काठमाडौं । क्षमता भएर पनि रोजगार नपाएका बेरोजगारहरूका लागि सृजना सूत्रले रचनात्मक क्षेत्रमा रोजगारी खोजिदिने भएको छ ।
स्क्रिप्ट लेखक सम्पदा मल्ल र म्युजिक भिडियो निर्देशक सुबास प्रधानले संयुक्त रूपमा यस संस्थाको स्थापना गरेका हुन् । संस्थापक मल्लका अनुसार अरु काममा जस्तै सृजनात्मक क्षेत्रमा पनि अवसर र रोजगारी पाइन्छ र यस क्षेत्रमा भविष्य बनाउन चाहने व्यक्तिहरूलाई सजिलै रोजगारी प्रदान गर्ने माध्यम सृजना सूत्र बन्न खोजेको बताइन् ।
“हामीले अरु क्षेत्रमा रोजगारी खुलेको मेरो जब डटकम आदि यस्ता थुपै रोजगार एपहरूबाट थाहा पाउँछौं । तर सृजनात्मक क्षेत्र जस्तै चलचित्र, एनिमेसन, विज्ञापन लगायत यस्ता क्षेत्रमा भविष्य बनाउन इच्छुक व्यक्तिहरू भने भौंतारिरहेका हुन्छन् । ती व्यक्तिहरूलाई उनीहरूको इच्छुक पेसामा रोजगारी खोजिदिनकै लागि हामीले सृजना सूत्र खोलेका हौँ ।”
मल्ल स्वयम्ले पनि मुम्बाईमा फिल्म पढेर कामका लागि आफैँ भौतारिनु परेको दिन सम्झिँदै नेपालका युवा र अरु यस क्षेत्रमा आउन चाहनेहरू अब त्यसरी भौंतारिनु नपरोस् भनेर यो कन्सेप्ट ल्याएको पनि बताइन् ।
आज कालिकास्थानस्थित सर्वनाम थिएटरमा चलचित्र निर्देशक विनोद पौडेल, दीपाश्री निरौला, एनिमेटर किरण भक्त जोशी र पठाओका क्षेत्रीय निर्देशक असिममान सिंह बस्नेत यी भिन्न–भिन्न तर सृनात्मक क्षेत्रका प्रतिनिधिहरू र आम दर्शकहरूबीच अन्तरक्रिया कार्यक्रमको आयोजना गरी सृजना सूत्रले औपचारिक रुपमा आफ्नो संस्थाको सुरुवात गरेको हो ।
जसमा वक्ताहरूले यस क्षेत्रको आफ्नो अनुभव, संघर्षका दिनहरू सेयर गरेका थिए । भने लगन, मिहिनेत र धैर्यता भएकाहरूका लागि यस क्षेत्रमा पनि राम्रो अवसर भएको जानकारी दिए ।
अन्तरक्रियामा उपस्थित निर्देशक विनोद पौडेलले भारत लगायत विश्वका धेरै देशमा यस्ता खालका जब एजेन्सी रहेका भन्दै नेपालमा पनि यस्तो संस्था सञ्चालन हुनु राम्रो भएको बताए । क्षमता भएर पनि काम नपाइरहेका व्यक्ति र रोजगारदाताबीच सृजना सूत्रले पुलको काम गर्ने उनको भनाइ छ ।
त्यस्तै हलिउडका चलचित्रहरूमा आफ्नो क्षमता प्रस्तुत गरेर नेपालमा फर्किएका किरण भक्त जोशीले नेपालमा दक्ष जनशक्तिको अभाव रहेको अनुभव सुनाए । उनी अहिले नेपालमै बसेर हलिउडका प्रोजेकटहरूको एनिमेसन पाटो हेरिरहेका छन् । जसमा उनले नेपाली दक्ष जनशक्तिलाई रोजगारी पनि प्रदान गरिरहेका छन् । तर यतिले नपुग्ने गरेको उनले बताए ।
“हलिउडमा उच्च गुणस्तर र समयको एकदमै ठूलो महत्त्व हुने गर्दछ । तर नेपालमा अझै पनि त्यो कुराको विकास हुन बाँकी छ भने त्यो लेबलको दक्ष जनशक्तिको पनि अभाव छ । जसका कारण मैले आफ्नो कति कामहरू भारतका झन्डै ३०, ४० जनालाई दिनुपरिरहेको छ” उनले अभाव सुनाए ।
सँगै उनले सृजना सूत्रको योजना असाध्यै राम्रो भएको पनि बताए ।
सृजना सूत्र आजबाट औपचारिक रुपमा अघि बढे पनि यसले आज सम्ममा ३० जनालाई रोजगारी दिइसकेको मल्लले बताइन् । हामीले नेपालको अंग्रेजी दैनिक रिपब्लिका, कार्यक्रम ह्वाट द फ्ल्प र भारतीय गायिका नेहा कक्करको म्युजिक भिडियो लगायत थुपै म्युजिक भिडियोहरूमा ३० जना जतिलाई काम मिलाइदिइसकेका छौं ।”
दिपाश्री निरौलाले आफूले यस क्षेत्रमा आँउदा कता जाने के गर्ने भन्ने बाटो देखाउने व्यक्तिहरू र संस्थाहरू नभएको भन्दै अहिलेको पिंढीलाई सृजना सूत्र लगायत सामाजिक सञ्जाल जस्ता थुपै बाटो देखाइदिने व्यक्ति र संस्था भएकाले निकै सजिलो भएको बताइन् ।
हरेक पेसामा सृजनात्मक पाटोको आवश्यकता हुने भएकाले सृजनात्मक क्षेत्र भनेको चलचित्र मात्र नभई कर्पोरेटिभ क्षेत्रहरू पनि भएको मल्ले बताइन् ।
यस क्षेत्रमा लागेका कति युवाहरूपनि यस क्षेत्रमा पैसा र करियर छैन भन्दै निराश भइरहेकाहरूका लागि आजको अन्तरक्रिया कार्यक्रमले मद्दत गर्ने विश्वास राखेकी छन् ।
सृजना सूत्रले रोजगारी खोजिदिने काम मात्रै नभई प्रत्येक महिना यस्तै विभिन्न क्षेत्रका व्यक्तित्वहरूलाई बोलाएर प्रत्यक्ष अन्तरक्रिया कार्यक्रमको आयोजना गरिरहने पनि जानकारी दिइयो ।