
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चीरञ्जीवी नेपालले पुँजी वृद्धि र मर्जर नीतिले वित्तीय क्षेत्रलाई बलियो बनाएको बताएका छन् । पुँजी वृद्धि र मर्जर नीति अख्तियार गर्दा आफूले धेरै चुनौतीको सामना गरेको भन्दै उनले त्यही नीतिले वित्तीय क्षेत्रमा स्थायित्व कायम गरेको पनि बताए ।
बैंक अफ काठमाडूको २५ औं वार्षिकोत्सवको अवसर पारेर बैंकले बुधबार गरेको कार्यक्रममा उनले बैंक अफ काठमाडू र लुम्बिनी बैंक मर्जर भएपछि थप बलियो बनेको बताए ।
मर्जले बैंकको नाफा पनि बढाएको उनले बताए । आफू गभर्नर भएर राष्ट्र बैंक जाँदा १६ वटा बैंक तथा वित्तीय संस्था समस्याग्रस्त रहेको र हाल तीमध्ये १४ वटा संस्था सञ्चालनमा आएको र बलियो पनि भएको बताए । उनले बैंकिङ्ग क्षेत्रको चुतौती साइबर आक्रमण रहेको बताए ।
बैंक अफ काठमाडूका प्रमुख कार्यकारी अधिकृत शोधनदेव पन्तले गभर्नरको मर्जर नीतिको खुलेर स्वागत गरे । उनले मर्जर नीतिले बैंकको नाफा मात्र बढेको नभई कर्मचारीहरूको कार्यकुशलतामा पनि उच्च वृद्धि आएको बताए ।
उनले भने, “मर्जर अगाडिको र पछाडि कर्मचारीको कार्यकुशलतामा ८८.५२ प्रतिशत वृद्धि आएको छ ।” उनले मर्जर अगाडि प्रति कर्मचारी उत्पादकत्व १२ लाख ९७ हजार रहेकोमा मर्जर पछाडि प्रति कर्मचारी उत्पादकत्व बढेर २४ लाख ४५ हजार पुगेको बताए ।