चितवन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपाभित्र विवाद हुन सामान्य कुरा भएको बताएका छन् । नेपाल प्रेस संगठन चितवनले भरतपुर विमानास्थलमा आज गरेको पत्रकार सम्मलेनमा उनले विवाद हुनु ठूलो विषय नभएको बताएका हुन् ।
वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने सचिवालयको विषयमा छलफल मात्र भएको भन्दै विवाद नभएको दाबी गरे । “पार्टीभित्र केही न केही बहस र विवाद त भइराख्छ जबसम्म पार्टी रहिरहन्छ,” उनले भने । सचिवालयमा बसेको बैठकले सर्वसम्मत निर्णय भएको र आखिरमा यो समस्या हल हुने उनले बताए ।
राष्ट्रिय सभाको एउटा सिट खाली भएको भन्दै उनले वामदेव नै जाने जिकिर गरे । “सर्वसम्मत गरेको निर्णयले उहांँ (प्रधानमन्त्री केपी ओली) ले अवज्ञा गर्नुहुन्न भन्ने मलाई विश्वास छ । उहांँले सिफारिस गर्नुहुन्छ,” उनले भने, “अब गर्नुहुन्न भन्ने विषयमा म जानै चाहन्नँ ।” वामदेवलाई प्रधानमन्त्री बनाउने विषयमा उनले प्रधानमन्त्री बनाउने भन्ने विषय प्रधानमन्त्री्को हातमा रहेको भन्दै राष्ट्रियसभामा भन्ने वामदेव पक्का जाने बताए । सचिवालयका सदस्यहरू मध्ये वामदेव मात्रै संघीय सदस्य नभएको भन्दै उनले वामदेव हाल राष्ट्रियसभामा जान तयार रहेको लैजाने निर्णय गरिएको बताए । “यसअघि वामदेवजी तयार हुनुभएन अहिले तयार हुनु भो लैजाने भइयो । कुरा सीधै छ ।”