सुर्खेत (वीरेन्द्रनगर) । गरिबी, पछोटेको मात्रै विम्ब सहँदै आएको कर्णालीमा पछिल्लो समय विकासको बहस हुन थालेको छ । बुलबुल तालको किनारमा तीन दिने जारी कर्णाली महोत्सवमा पनि आर्थिक, सामाजिक विषयमा गरमागरम बहस भइरहेको छ ।
महोत्सवको दोस्रो दिन विश्लेषक हरि शर्माले समाजका विकासका लागि प्रश्न अपरिहार्य रहेको औंल्याए ।
“विज्ञान, दर्शन र आफू हुनुको महत्त्व दर्शाउन पनि प्रश्न गर्नुपर्ने हुन्छ ? प्रश्न गरेन भने सत्तामा बस्ने निरङ्कुश हुन्छ,” प्रश्न किन गर्ने ? शीर्षकको बहसमा आफ्नो मत राख्दै शर्माले भने, “समाज विकासको गर्भमा प्रश्न हुन्छ । प्रश्न गर्न नसक्ने समाज विकासको गतिमा क्रमशः पछि पर्दै जान्छ ।”
उनले राजनीतिकर्मीहरू सत्तामा पुग्नेबित्तिकै पाषाण (ढुङ्गो)जस्तो हुने गरेको बताउँदै प्रश्न–उत्तरबीच पारस्परिक सम्बन्ध हुनुपर्ने र त्यसले शासकहरूलाई जवाफदेही बनाउने धारणा राखे ।
सशस्त्र द्वन्द्वकालमा कर्णालीलाई नै आधार बनाएर पत्रकारिता गरेका दिलभूषण पाठकले ‘प्रश्न नै नगरेका कारण कर्णाली पछि परेको हो त ?’ भन्ने जिज्ञासा तेर्स्याए ।
पाठकको जिज्ञासा मेटाउँदै पत्रकार शिव गाउँलेले समाज र शासक–प्रशासकबीच संवादहिनताको अवस्था हुन नहुने बताए । “जहाँ संवाद हुँदैन त्यहाँ प्रश्नको गुञ्जायस रहँदैन,” उनी आफ्नो तर्कमा उभिए ।
लोकतन्त्रको आधारभूत तत्व प्रश्न भए पनि अहिलेका शासक प्रश्न सुन्नै नचाहने हुँदै गएको बताए । उनले प्रश्न गर्न सजिलो पनि नभएको दृष्टान्त पस्किए ।
“लोकतन्त्रका कुरा गरे पनि शासकहरूलाई प्रश्न गर्न सजिलो छैन । सार्वजनिक सवालका प्रश्न उठाए पनि शक्ति र सत्तामा बस्नेहरूले त्यसलाई गाली ठानिदिन्छन्,” उनले प्रश्न गर्दाका असहजता औंल्याए ।
जवाफदेही बनाउन प्रश्न गर्दा शासकहरूले त्यसलाई आलोचना या भत्र्सनाका रूपमा बुझ्दा प्रश्नहरू क्षीण– कमजोर बन्दै गएको उनले विवेचना गरे ।
“प्रश्न गर्नुपूर्व तथ्यहरू जुटाउनुपर्छ । प्रश्नकर्ताहरूको पहुँच सूचनामा हुनुपर्छ । अहिले सूचनाको हक कार्यान्वयनमा आए पनि, सूचना अधिकारीहरू तोकिए पनि पत्रकारहरूको पहुँच सूचनामा छैन । सूचना प्राप्त गर्न त के, निवेदन गर्न सम्म पनि नसक्ने अवस्था छ,” उनले प्रश्न गर्दाका जटिलता प्रकाश परे ।
लेखक सरिता तिवारीले भने प्रश्न सोध्न संरचनागत जटिलता रहेको औंल्याइन् । पुरुषको तुलनमा महिलालाई प्रश्न गर्न झन् जटिल रहेको उनको तर्क थियो ।
“महिलाहरू घर, परिवारमै प्रश्न सोध्न बर्जित छन् । ठ्याक्कै त्यही अवस्था राजनीतिमा छ । शासन प्रणालीमा छ,” आफ्नो तर्कमा उभिँदै उनले भनिन्, “आफूलाई प्राप्त सहुलित बाँडफाँट गर्नुपर्छ भनेर शासकहरू प्रश्नबाट तर्किइरहेका छन् ।”
प्रश्नले नयाँ विचार सिर्जना गर्ने हुँदाहुँदै पनि शासकहरू जवाफदेही नहुँदा कुण्ठामा परिणत भएको र त्यसले राजनीतिप्रति वितृष्णा बढाउँदै लगेको अधिकांशको मत थियो ।
पहिलो पटक आयोजना भएको महोत्सवमा ‘कर्णालीका बेला’, ‘कर्णाली कोट्याउँ’ र ‘माण्ठ जुर्मुराउँदा छन’् विषयमा केन्द्रित रहेर बहस जारी छ । महोत्सवमा २० विभिन्न विषयमा छलफल–विमर्श केन्द्रित छ ।
बुधबारको सत्रमा ‘कहरी बनला कर्णाली’, कर्णालीको ११ औं जिल्ला’, ‘कृषि, पर्यटन र पानी, पूर्वाधारमा लगानी’, ‘काला पहाडका तोडा’ आदि विषयमाथि छलफल हुनेछ ।