site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
 ओरालोमा ओली, माधव नेपाल निर्णायक
SkywellSkywell

काठमाडौं । तत्कालीन नेकपा (एमाले)को बुटवल (आठौँ) महाधिवेशन तीन किसिमले महत्त्वपूर्ण रह्यो ।

पहिलो, पहिलोपल्ट कम्युनिस्ट आन्दोलनलाई बहुपदीयमा लगेको थियो । घरेलु राजनीतिमा संघीयता, विकेन्द्रीकृत शासन प्रणालीको चर्को बहस भइरहेका बेला पार्टीले पनि नेतृत्वलाई विकेन्द्रीकृत गरेको थियो ।

दोस्रो, २०६२–०६३ को जनआन्दोलनको रापताप सेलाइसकेको थिएन । जनआन्दोलनको भीड हुँदै सडकमा मुखर हुन आइपुगेका मुद्दाहरू आन्दोलनको समापनसँगै प्रखर रूपमा देखा परिरहेका थिए । 

KFC Island Ad
NIC Asia

लोकतन्त्रको अभ्युदयसँगै दलहरूको लोकतान्त्रीकरणको प्रश्न पनि उस्तै पेचिलो बनिरहेको थियो । ठीक त्यही बेला मुलुकको तेस्रो राजनीतिक शक्तिले आन्तरिक लोकतन्त्र, जनवादी श्रेष्ठताको अभ्यास गरेको थियो । बहुदलीय जनवादको मूल मर्मलाई आत्मसात गर्दै प्रतिनिधिको प्रत्यक्ष मतद्वारा नेतृत्व छनोट गरेको थियो ।

तेस्रो, तत्कालीन एमालेभित्र झलनाथ खनाल दृष्यबाहिर पुगिसकेका थिए । मालेकाल (२०३९ साल)मा पार्टी महासचिव भएयता उनी पार्टीको निर्णायक तहमा थिएनन् । मदन भण्डारीको अवसानपछिमात्रै माधव नेपालले उनलाई स्थायी कमिटीमा ल्याएका थिए ।

Royal Enfield Island Ad

तर, २०६४ को पहिलो संविधानसभाको निर्वाचन भने उनलाई फलिफाप भयो । खनालबाहेक स्थायी कमिटी सदस्यले प्रत्यक्षतर्फ चुनाव जित्न सकेनन् । त्यसको ‘लाभ’ उनले लिए । रौतहट र काठमाडौं दुवैतिरबाट चुनाव हारेपछि तत्कालीन महासचिव नेपालले नैतिकता अघि सार्दै राजीनामा दिए । कार्यवाहक महासचिवको जिम्मा खनालले पाए । महाधिवेशनमा मतबाटै खनाल अध्यक्ष चुनिए ।

आठौं महाधिवेशनबाट नेतृत्वमात्रै खनालले पाएका थिए । ८ मध्ये बहुमत पदाधिकारी, केन्द्रीय सदस्य माधव–ओली पक्षकै निर्वाचित भएका थिए । विष्णु पौडेल, शङ्कर पोखरेल पदाधिकारी (सचिव) चुनिए ।

महासचिव ईश्वर पोखरेल पनि चुनाव जितुञ्जेलमात्रै खनाल पक्षका भए । महाधिवेशनको गर्मी चिसिन नपाउँदै ‘डेरा’ सरिहाले ।

त्यसको असर पार्टी सञ्चालनमा देखियो । झलनाथले संस्थागत ढङ्गले पार्टी सञ्चालन गर्न सकेनन् । अझ भनौं न, ओलीको गुटबन्दी र समानान्तर पार्टी–सत्ता चलाउने अभ्यासलाई ‘काउन्टर’ दिन सकेनन् । पार्टीका निर्णय धराशायी हुने, एकपछि अर्को गरी बेवारिसे बन्न थाले ।

“म अध्यक्ष बनुञ्जेल एकदिन पनि ओलीबाट सहयोग पाइनँ । गुटबन्दी गर्नुभयो । अराजकता सिर्जना गर्नुभयो । संस्थागत निर्णय अवज्ञा गर्नुभयो,” खनालले बाह्रखरीसँगको लामो संवादमा आफ्नो अध्यक्ष कार्यकालतर्फ फर्किएर हेरेका थिए र ओलीको आलोचना गरेका थिए ।

खनाल कतिसम्म निरीह थिए भन्ने जान्न एउटै दृष्टान्त काफी हुन्छ । तत्कालीन एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको बहिर्गमनपछि माधव नेपाल प्रधानमन्त्रीमा निर्वाचित भए । नेपाललाई कांग्रेसले समर्थन गरेको थियो । जबकि, पार्टी अध्यक्ष, संसदीय दलको नेताचाहिँ खनाल थिए ।

त्यसबेला पार्टी निर्णय उल्लङ्घन गरेको आरोप खनाललाई पनि नलागेको होइन । माधव नेपाल निकट एक नेताका अनुसार खनालले पार्टीलाई थाहै नदिइ तत्कालीन एमाओवादीसँग ७ बुँदे सत्ता–समझदारी गरेका थिए । 

जुन समझदारीले उनलाई माधव नेपालको बहिर्गमनपछि प्रधानमन्त्री त दिलायो तर पार्टी सत्तामा कमजोर र क्षीण पनि भयो ।

आफू अध्यक्ष, दलको नेता हुँदाहुँदै नेपाललाई प्रधानमन्त्री बनाउने निर्णय गरेको बदलाभावले पनि समझदारी गर्न घचेटेको हुँदो हो, प्रकारान्तरले खनाललाई नै कमजोर बनाएको नेपाल पक्षका नेता निष्कर्ष सुनाउँछन् ।

उनका अनुसार नेता खनालले पार्टी संस्थागत ढङ्गले नचलाएको फेहरिस्त नै छ । पार्टी स्थायी कमिटीले मन्त्रिपरिषद् विस्तार नगर्ने निर्णय गरेको थियो । स्थायी कमिटीको बैठक सकिनासाथ शीतल निवास पुगेर मन्त्रीहरूलाई शपथ गराए ।

स्थायी कमिटीले तत्कालीन पार्टी सचिव विष्णु पौडेललाई गृहमन्त्री बनाउन सिफारिस गरेको थियो । प्रधानमन्त्री खनालले कृष्णबहादुर महरालाई शपथ गराए । डा. उपेन्द्र कोइरालालाई उपकुलपति बनाउने पार्टी निर्णयविपरीत हिराबहादुर महर्जनलाई नियुक्त गर्ने निर्णय पनि खनालले नै गरेका थिए ।

यी सबै घटनाक्रमले पार्टी संस्थागत हिसाबले कमजोर, धराशायी हुँदै गएको र ओली (गुट) बलियो बन्दै गएको अनुभव सुनाउँछन् नेकपाका नेता । खनालकै शैलीलाई ओलीले निरन्तरता दिइरहेको उनीहरूको बुझाइ छ ।

“संविधानमै बहुमतले प्रधानमन्त्री छान्न सकिने प्रावधान छ । पार्टीमा बहस हुँदा खनाल दुई तिहाइको प्रावधान राख्न समेत तयार हुनुभयो, त्यतिसम्म निरीह हुनुहुन्थ्यो खनाल ! परिणामतः ओली क्रमशः बलशाली हुँदै आउनुभयो,” नेपाल पक्षका त्यतिबेलाको घटना स्मरण गर्छन् ।

स्वास्थ्यले साथ दिएका ओली

२०६३ को उत्तरार्धदेखि नै कमजोर बनेको ओलीको स्वास्थ्य २०६४ साउनमा उत्कर्षमा पुग्यो । भारत, नयाँ दिल्लीको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरे पनि स्वास्थ्यमा खराबी आउन छाडेन । २०७० सालमा त झनै प्रतिकूल बन्यो ।

तिनताक उनी मेनेन्जाइटिसबाट प्रताडित बनेको थिए । आठौं महाधिवेशनमा ११७ (खनाल ९१३, ओली ७९६)मतले पछाडि परेका ओली नवौं महाधिवेशनको सङ्घारमा आइपुग्दा बलियो प्रतिस्पर्धीका रूपमा उभिइसकेका थिए । तलतलबाट निर्वाचित भएर आउने प्रतिनिधिको सङ्ख्यातर्फ पनि ओली बलिया नै थिए ।

स्वास्थ्य प्रतिकूल मात्र होइन क्षीण नै देखिएपछि सहानुभूति पनि बलियो भयो । त्यही आडमा बलिया प्रतिस्पर्धी नेपाललाई ४३ मतले पन्छाए ।

“तिनताका प्रधानमन्त्रीको शारीरिक अवस्था निकै कमजोर थियो । महाधिवेशनताका त उठेर बोल्न पनि कठिन देखिन्थ्यो । यस्तो अवस्थामा पनि मैदानमा खटिएको नेतालाई निराश बनाउनुहुँदैन भन्ने मत बलियो भयो,” नवौं महाधिवेशनको विवेचना गर्छन्, एक केन्द्रीय सदस्य ।

त्यसपछिको समय भने ओलीका निम्ति अनुकूल रह्यो । पार्टी सत्ता त उनको हातमा छँदै थियो । २०७२ सालको नाकाबन्दीको आडमा विकसित भएको राष्ट्रवादी छविले शासन सत्तामा पनि उनको प्रभूत्व विस्तारित भयो ।

एमाले र माओवादी केन्द्रको एकतासम्म आइपुग्दा ओली पार्टीभित्र ‘सर्वमान्य’ नेता भइसकेका थिए । ओलीकै अनुहार र सपना देखाएर वामगठबन्धनले दुई तिहाइनिकट मत हासिल गरेकाले शासन सत्तामा उनको विकल्पको कल्पना पनि कसैले गरेको थिएन ।

तर, दोस्रोपल्ट शासन सत्ता सम्हालेपछि ओली ग्राफ आश्चर्यजनक ढङ्गले ओरालो लागेको छ । सुशासन ‘उडन्ते गफ’ बनेका छन् । राष्ट्रवादी छायाछवि पनि ‘मिथ’ बन्ने सङ्कटबाट गुज्रिइरहेको छ ।

ओली ओरालोका कारण

पार्टी एकतालाई निर्णायक तहमा पुर्‍याएकाले ओलीको छवि अकाट्य थियो । केन्द्रीय सत्तामा दुई तिहाइ नजिकनजिक मतसहित उपस्थिति । ६ वटा प्रदेशमा सरकारको नेतृत्व । दुई ठूला कम्युनिस्ट पार्टीबीच एकता–एकीकरण । चार वर्षकै अन्तरालमा, कार्यकालमा पार्टी–आन्दोलनले हासिल गरेको न ‘भूतो, न भविष्यती’ उपलब्धीले ओलीको नेतृत्व अब्बल सावित भइसकेको थियो ।

एकतापछि ओली नवौं महाधिवेशनको मनोदशाबाट बाहिर आउन सकेनन् । पूर्ववर्ती गुट चिन्तन उनका लागि प्रिय बन्यो । 

ओलीको ‘नेप्से’ ओरालो लाग्नुको मुख्य कारण यही भएको एक केन्द्रीय सदस्यको संश्लेषण छ ।

“पार्टी एकतापछि विराट छाती प्रदर्शन गर्न सक्नुपर्थ्यो । घेराको दायरा अझ फराकिलो बनाउनुपर्थ्यो । नवौं महाधिवेशनकै गुटको दशा हावी भयो,” ती नेताको निचोड छ ।

पार्टी एकतालाई निचोड–निष्कर्षमा पुर्‍याउन पूर्वएमाले समूह एक ठाउँमा उभिन जरुरी छ । पार्टी एकता पूर्ववर्ती समूहहरूको भागवण्डा र अंशवण्डाकै माध्यमबाट टुंगिने भएकाले ओली–नेपाल नमिल्दा एकता विलम्ब र लम्बेतान बन्छ । यसकारण कि उनीहरू पूर्वएमालेका ‘स्टेकहोल्डर’ हुन् । उदाहरणका लागि अहिले नेकपाले ३२ वटै विभागलाई पूर्णता दिन सकेको छैन । ३५ सदस्य विभागमा २० पूर्वएमालेलाई १५ पूर्वमाओवादी केन्द्रलाई भागवण्डा लगाइएको छ । ओली–नेपाल एक ठाउँमा नबसी पूर्वएमालेले नामको टुङ्गो लगाउन कठिन नै छ ।

तर, ओलीले माधव नेपाललाई सुरुदेखि नै किनारामा लगाउन खोजे । सुरुमा उमेदवारको टिकट, त्यसपछि मन्त्री, राजदूत, राजकीय नियुक्ति र पार्टीका जिम्मेवारी बाँडफाँड गर्दा ओली प्रचण्डले आफू–आफूलाई भाग लगाउन थाले । उपेक्षामा परेको, किनार लगाइएको महसुस गरेका नेता नेपालले नीति, विधि, पद्धति, वरीयताको प्रश्न उठाउन थाले । सुनुवाइ नै नभएपछि तीनपटक नोट अफ् डिसेन्ट (असहमति पत्र) दर्ज गरे ।

“सदस्य विशेषको निर्णयप्रतिको ‘नोट अफ् डिसेन्ट’ नेतृत्वको अक्षमताको द्योतक पनि हो, कसैलाई मुख्यमन्त्री, प्रदेश इन्चार्जको दोहोरो भारि, कसैलाई अमुक नेतानिकट भएकैले जिम्मेवारीविहीन बनाउन थालेपछि विद्रोह त हुन्छ नै,” ओली ओरालो लाग्नुको कारण बताउँछ नेपाल समूह ।
ओलीले मन्त्री, सचिवालयको छनोट गर्दा पनि हिजोकै मनोविज्ञानले निर्णायक भूमिका खेलेका सरकारको पर्फमेन्स राम्रो नभएको नेपाल पक्षको ठहर छ ।

“कानुनमन्त्री शिवमाया तुम्बाहाङ्फेको नियुक्ति माधव नेपालले पत्रिका हेरेर थाहा पाउनुभयो । मन्त्री सिफारिस, नियुक्ति प्रधानमन्त्रीको तजबिज होला । तर, आजको हाम्रो पार्टी संरचना, विधि, प्रक्रियाले पार्टी अध्यक्ष, दलका नेतालाई मात्रै त्यो अधिकार दिन्छ त ? पार्टीमा छलफल गराउनुपर्दैन ? माधव नेपालजत्तिका नेताले प्रधानमन्त्रीका निर्णय पत्रिका पढेर थाहा पाउनुपर्ने विडम्बना होइन ?,” नेपाल समूह दृष्टान्त दिन्छ ।

गठबन्धन होइन, ओलीको स्वेच्छाचारी प्रवृत्तिप्रति एकट्ठा

गत भदौ ३ गते नेता नेपालले ओली–प्रचण्डविरुद्ध ७ बुँदे नोट अफ् डिसेन्ट लेखेका थिए । ओलीले कहिले झलनाथ खनालविरुद्ध नेता नेपाललाई प्रयोग गरेको, कहिले खनालको वरीयता माथि पारेर आफूलाई खसालिएको नेपालको बुझाइ थियो । ‘असहमति’ त्यसैको अभिव्यक्ति थियो ।

तर, यी सबै पार्टीगत, राजनीतिक निर्णय भएकाले सहनयोग्य भएको नेपालको ठहर पनि छ ।

ललिता निवास प्रकरणपछि भने ओली–नेपालबीच दुस्मनी नै देखापरेको निकटवर्तीहरू बताउँछन् ।

“ललिता निवास प्रकरण नेपालको पालामा उत्पत्ति–उद्भव भएको होइन । सुरुदेखि नै चल्दै आएको छ । नेपालले कानुनविपरीत केही गर्नु पनि भएको छैन । प्रधानमन्त्री निवास व्यवस्थित गर्ने प्रयोजनका लागि निर्णय भएको देखिन्छ । तर, जबरजस्ती डाम्ने राजनीतिक जीवन समाप्त पार्ने, चरित्रमा कालो पोत्ने कोसिस गरियो । यो नितान्त गैरराजनीतिक बाटो थियो । गैरराजनीतिक बाटो हिँड्दा अप्ठ्यारो हुन्छ नै,” नेपाल पक्षको ठहर छ ।

ललिता निवास प्रकरणमार्फत् ‘सेबोटेज’ गर्न खोजिएपछि नेपालले सहारा खोजिरहेका थिए । प्रचण्ड, वामदेवहरू जोडिन आइपुगेपछि सँगै उभिएको नेपाल पक्षको बुझाइ छ ।

“भैंसेपाटी भेला आवश्यकताले सिर्जना गरेको गठबन्धन हो । ओलीमा मनोमालिन्यता बढ्दै गएपछि रोक्न जरुरी थियो,” उनीहरू भन्छन् ।

निर्णायक नेपाल

नेकपाभित्र मुख्यरूपमा तीन साझेदार छन् । एउटा पक्ष अर्कोमा मिल्नेबित्तिकै बाँकी पक्ष स्वतः अल्पमतमा पर्छ । ओलीका हकमा पनि भएको त्यही हो ।

तर, ओलीविरुद्ध घेराबन्दी साँघुर्‍याउँदै लगेर निष्कासन गर्ने तहको समझदारी भने नेपाल पक्ष इन्कार गर्छ । नेता नेपालको चरित्र पनि त्यो हदसम्मको होइन ।

“उहाँको धेरै ठूलो माग छैन । प्रधानमन्त्री, पार्टी अध्यक्ष अहिले नै चाहियो भन्नुभएको छैन । चाहिँदैमा दिइहाल्ने, पाइहालिने पनि होइन । अध्यक्ष, प्रधानमन्त्री उहाँहरूले बाँडेर लिनुभएकै छ । उहाँको चाहना यति हो, पार्टी विधि, प्रक्रियामा चलोस्,” नेपाल पक्ष भन्छ ।

तर ओलीले बैठकमा हुन्छ भन्ने व्यवहारमा इन्कार गर्ने गर्दा त्यसले गठबन्धनको जन्म दियो । पछिल्लो असमझदारी त्यसैबाट सिर्जित हो ।

ओलीलाई यसपटक पनि स्वास्थ्यले साथ दियो । मिर्गौला प्रत्यारोपण गर्न अस्पताल भर्ना नभएको भए पार्टी थप किचलोमा फस्थ्यो । ‘दुर्घटना’ कै तहमा नपुगे पनि ओली थप अप्ठ्यारोमा पर्थे । अहिले पनि सम्भावना टरिसकेको छैन । किनकि, ओली आफैं उपस्थित भएको सचिवालय बैठकले गरेको निर्णय भर्सेलामा छ । कार्यान्वयन गर्न सक्दिनँ भनेर आनाकानी देखाइरहेका छन् । 

“विवाद बढ्दै गएपछि माधव नेपालले मध्यमार्गी उपाय पहिल्याउनु भयो– सचिवालयको निर्णय कार्यान्वयन गर्दै वामदेवलाई राष्ट्रियसभामा मनोनीत गर्ने । डा. युवराज खतिवडालाई ६ महिनासम्म अर्थमन्त्री निरन्तरता दिने । त्यसपछि आवश्यक निर्णय लिएर खतिवडाको व्यवस्थापन गर्ने,” नेपाल पक्ष दाबी गर्छ ।

खतिवडाले अर्थमन्त्रीमा निरन्तरता पाएकै छन् । वामदेवलाई राष्ट्रियसभामा मनोनीत गर्ने निर्णय बेवारिसे छ । यो निर्णय कार्यान्वयन नगरिए दुई महिनाको अन्तरालमा दुई ठूला शल्यक्रिया गरिएका र स्वास्थ्य लाभ गरिरहेका ओलीको भविष्य त्यत्ति सुखद देखिँदैन ।

संविधान संशोधनप्रति भने नेपालको रुचि देखिँदैन ।

सचिवालयले निर्णय गरेर कार्यदलमा बस्न आनाकानी नगरे पनि संविधान संशोधन सहज नभएको उनको निष्कर्ष छ । 

“राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्ने विषयसँगै अरू पनि घुस्छन् । नेकपाको काबुमा मात्रै नरहन सक्छ । यसकारण कि सतहमा अरू विषय पनि विद्यमान छन्,” नेपाल समूहका एक नेता भन्छन् । 

तर वामदेवले प्रचण्डलाई खोस्रिइ नै रहेका छन् ।

नारायणकाजी श्रेष्ठकै लहरमा वामदेव पनि बस्ने गरी प्रबन्ध मिलाउने हो भने ‘दुर्घटना’को जोखिम टार्न ओलीलाई सहज देखिन्छ ।

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत ३, २०७६  १६:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro