न आय भएकाहरूको परिवारमा सोझै परेको कोरोनाको असरले मङ्गलालको मन विदीर्ण तुल्यायो ।
घर आइपुगेपछि दिनभरिका समाचार हेर्न उनले आँखा टेलिभिजनको पर्दातिर पुर्याए । झनै उच्चाटलाग्दा दृष्यले दिमाग रन्थन्यायो । टीभीको दृष्यमा कोरोनाको त्रासदी बढेसँगै सहर छाड्नेको लर्को थियो । भीडमा बलियाबाङ्गाहरू मात्र थिएनन् । वृद्ध, अशक्तहरू थिए । अझ धेरै बालख, काखे शिशु च्यापेका महिलाहरू थिए ।
टेलिभिजनको पर्दामा देखिएको दृष्यले मन झन् उद्विग्न भयो । रातभरि निद्रा परेन । बरु पत्नी रुक्मिणीसँग अधकल्चो निद्रामै कुरा गरे । पत्नी पनि निरुत्तरित थिइन् ।
“कोरोनाको त्रास बढ्दै जाँदा काठमाडौं जानेको लर्को छ । महिला, केटाकेटी, वृद्धवृद्धालाई गाउँ फर्कन सघाउने गरी पूर्व र पश्चिम रुट चल्ने दुईवटा गाडी खोजेर पठाइदिँदा कसो होला ?,” उनले पत्नीसँग सल्लाह मागे ।
पत्नीलाई मङ्गलालको प्रस्ताव मनासिवै लाग्यो । भोलिपल्ट झिसमिसे नहुँदै उनले चिनेजति गाडी साहु, चालकलाई फोन गरे । गाडीको बन्दोबस्त मिलाइदिए आफूले लाग्ने भाडा भुक्तानी दिने बताए । कतैबाट चित्तबुझ्दो जवाफ पाएनन् । बिहान ७ बजेसम्म प्रयत्न गरे । तै पनि गाडी मिल्छ कि भन्ने आशा थियो । अन्त्यमा निराशामात्रै हात लाग्यो ।
“कसैले मिल्दो र सहयोगी कुरा गरेनन् । मेरो मात्र मन भएर नहुने !,” उनले बाह्रखरीसँगको कुराकानीमा दुःख मनाउ गरे ।
महिला बालख, वृद्धलाई सहयोग गर्न नपाएपछि मनले थकथकी मानिरहेको थियो । मनको छटपटी शान्त नभएपछि उनले भारी नपाएर अलपत्र परेका न्यून ज्यालादारी मजदुर–परिश्रमजीवी, नाङ्लो पसलेलाई सहयोग गर्ने अठोट गरे ।
सामाजिक सञ्जालमा लेखे पनि ।
खबर डढेलोझैं फैलियो । सोमबार बिहानसम्म झण्डै पाँच सयले सेयर गरेका छन् । उनको सहृदयी, उपकारी मनप्रति सम्भानभाव अर्पण गर्दै प्रतिक्रिया दिनेको ताँती लागेको छ । सिंगो सहरले उनको मुक्तकण्ठले प्रशंसा गरेको छ । सहरका नयाँ ‘सेलिब्रिटी’का रूपमा उनको छवि उदाएको छ । न उदाओस् पनि किन ? कोरोनालाई ‘क्यास’ गर्न पल्किएका, मतलवीहरूको भीडबाट उम्किएर मङ्गलाल ‘दानवीर’ निक्लिएका छन् ।
“चर्चा कमाउनभन्दा पनि कोरोना विपद्का कारण हातमुख जोड्न मुस्किल भएका परिवारलाई सहयोग गरौं भनेर पोस्ट गरेको थिएँ, यति धेरैले मन पराइदिनुभएको छ, अहिले प्रयास सार्थक भएको महसुस गरेको छु” पुलकित हुँदै सुनाउँछन् ।
मङ्गलालले भारी बोकेर, दैनिक ज्याला मजदुरी गरेर, नाङ्लो पसल थापेर जीवन गुजारा गर्ने झण्डै ५० परिवारलाई सहयोग गर्ने घोषणा गरेका छन् । भरियाहरूले कठोर शारीरिक श्रम गर्दा पनि दुई सय रुपैयाँ कमाउन गाह्रो हुन्छ । मुखमा मीठो–मसिनो पर्न मुस्किल हुन्छ । बालबच्चा नाङ्गै भुतुङ्गै हुन्छन् । सहरले भारी बोकाउँछ तर डेरा दिन मान्दैन । कतिले घरभित्र पस्नै दिँदैनन् । दिसापिसाब गर्न शौचालय दिँदैनन् । उस्तै परे छिःछिः र दूर्दूर् गर्दै वचनको धारले मुटु छियाछिया तुल्याउँछन् । हेयभावले हेरेकाले र तुच्छ नजर फ्याँकेकाले सहरका ‘सुकिलामुकिला’ प्रति उनीहरूको पनि ‘बेग्लै’, ‘विद्रोही’ पाराको दृष्टि छ ।
कति त उमेर ढल्किइसकेका भरिया उनले देखेका छन् मङ्गलालले । रोग, शोकले गाँजेकाले उनीहरूले गह्रुँगो भारी उचाल्न सक्दैनन् । उपचार गर्ने पैसा नभएकाले वर्षौंदेखि शरीरमा घाउ–खटिरा बोकेर हिँडिरहेका छन् ।
त्यस्ता भरियामा आश्रित परिवारलाई दुई सय रुपैयाँ पनि ‘ठूलो’ हुन्छ । चुह्लो जगाउन पुग्छ । नाङ्लामा सामान फिँजाएर बस्नेहरूको अवस्था पनि त्यही हो । धेरैजसो नाङ्लो पसलेसँग त सावाँ नै दुई सयको हुन्छ ।
उनीहरूलाई दिनको दुई सय रुपैयाँ हुने गरी महिनादिनसम्म सहयोग गर्ने उनको धोको छ ।
“त्यस्तो ५० परिवारलाई तीन लाख सहयोग गर्ने योजना बनाएको छु,” उनले भने ।
भरिया, नाङ्लो पसलेको पहिचान गर्न कठिन छैन । झट्ट हेर्दा नै पहिचान हुन्छ ।
तथापि उनले लक्षितहरूकै हातमा पुगोस् भनेर घरभेटीको नागरिकता, प्रमाण खुल्ने कागजातका आधारमा सहयोग वितरण गर्ने बताएका छन् । मङ्गलालको पहुँचमा नपुगेको हकमा फिल्डमै पुगेर सहयोग वितरण गर्नुपर्ने हुन सक्छ । तर, त्यसको योजना बनाइसकेका छैनन् ।
“भरिया, नाङ्लो पसलेहरूलाई पनि यो खबर पुर्याइदिन मैले सबैलाई अनुरोध गरेको छु । हातमुख जोड्न गाह्रो भएका, चुह्लो नबलेका परिवारले सहयोग पाऊन् भन्ने इच्छा हो,” उनले भने ।
को हुन् मङ्गलाल ?
मङ्गलाल धनाड्य अथवा व्यापारिक घरानाका होइनन् । न उनको पैत्रिक सम्पत्ति त्यसरी बाँड्न पुग्ने, प्रशस्त छ । परिश्रम, दुःखजिलो गरेर खाने नै परिवार हो । कोरोनाको विश्वव्यापी प्रभावका कारण सङ्कटबाट गुज्रिएका विपन्नलाई सहयोग गर्न उनले सकिनसकी हात फुकाएका हुन् ।
मङ्गलालको पैत्रिक थलो काभ्रेपलाञ्चोक साविक खनालथोक गाविस–७ हो । अहिले नमोबुद्ध नगरपालिका–१० नम्बर वडामा रूपान्तरित भएको छ ।
दाप्चाको कृष्ण माविबाट २०४५ सालमा एसएलसी दिएका मङ्गलाल त्यसपछि काठमाडौं आएको बताउँछन् । रहरको सहर काठमाडौं भित्रिएपछि उनले ओभरसियरमा भर्ना भए । २०४८ सालमा ओभरसियर तह पूरा भएपछि सिभिल इन्जिनियरिङमा भर्ना भए ।
इन्भारोमेन्टल इन्जिनियरिङमा स्नातकोत्तर गरेका छन्, मङ्गलालले ।
२०५३ भदौबाट सैनिक सेवामा प्रवृष्ट भएका मङ्गलाल झन्डै २० वर्ष कार्यरत रहे । २०७३ सालपछि भने उनले ‘रिटायर्ड’ जीवन बाँचिरहेका छन् ।
“अवकाश प्राप्त उमेरलाई समाजसेवामा जोड्ने जमर्को गरेको हुँ । बाँचुञ्जेल सकारात्मक काम गरुँ, अरूलाई प्रेरणा दिउँ भनेर सानो प्रयास गरेको हुँ, नचिताएको प्रतिक्रिया पाएको छु,” मृदुभाषी, सरल, सरस व्यक्तित्व मङ्गलालले बाह्रखरीसँग खुसी साटे ।