site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चर्चित ‘स्ल्याङ’, नगर न ल्याङ !

समयको गतिसँगै भित्रिएको आधुनिकीकरणले मानिसको खानपान, पहिरन, बोलीचालीमा परिवर्तन आयो । 

आधुनिकीकरणको मुख्य असर भाषाशैलीमा पनि उसैगरी देखियो । विशेषगरी चलचित्र, सामाजिक सञ्जाल, राजनीतिज्ञ, पढाइ–घुमफिर अनि रोजगारीका लागि बिदेसिएका युवाले नै भाषाशैलीमा परिवर्तन ल्याएको बुझ्न कठिन छैन ।

भाषाशैलीमा देखिएको परिवर्तन पछिल्लो पुस्ताले प्रयोग गर्ने ‘स्ल्याङ’ अर्थात् थेगोलाई मान्न सकिन्छ । यी स्ल्याङ औपचारिक होइनन्, बस् अनौपचारिक बोलिचालीका मात्र हुन् । यस्ता स्ल्याङ कुनै विशेष उमेर समूहका व्यक्तिले बोलीचालीको भाषामा घुसाउने गर्छन् । यी शब्दहरू औपचारिक लेखाइ र बोलाइमा भने प्रयोगमा आउँदैनन् । अझ यी शब्दलाई आश्चर्यबोधक चिह्नले दर्साउने गरिन्छ ।

पछिल्लो पुस्ताले कस्ता–कस्ता भाषाशैली (स्ल्याङ) प्रयोग गर्दा रहेछन् । चर्चित स्ल्याङ कुन् भए एकछिन् चर्चा गरौं ।

यो ब्रो, ल्याङ, हामी यस्तै त हो नि ब्रो, सोल्टी, ओ केटी, निबा निबी, नाटक, छ्या, तोरी, भेजा, बे, हावा, हैट, सही हो, गाइज, गाइच्, घाँडो, कसम, तपाईं हामीलाई चाहिने मान्छे हो, हेप्ने, लास्ट तनाव भो, फेलिसिया, नगर न ल्याङ, साभेज, आदि पछिल्लो युवापुस्ताले धेरै बोल्ने स्ल्याङ हुन् ।

केही साताअघि सामाजिक सञ्जालभर देखिएको शब्द हो हेप्नी ! यो पूर्वसूचना प्रविधि तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले एक कार्यक्रममा उच्चारण गरेको शब्द हो । पछि उनैलाई सिको गर्दै व्यंग्य र हँसिमजाकका रूपमा युवावर्ग तथा आम नेपालीले सामाजिक सञ्जालदेखि बोलीचालीमा ल्याए । 

‘तपाईं हामीलाई चाहिने मान्छे हो’ यो शब्द निर्देशक तथा कमेडी च्याम्पियनका निर्णायक (जज) प्रदीप भट्टराईले बारम्बार प्रयोग गर्थे । जुन आमसर्वसाधारणले फलो गरे । 

चर्चित व्यक्तित्वले सिर्जना गरेका शब्दलाई आम–बोलिचालीमा ढालेर बोलिनुलाई पनि स्ल्याङ भन्न मिल्ने युवाहरू बताउँछन् । विशेषगरी स्ल्याङ भनेको युवाले ‘कोड ल्याङ्वेज’, आफ्नो छुट्टै परिचय र एक्सप्रेसनका रूपमा सिर्जना गर्ने केही विशेष शब्दहरू हुन् जुन आम–बोलीचालीमा उतिसाह्रो सुनिँदैन । युवापुस्ताको समूह र सामाजिक सञ्जालको च्याट बक्समा यस्ता शब्दले निकै स्थान पाएको देख्न सकिन्छ ।

स्ल्याङको प्रयोग पश्चिमा मुलुकबाट भित्रिए । जसमध्ये केही उनीहरूकै भाषामा केही हाम्रो भाषामा तर बोलीमा केही भिन्नता भने यसले अवश्य नै दिएको छ । नेपालको परिप्रेक्ष्यमा नाटक तथा चलचित्रका पात्रहरूले आफूलाई चिनाउन बोल्ने केही शब्द जुन थेगोका रूपमा पहिलेदेखि नै सुनिन्थ्यो । त्यसकै सिको गरेर आमसर्वसाधारणले बोलीचालीमा मिसाउन थालियो । यस्ता शब्दलाई स्ल्याङ नै भन्नुभन्दा पनि आफ्नो उमेर समूहसँग प्रयोग गर्ने शब्दहरूलाई भन्दा उचित हुने युवाहरूकै बुझाइ छ । यस्ता आफ्नो समूहभित्र बोलिएका कुरा बाहिरको व्यक्तिले हत्तपत्ति बुझ्न नसकोस् भनेर प्रयोग गरिने काठमाडौं बौद्धका युवा निश्चल ज्ञवाली बताउँछन् । 

उसो त उनको मुखबाट बारम्बार निस्किरहने शब्द हो– ल ब्रो र फेलिसिया । साथीबीच बोल्दा होस् या च्याट गर्दा उनको मुखबाट यी शब्द अनायसै निस्कन्छन् । “साथीहरूबीच हसिमजाक हुँदा, जिस्काउँदा ल ब्रो नै पहिले भन्छु,” ज्ञवालीले बाह्रखरीसँगको कुराकानीमा सुनाए, “कहिले काम बिग्रियो वा तनाव भयो भने पनि केटा होस् या केटी उही शब्द दोहोर्याउने बानी नै परिसक्यो भन्या ।”

यस्ता स्ल्याङ वर्ड उनले प्रयोग गर्न लागेको भने धेरै भएको रहेन छ । “सायद अफिस जान थालेदेखि होला । किनभने अफिसमा आफूभन्दा सानो होस् या ठूलो ब्रो भनेर बोलाइन्छ त्यही भएर होला,” उनले बताए, “अहिले त बानी नै परिसक्यो, थेगो जस्तै लाग्न थाल्यो ।” 

ज्ञवालीका अनुसार यो औपचारिक भाषाभन्दा अझै शक्तिशाली र एक्सप्रेसिभ हुन्छ । “जस्तै यी शब्दहरू उच्चारणसँगै अनुहारको हाउभाउ पनि त्यहीअनुसारको हुन्छ,” उनले भने । त्यसैले युवापुस्तामा स्ल्याङ बढी लोकप्रिय भएको उनको बुझाइ छ । 

त्यस्तै ठमेलका प्रजल श्रेष्ठ पनि ह्या तोरी, छिम्म...बुजस्ता शब्द प्रयोग गरिरहन्छन् । नेवार भएकैले पनि उनले नेवारी स्ल्याङ बढी प्रयोग गर्ने सुनाए ।

उता भक्तपुरका मञ्जितप्रसाद हाडाले प्रायः ‘ह्या मूला’ भनिरहन्छन् । उनका अनुसार साथीहरूले सोधेका केही कुराहरू टार्न पनि यही शब्द सहज लाग्छ । “साथीहरूको केही कुराको जवाफ दिइराख्न मन लागेन भने भन्दिनँ भन्नुभन्दा पनि एक्सप्रेसनसहितको यो शब्दले उनीहरूले बुझिहाल्छन् मलाई त्यसको जवाफ दिन मन छैन भनेर,” हाडा भन्छन् ।

युवा मात्रै होइन युवतीहरूको स्ल्याङ (शब्द) हरू पनि निकै छ । भैंसेपाटिकी नेसी बस्नेतको ‘ल्याङ नगर’ निकै प्रिय स्ल्याङ बनेको छ । कसैले किचकिच गर्यो भने उनको मुखबाट ‘ल्याङ नगर’ फ्याट्टै निस्किहाल्छ । “यो शब्द छोटो र इफेक्टिभ लाग्छ,” उनले सुनाइन् ।

यता चुलबुले सविना सुवेदीले छ्या निकै भन्छिन् । कुनै काम गर्नु पर्यो कि छ्या, केही चित्त नबुझे छ्या, जसो गर्दा पनि उनले बारम्बार छ्या भनिरहन्छिन् । केही साथीहरूले त उनलाई छ्या नै भनेर सम्बोधन गर्ने उनी सुनाउँछिन् । भन्छिन्, “मलाई थाहा हुन्छ, तैपनि भन्दिन्छु छ्या ।” यो औपचारिक ‘नराम्रो’ बाट परिस्कृत हुँदै बनेको नेपाली शब्द हो । तर सविनाजस्तै युवतीहरू यसलाई नराम्रो कुरालाई इङ्गित गर्न मात्रै नभई रिस, आलश्यता, डर र त कहीं–कतै डाहा वा भनौं इर्ष्या पोख्न पनि यो शब्द प्रयोग गर्छन् । उनका अनुसार निराशा अनि मनको भावना पोख्न सजिलो र छोटो शब्द हुने भएकाले ‘छ्या’ स्ल्याङ सजिलो र प्यारो बनेको छ ।

अझ केहीले त अरूले नबुझ्ने गरी ‘कोड’ मै शब्दजाल बनाउँछन् । किशोर–किशारी यस्ता स्ल्याङको प्रयोग गरी आफूलाई ‘कुल’ देखाउन चाहन्छन् । भर्खरै किशोरावस्थामा प्रवेश गरेका उनीहरू आफूहरू आमा–बुबाभन्दा अर्थात् अघिल्लो पुस्ताभन्दा अलग छौं भनेर देखाउन पनि प्रयोग गर्ने गरेको उनीहरू बताउँछन् । 

तर स्ल्याङ लामो समय टिक्दैन । समयअनुसार परिवर्तन भइरहने उनीहरूको बुझाइ छ । सामाजिक सञ्जाल र नयाँ प्रविधिको प्रयोगसँगै यी शब्दहरू विस्तारै बिर्सदै जाने सविनाले सुनाइन् ।  यसैगरी आफूले प्रयोग गरेको ‘कोड’ अरूले बुझे पनि यस्ता स्ल्याङहरूको प्रयोग नहुने गरेको पाइन्छ । जसका कारण ती शब्दका विकल्पमा युवापुस्ताले नयाँ शब्द खोज्ने र बनाउने गर्छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत २, २०७६  १२:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro