site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मलाई कुनै दुःख छैन : योगेश भट्टराई, प्रहरी भन्छ– नराम्रो केही भएको होइन
तस्बिर : योगेश भट्टराईको फेसबुकबाट ।

काठमाडौं । ताप्लेजुङमा ‘कञ्चनजंघा हीरक महोत्सव’ उद्घाटनक्रममा कुनै अप्रिय घटना नभएको प्रहरीले जनाएको छ । उद्घाटन समारोहमा कुनै व्यवधान नभएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख एवं डीएसपी रवि रावलले बताए ।

“कार्यक्रम राम्ररी सम्पन्न भयो, केही नराम्रो भएको होइन,” उनले बाह्रखरीसित भने, “माननीय पर्यटनमन्त्रीज्यू, सांसदज्यूहरू आउनुभएको थियो ।”

शुक्रबार (वैशाख ५) संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले महोत्सव उद्घाटन गरेका थिए । उद्घाटन समारोहमा ताप्लेजुङ–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य योगेश भट्टराई पनि सहभागी थिए । मन्त्री पाण्डेसँगै सांसद भट्टराई हेलिकोप्टरमार्फत ताप्लेजुङको लेलेप पुगेका थिए ।

उद्घाटन समारोह राम्ररी सम्पन्न भएर उनीहरू दुवैजना शुक्रबारै काठमाडौं फर्किइसकेका डीएसपी रावलले बताए ।

कार्यक्रममा ‘नो केबलकार’ समूहले सांसद भट्टराईको विरोध गरेको भन्दै विभिन्न भिडियो सामाजिक सञ्जालमा ‘भाइरल’ भएको छ । सामाजिक सञ्जालमा हल्ला गरिएजस्तो केही नभएको उनले जिकिर गरे ।

“त्यस्तो केही भएको छैन । हाम्रो इन्स्पेक्टरको कमान्डमा टोली खटिएको छ, त्यस्तो केही भएको भए हामीलाई रिपोर्टिङ हुन्थ्यो,” डीएसपी रावलले भने ।

उद्घाटन समारोह सकिएपछि मन्त्री पाण्डे र सांसद भट्टराई फर्कने क्रममा भने केही व्यक्तिले नाराबाजी गरेका उनले बताए । “उहाँहरू फर्कने बेला हेलिकोप्टरमा जाने क्रममा आठ/दशजनाले नाराबाजी गरेका हुन्, अरू केही होइन,” उनले भने, “त्यसपछि प्रहरीले सुरक्षितसाथ उहाँहरूलाई हेलिकोप्टरमा पुर्‍याएको थियो । राम्रैसित उहाँहरू जानुभएको हो ।”

‘नो केबलकार’ समूहले कुनै व्यवधान नगरेको उनको भनाइ थियो ।

सांसद भट्टराईले पनि ‘उद्घाटन कार्यक्रम भव्य रूपले सम्पन्न’ भएको बताएका छन् । शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफूविरुद्धको नाराबाजीका विषयमा समेत टिप्पणी गरेका छन् ।

“कार्यक्रम सकेर फर्कने क्रममा दुई/चारजनाले मेराविरुद्ध नारा लगाएछन् । नेपाली जनताको लामो संघर्षबाट प्राप्त लोकतान्त्रिक अधिकारको प्रयोग गरेछन्,” उनले लेखेका छन्, “मलाई कुनै दुःख छैन । सवाल विरोध वा समर्थन सभ्यताको सीमाभित्र हुनुपर्दछ ।”

उनले विरोधीलाई विवेकले काम गर्न आग्रह गरेका छन् । सामाजिक एकतामा उनले जोड दिएका छन् ।

“जसले जति जानेको छ वा जे गर्न लगाइएको छ, त्यति नै गर्ने हो । मेरो आग्रह विवेकले काम गरौँ । प्रायोजकहरूको हतियार नबनौँ,” उनले लेखेका छन्, “सामाजिक एकता र सद्भाव नबिगारौँ ।”

विश्वको तेस्रो र नेपालको दोस्रो अग्लो शिखर कञ्चनजंघा हिमालको पहिलो सफल आरोहणको ७०औँ वार्षिकोत्सवका अवसरमा ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकास्थित लेलेपमा ‘कञ्चनजंघा हीरक महोत्सव–२०८२’ शुक्रबारदेखि सुरु भएको राससले जनाएको छ ।

कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को आयोजनामा सुरु महोत्सव यही वैशाख ७ गतेसम्म सञ्चालन हुने राससमा उल्लेख छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, वैशाख ६, २०८२  १७:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro