
जनकपुर । प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले बिहीबार दुई महत्त्वपूर्ण विधेयक सदनमा पेस गरेका छन् ।
प्रदेशसभाको तेस्रो अधिवेशनअन्तर्गत ५८ औं बैठकमा मन्त्री यादवले ‘प्रदेश अनुसन्धान व्युरोको स्थापना, काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६’ र ‘प्रदेश २ को जाँचबुझ आयोगको गठन तथा काम, कर्तव्य र अधिकारको विषयमा व्यवस्था गर्न बनेको विधेयक २०७६’ पेस गरेका हुन् ।
यस प्रदेशमा प्रहरी सम्बन्धी विधेयक ६ महिनाअगावै पारित भइसकेको छ । त्यस्तै, प्रदेश लोकसेवा आयोगसमेत गठन भइसकेको छ । पछिल्लो दुई विधेयक पारित भए अपराध अनुसन्धानमा सहयोग पुग्नुका साथै प्रदेशभित्र अपराधिक घटना नियन्त्रणमा उपलब्धि प्राप्त हुने सरकार पक्षको दाबी छ ।
बिहीबार बसेको प्रदेशसभा बैठकमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहले ‘प्रदेश सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६’ माथि सैद्धान्तिक छलफलका लागि पेस गरेका छन् । उक्त विधेयक उपर सांसदहरू रामअशिष यादव, ज्वालाकुमारी साह, रुबी कर्ण, सुन्दरबहादुर विश्वकर्मा, रामसरोज यादवलगायत सांसदहरूले बोलेका थिए ।