काठमाडौं । राजधानी उपत्यका संस्कृति, कलाकौशल र सम्पदाले समृद्ध छ । यहाँ हरेक पाइलामा मन्दिर, ऐतिहासिक सम्पदा अनि पौराणिक कथा देख्न र सुन्न पाइन्छ ।
चाबहिल क्षेत्र पनि भगवान गणेशका विभिन्न रूपका मन्दिरले भरिएको क्षेत्र मानिन्छ । चाबहिलकी चित्रकार/कलाकार शिवानी राणा तिमिल्सिनाले सधैं देखिरहेका गणेश, नन्दी, हनुमान, शिव, राधाकृष्ण, चिपुलगायतलाई आफ्नो क्यानभासमा उतारेकी छन् । उनले आफ्ना चित्रमा धार्मिक र पौराणिक कथालाई पनि उत्तिकै महत्त्व दिन्छिन् ।
“म हरेक प्रातः भ्रमण (मर्निङ वाक) मा निस्कँदा मन्दिरभित्र तथा मन्दिरका तोरणहरूमा गणेशका विभिन्न रूप देख्छु । सधैं देखिरहने यी गणेशका विभिन्न अवतारलाई क्यानभासमा उतारें,” उनले भनिन् ।
बबरमहलस्थित आर्ट काउन्सिलमा जारी शिवानीको सातौं एकल चित्रकला प्रदर्शनी उनका कला देख्न सकिन्छ । ‘ए क्रियटिभ ओडिसी’ अर्थात् ‘एक रचनात्मक यात्रा’ मा उनका यी चित्रहरू देख्न सकिन्छ । उनले चित्रमार्फत् धार्मिक र पौराणिक कथामार्फत सन्देश दिन खोजेकी छिन् ।
प्रदर्शनीमा भगवान गणेशका सिरिज, नन्दी, कृष्ण, चिपु सिरिज, पोट्रेट सिरिज, सेल सिरिजलगायत शीर्षकमा ६३ चित्र राखिएका छन् । पुराना मठ–मन्दिरलगायत घरहरूमा जाँदा त्यसको प्रवेशद्वारमै चिपुको आकृति देख्न पाउने उनी सुनाउँछिन् । चिपुलाई सुरक्षाको प्रतीकका रूपमा लिइन्छ । चिपु, गरुड र हितीमाया दाजुभाइहरू हुन् । ३ दाजुभाइमध्ये चिपुको बहादुरी, सत्यता र उच्च गुणको कदर गर्दै मन्दिरको प्रवेशद्वारको माथि राख्ने चलन छ ।
“म मर्निङ वाक जाँदा २०७२ को भूकम्पले जय बागेश्वरीलगायत थुपै मन्दिर भत्किएको देखें । जसमा मेरो आँखा मन्दिरको प्रवेशद्वारको माथि रहेका चिपुहरूमा गयो,” चिपुलाई क्यानभासमा उर्तानुको कारण प्रस्ट्याउँदै शिवानीले भनिन्, “अनि मैले यसलाई क्यानभासमा उतारेर संरक्षणको सानो प्रयास थालेकी हुँ । जसलाई अभिलेखका रूपमा पनि राख्न सकिनेछ ।”
भगवान शिवको द्वारमा धैर्यले बस्ने नन्दीलाई पनि उनले क्यानभासमा उतारेकी छन् । उसो त नन्दी धैर्य र विश्वासको प्रतीक मानिन्छ । उनी भन्छिन्, “जसरी नन्दीले भगवान् शिवलाई धैर्यसँग साथ दिन्छ त्यसैगरी मानिसमा पनि त्यो धैर्यले प्रशय पाओस् भन्ने सन्देश दिने प्रयास गरेकी हुँ ।”
यसैगरी रामभक्त हनुमानको तस्बिरमा शिवानीले भक्तिभावना दर्शाउने प्रयास गरेकी छन् । शिवानीका अनुसार भगवानको प्रतिमूर्ति कोरेर मानिसमा पनि त्यस्तै श्रद्धा, धैर्य, भक्ति तथा सकारात्मक सोच प्रस्तुत गर्न खोजिएको हो ।
प्राकृतिक तथा जनावरका चित्रहरू पनि प्रदर्शनीमा राखिएको छ । यसअघि उनले यस्तै प्रकृतिका केही तस्बिर भारतस्थित हरिद्वार आश्रमको निःशुल्क सेवा दिने अस्पताललाई उपहारसमेत दिइसकेकी छन् ।
उनको पोट्रेट सिरिजमा व्यक्ति र कुकुरलाई उतारेर बनाइएका कला पनि प्रदर्शनीमा देख्न सकिन्छ । उनले बनाएका पोट्रेटमा आँखा निकै सुन्दर रूपमा उतारिएका छन् । हुन पनि उनले पोट्रेट बनाउँदै आँखामा विशेष ध्यान दिन्छन् । “मान्छेको आँखैबाट सबै थाहा पाउन सकिन्छ । आँखाबाटै उसको चञ्चलपन, दयालु अनि चरित्र थाहा हुन्छ,” उनी सुनाउँछिन्, “त्यही भएरै पोट्रेटमा पनि आँखामा विशेष ध्यान दिन्छु ।”
यसअघि उनले गरेको छैटौं एकल चित्रकला प्रदर्शनीमा रामायणको सिरिज बनाएकी थिइन् । सन् २०१६ मा गरिएको प्रदर्शनीमा उनले भूकम्पमा आत्तिएको मानिसको मनलाई धार्मिक पक्षबाट सान्त्वना दिने उद्देश्यले यो सिरिजमा काम गरेको शिवानी बताउँछिन् । चित्रमा उनले सिसाकलम, मसी, तेल, चारकोल, प्रिज्मा र पोलिक्रोमस, कलर पेन्सिलको प्रयोग गर्छिन् ।
तस्बिरहरु : हरिशजंग क्षेत्री/बाह्रखरी