site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रदेश २ को प्रस्तावित नाम ‘जानकी’ का लागि मतदान सुरु

जनकपुर । प्रदेश २ को नाम टुंगो लगाउन प्रदेशसभामा मतदान प्रक्रिया सुरु भएको छ । 

प्रदेशसभाको तेस्रो अधिवेशनअन्तर्गत मंगलबार बसेको ५७औं बैठकबाट नामकरण प्रक्रियालाई मतदानमार्फत टुंग्याउन लागिएको हो । प्रदेशको नामकरणका लागि चार प्रस्ताव दर्ता भएकामा पहिलो प्रस्ताव ‘जानकी’ का लागि मतदान सुरु भएको हो । 

मतदान प्रक्रिया सम्पन्न गर्न प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवलाई निर्वाचन अधिकृत तोकिएको छ । उनले मतदान प्रक्रिया सम्पन्न गरी मंगलबारै अपराह्न ४ बजे बस्ने अर्को बैठकमा परिणाम सार्वजनिक गरिने सभामुख सरोजकुमार यादवले जनाए । 

नेकपाका सांसद रामकुमार यादवले प्रदेशको नाम ‘जानकी’ प्रस्ताव गरेका हुन् । उक्त प्रस्तावको पक्षमा दुईतिहाइ मत नपरे अर्को प्रस्तावका लागि मतदान हुनेछन् । १ सय ७ सदस्य रहेको प्रदेशसभामा दुईतिहाइको लागि ७२ जना आवश्यक पर्छ । 

जानकी पारित नभए नेपाली कांग्रेसका सांसद नरेशकुमार यादवले प्रस्ताव गरेको ‘मिथिला भोजपुरा’ का लागि मतदान हुनेछ । उनको प्रस्ताव पनि पारित नभए कांग्रेसकै अर्का सांसद राजेश्वरप्रसाद साहले प्रस्ताव गरेको ‘मध्य मधेस’ नामक प्रस्तावका लागि मतदान हुनेछ ।

उक्त प्रस्ताव पनि पारित नभए अन्तिममा समाजवादी पार्टी र राजपाको तर्फबाट संयुक्त रूपमा समाजवादी पार्टीका सांसद शैलेन्द्रकुमार यादवले प्रस्ताव गरेको ‘मधेस’ का लागि मतदान हुने सचिवालयले जनाएको छ । 

नामकरणसम्बन्धी प्रस्तावहरूमा मतदान सम्पन्न गरी अन्तिम परिणाम सार्वजनिक गरिसकेपछि राजधानीको प्रस्तावमा मतदान हुनेछ । राजधानीका लागि विभिन्न पाँचवटा प्रस्ताव दर्ता भए पनि जनकपुरलाई राजधानी बनाउने सवालमा सबै दल सहमति जनाइसकेको हुँदा पहिलो मतदानबाटै टुंगो लाग्ने सम्भावना बढी रहेको सचिवालयका सचिव यादवले जनाए । 

क्याप्सन :
मतदानका ठीक पारिएको मतपेटिका तथा मतदानस्थल र मतदान गर्दै मुख्यमन्त्री लालबाबु राउत । तस्बिर : बाह्रखरी
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, चैत ४, २०७६  १४:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro