प्रधानमन्त्री केपी शर्मा ओली एक्काइसौं शताब्दीका सबैभन्दा शक्तिशाली प्रधानमन्त्री हुन् । उनको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एक्लैले संसद्मा सहज बहुमत हासिल गरेको छ । साझेदार दलसँग मिल्दा उनको सरकार सहजै संविधान परिवर्तन गर्नसक्ने र संवैधानिक अंगका प्रमुखलाई पदबाट ओराल्नसक्ने दुई तिहाइ बहुमत नजिक छ । तर, उनलाई सधैँ कुनै डरले पछ्याइरहेको देखिन्छ । विगतमा साझेदारी गरेर झिनो बहुमत प्राप्त प्रधानमन्त्रीहरू जसरी आफ्नोविरुद्ध षड्यन्त्र भएको देख्थे, आज दुई वर्ष प्रधानमन्त्री चलाइसकेका ओली पनि त्यस्तै षड्यन्त्र देख्नथालेका छन् ।
जसरी गिरिजाप्रसाद कोइराला राजनीतिकरुपमा चिन्ता वा देशमा कुनै समस्या भएको समयमा गृह नगर विराटनगर पुगेर कुनै ठूलो घोषणा गर्थे प्रधानमन्त्री ओलीले पनि सोही सिको गरे झैँ देखिन्छ । झापाको दमक पुगेका प्रधानमन्त्री ओलीले आइतवार कोइरालाले जस्तै मनको पीडा आफ्ना गृहनगरवासीसँग पोखेका छन् । उनले भने – ‘बहुमतको सरकार भए पनि देश विकास भएको देख्न नचाहने शक्तिहरू सरकारलाई रोक्न, ढाल्न र बदनाम गराउन लागिपरेका छन् ।’ उनको भनाइअनुसार देशको विकास भएको देख्न नचाहने शक्तिहरूले उनलाई पदच्युत गर्ने षड्यन्त्र गरिरहेका छन् ।
देशको विकास देख्न नसक्ने भनेर प्रधानमन्त्रीले कता संकेत गरेका हुन् ? यो प्रश्नको उत्तर सहज छैन । उनलाई प्रतिपक्षी नेपाली कांग्रेसबाट कुनै प्रकारको भय देखिँदैन । किनभने नेपाली कांग्रेसले सरकारले गरेको कामको सशक्त ढंगले विरोध गर्न सकेको छैन । न त अहिले सरकारविरुद्ध कुनै आन्दोलन नै गरिरहेको छ । नेपाली कांग्रेसले आफ्ना उपसभापतिविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चलाएको मुद्दाका कारण संसद्मा गरेको अवरोध पनि रोकिसकेको छ । अन्य विपक्षी दलको राजनीतिक अस्तित्व निकै कमजोर छ । विप्लव माओवादीको शक्ति पनि अहिले क्षीण भएको छ । यस्तो अवस्थामा ओली सरकारलाई विस्थापन गर्नसक्ने शक्ति कुन हुनसक्छ ?
पहिलो संविधान सभाको अवसानका समयमा प्रधानमन्त्रीको पदमा रहेका डा. बाबुराम भट्टराईले देश चलाउने साँचो अन्तै रहेको भन्दै विदेशी शक्तिलाई संकेत गरेका थिए । प्रधानमन्त्री ओलीले पनि विकास विरोधी शक्ति भनेर दक्षिण तिरै संकेत गरेका हुन् त ?
नेपालमा आफूले चाहेअनुसार सरकार बनाउन नसकेकोमा भारतीय संस्थापन अवश्य पनि खुसी छैन । तर, भारतका कूटनीतिज्ञले स्पष्ट ढंगले के बुझेका छन् भने यस सरकारको विरोधमा भारत जति कठोर हुन्छ नेपाली जनता उति नै सरकारको समर्थनमा एकमत हुन्छन् । विसं २०७२ सालमा भारतले लगाएको नाकाबन्दीको कारणले अहिले नेपाल उत्तरी छिमेकी चीनको अत्यन्त नजिक पुग्न गएको भारतीय सुरक्षा र जासुुसी संयन्त्रलाई अवश्य चित्त बुझेको छैन । तर, नेपाललाई आफ्नो पक्षमा ल्याउन शक्तिको प्रयोग उपयुक्त हुँदैन भन्ने भारतले बुझेको छ । तेलको पाइप लाइन ल्याउन होस् वा रोकिएका कतिपय विकास निर्माणका काम सुरु गराएर अहिले भारत नेपालसँग नजिक हुन खोजेको देखिन्छ ।
त्यसोभए प्रधानमन्त्रीको डर कोसँग हो ?
सबै स्थितिको आकलन गर्दा प्रधानमन्त्रीलाई आन्तरिकरुपमै अविश्वास बढेको देखिन्छ । जनताको मन जित्न विकास विरोधी शक्ति भनेता पनि उनले आफ्नै नेकपाभित्रको विरोधी पक्षलाई संकेत गर्न खोजेको देखिन्छ । दलभित्रको विरोधी शक्ति भन्नाले अहिलेसम्म कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मात्रै भन्ने बुझिन्थ्यो भने हालैका घटनाले भने उनकै दलभित्र उनका विरोधीको संख्या बढाएको देखिएको छ ।
दलभित्र प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको पकड कमजोर भएको प्रमाण हो नौ सदस्यीय सचिवालयमा उनको पक्षमा निर्णय नहुनु । प्रतिनिधि सभाका पूर्वसभामुख कृष्णबहादुर महराको स्थानमा पूर्वमाओवादी अग्नि सापकोटालाई नै चयन गर्न बाध्य हुनुले सचिवालयमा उनको पकड कमजोर भएको पुष्टि गरेको छ ।
सचिवालयमा मात्र होइन ४ सय ४१ सदस्यीय केन्द्रीय समितिमा समेत ओली सरकारका विपक्षमा सशक्त आवाज सुनियो । एजेन्डामा नै नपरेको अमेरिकासँगको एमसीसी सम्झौताको विरोधमा समेत केन्द्रीय सदस्यबाट चर्को विरोध भयो । यसै कारणले झलनाथ खनालको नेतृत्वमा एमसीसी अध्ययन समिति बनाउनु पर्यो र सो समितिले १० दिनको कार्यकाल समाप्त गरेपछि अर्को १० दिन थप समय पाएको छ ।
प्रधानमन्त्री ओलीले एमसीसीको विरोध गर्ने समूहलाई विकास विरोधी भनेका हुनसक्छन् । नेपालको वर्तमान परिस्थितिमा एमसीसीका विरोधीहरूले जस्ता प्रकारका गलत तर्क दिइरहेका छन् त्यसको आधारमा तिनलाई विकास विरोधी भन्न सकिन्छ । अहिले एमसीसीको विरोधमा माधव नेपाल समूह पनि लागेको कारणले प्रधानमन्त्री ओलीका मनमा चिसो पसेको हुनसक्छ । माधव नेपालसहितको समूह दाहालका पक्षमा लाग्यो भने ओलीको पद धरापमा पर्नसक्ने जोखिम बलियो हुन्छ । त्यसैले यही समूहलाई प्रधानमन्त्री ओलीले विकास विरोधी भनेको हुनुपर्छ ।
प्रधानमन्त्री ओलीले आन्तरिक राजनीतिक असन्तोषलाई व्यवस्थापन गर्न नसक्दा त्यस समूहले आफ्नो रोष प्रकट गर्न एमसीसीलाई बहाना बनाएको हुनसक्ने विषयमा ध्यान नदिएको स्पष्ट देखिन्छ । पूर्वप्रधानमन्त्री माधव नेपालविना कुनै विशेष कारण एमसीसीको विरोधमा किन गए भन्ने विषयमा ओली पक्षले विश्लेषण गरेको देखिएन । नेपाललाई भारत निकटका नेता भनेर चिनिएको अवस्थामा उनले एमसीसीलाई विरोध गरेको बहानामा ओलीलाई कुनै सन्देश दिन खोजेको अर्थ लगाउनुपर्छ ।
माधव नेपालको कुनै सन्देश छ भने त्यो प्रष्ट छ – ओलीको अनुपस्थितिमा शक्तिको बाँडफाँटमा उनको भूमिका कस्तो हुन्छ ? चाँडै नै मिर्गौला फेर्न विदेश प्रस्थान गर्न लागेका ओलीले माधव नेपाल पक्षलाई व्यवस्थापन गर्न सकेनन् भने उनी फर्कने बेलासम्म उनको पदले उनलाई नपर्खने वातावरण बनाउन माधव नेपाल सक्षम छन् कि छैनन् भन्ने विषयमा ओली समूहले पक्कै पनि कुनै अनुमान गरेको होला । माधव नेपाल आफैँ ओलीलाई विस्थापन गर्ने अवस्थामा नभए पनि दाहालको सहयोगमा त्यसो गर्न सक्षम देखिएका छन् । यही अनुमानका आधारमा प्रधानमन्त्री ओली डराएका र आफ्नो शक्ति मजबुत गर्न उनले गृहनगरमा गएर मनका कुरा बोलेका र खोलेका हुनसक्छन् ।