
जनकपुर । प्रदेश २ को नामाकरणको लागि नेपाली कांग्रेसले प्रस्ताव गरेको ‘मिथिला भोजपुरा’ प्रदेश पनि बहुमतले अस्वीकृत भएको छ ।
उक्त प्रस्तावको पक्षमा २८ मत परेको छ । प्रदेशसभामा कांग्रेसका जम्मा १९ सांसद हुन् । यस आधारमा कांग्रेसले ल्याएको उक्त प्रस्तावको पक्षमा कांग्रेस बाहेक थप ९ जनाले मतदान गरेका रहेछन् ।
१ सय ७ सदस्य रहेको प्रदेशसभाको दुई तिहाई अर्थात कम्तीमा ७२ जनाको मत पाउने प्रस्ताव मात्र पारित हुनेछ ।
यसअघि ३२ सांसद रहेको नेकपाले ल्याएको प्रस्ताव ‘जानकी’ प्रदेश अस्वीकृत भएको थियो । उक्त प्रस्तावको पक्षमा ३७ सांसदले मतदान गरेका थिए ।
अब कांग्रेसकै अर्को एक पक्षले ल्याएको प्रस्ताव ‘मध्य मधेश’ को लागि मतदानको तयारी थालिएको छ । उक्त प्रस्ताव पनि पारित भएन भने समाजवादी पार्टी र राजपाले ल्याएको संयुक्त प्रस्ताव ‘मधेश’ को लागि मतदान हुने प्रदेशसभा सचिवालयले जनाएको छ ।