काठमाडौं । “कमरेड जनयुद्ध दिवसको शुभकामना छ, टीका लगाइदिऊँ ?”
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य प्रदीप ज्ञवालीले इन्कार गर्न सकेनन् । अनुहार बिगार्दै निधार थापे । कालीबहादुर मल्लले अविरको ठाडो टीका लगाइदिए र शुभकामना दिए ।
ज्ञवालीको अनुहारको भावभङ्गिमा हेर्दा उनलाई टीका थाप्न खुब सकस परेको भान हुन्थ्यो ।
बिहीबार तत्कालीन नेकपा (माओवादी) ले सुरु गरेको जनयुद्धको २५ औं वर्षगाँठ हो । फागुन १ कै सन्दर्भ पारेर नेकपाले जनआन्दोलन तथा जनयुद्धका सहिदहरूको सम्झनामा श्रद्धाञ्जलि कार्यक्रम राखेको थियो । त्यही कार्यक्रममा देखिएको फरकखाले दृष्य हो, यो ।
ज्ञवालीलाई मात्र होइन पूर्वएमालेका अधिकांश नेता–कार्यकर्तामा जनयुद्ध दिवसको टीका थाप्ने कि नथाप्ने द्विविधाग्रस्त मनोदशा देखिन्थ्यो । टीका लगाउने पूर्वएमालेका कार्यकर्तालाई पनि पुछ्नै हतारो परिरहेको देखिन्थ्यो ।
“सामान्यतः रातो टीका विजयको बिम्ब र क्रान्तिको प्रतीक हो । तर माओवादीको नेतृत्वको सञ्चालित १० वर्षे जनयुद्धले जितेको होइन, सम्झौतामा टुङ्गिगएको हो, हामीले केको खुसीमा टीका थाप्नु,” पार्टी मुख्यालयमा भेटिएका पूर्वएमालेका एकजना कार्यकर्ताले बाह्रखरीसँग कुरा गर्दै भने ।
पार्टीले जनयुद्धको सम्झनामा श्रद्धाञ्जलि सभा गर्ने सूचना पाएका नेकपा नेता–कार्यकर्ता बिहान ९ नबज्दै पार्टी मुख्यालय धुम्बाराही पुगेका थिए । कतिपयले घरबाटै रातो टीका लगाएर पार्टी कार्यालय पुगेका थिए । कतिपयले पार्टी मुख्यालय पुगेपछि टीका लगाए । जनयुद्धको वर्षगाँठमा रमाए ।
टीका लगाउनेमा अधिकांश पूर्वमाओवादी केन्द्र समूहका नेता कार्यकर्ता देखिन्थे ।
पूर्वमाओवादी केन्द्रका नेता श्रीकृष्ण अधिकारी र कालीबहादुर मल्लले ढोकैमा बसेर टीका लगाइदिएकाले पूर्वएमालेका नेताहरू छुटेनन् । तर, कार्यकर्ताहरूचाहिँ तर्कीतर्की हिँड्थे ।
पूर्वएमालेका नेता–कार्यकर्ताले आनकानी गरेपछि टीका हातैमा अड्याएर मल्ल र अधिकारी ‘लौ है ! शुभकामना भन्थे र मुसुक्क हाँस्थे ।
“पूर्वएमालेलाई स्वीकार्नै कठिन भएकाले फागुन १ गतेलाई जनयुद्ध दिवस नभनिएर श्रद्धाञ्जलि कार्यक्रम भनिएको हो । जनयुद्ध दिवस भनेको भए एकजना पनि पूर्वएमालेका नेता कार्यकर्ता सहभागी हुँदैनथे,” एकजना पूर्वएमाले समूहका केन्द्रीय नेताले बाह्रखरीसँग भने ।
ओलीलाई पनि स्वीकार्न कठिन !
पूर्वएमालेको संस्थापन समूह (ओली गुट) लाई जनयुद्ध स्वीकार्न कठिन भइरहेको भान हुन्छ । कार्यक्रममा माधव नेपाल समूहका नेता कार्यकर्ताको उपस्थिति पनि कमकमै थियो । उपस्थित भएकामध्ये पनि एकाधले मात्रै टीका थापेको देखिन्थ्यो ।
आश्चर्यको कुरा त प्रधानमन्त्री केपी शर्मा ओली लगातार दोस्रो वर्ष पनि अनुपस्थित रहे । प्रधानमन्त्रीको सचिवालयले यस पटकचाहिँ सहभागी हुने सम्भावना व्यक्त गरेको थियो । तर, अन्तिममा ओली सहभागी नहुँदा जनयुद्धको दायित्व बोक्न नचाहेको सन्देश गएको छ ।
प्रचण्ड एक्लैले कार्यक्रमको अध्यक्षता गरे । पूर्वएमालेका तर्फबाट वामदेव गौतमलाई वक्ता बनाएर कार्यक्रम समापन भयो ।
“माओवादीको जनयुद्ध दिवस मनाउन कहाँ अध्यक्षज्यू आउनुहुन्छ त ! आजमात्रै होइन भोलिका दिनमा पनि आउनुहुन्न,” मञ्चमा ओली नदेख्नेबित्तिकै पूर्वएमालेका एक नेताले टिप्पणी गर्दै थिए ।
गतसाल जनयुद्ध दिवसको सङ्घारमा राजनीतिक प्रतिवेदनमा जनयुद्ध शब्दावली राख्ने कि झिक्ने भन्ने बहस थियो । पूर्वएमालेको एउटा पंक्तिलाई जनयुद्ध स्वीकार्न कठिन भएको चाल पाएपछि साविक माओवादी केन्द्र समूहले जनयुद्ध दिवस मनाउनुपर्ने कुरा बहसमा ल्यायो । चलाख पूर्वएमाले समूहले जनआन्दोलनमा पनि ज्यान गुमाएकाहरूप्रति सम्झना व्यक्त गर्ने भन्दै श्रद्धाञ्जलि कार्यक्रम गर्ने मध्यमार्गी उपाय निकालेको थियो ।
जनयुद्धलाई ‘वैधानिकता’ दिन प्रचण्डको कसरत
पार्टी एकता भएपछि पूर्व समूहको ‘दायित्व’ पनि एकीकरणसँगै गाँसिएर आउँछ, तर पूर्वएमालेको एउटा पंक्ति त्यसलाई ग्रहण गर्न चाहँदैन । युद्धकालमा जनयुद्धको सक्दो विरोध गरेकाहरूले त दस्तावेजबाट पनि हटोस् भन्ने चाहन्छन् ।
यसलाई नजिकबाट बुझेका प्रचण्डले बिहीबार पनि पूर्वएमाले पंक्तिलाई कन्भिन्स गर्न खोजे ।
“नेपालको इतिहासमा जनयुद्ध १६–१७ हजार मानिसको बलिदान हुनेगरी, मृत्यु हुनेगरी भएको सचेत विद्रोह थियो । त्यसको धेरै आयाम छन् । हामी जनयुद्धको विकास गर्दै जाने क्रममा, जनयुद्धकै क्रममा कमसेकम कम्युनिस्ट पार्टीको नेतृत्वमा भएका सबैखाले आन्दोलन, विद्रोह (सशस्त्र र शान्तिपूर्ण) लाई जोड्नुपर्छ भनेर मेरै नेतृत्वमा तत्कालीन नेकपा (माओवादीले निर्णय गरेको थियो । झापा विद्रोह सुखानीका सहिदहरू रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइँकेललगायत र जनयुद्धका महान् सहिदहरू, पहिलो दिलबहादुर रम्तेलदेखि तत्कालीन पार्टीको सर्वोच्च पदमा रहेका सुरेश वाग्ले, केन्द्रीय कमिटीमा रहेका मोहन गौतमलगायतका कमरेडसँग पनि जोड्नुपर्छ, सुखानी–माओवादी विद्रोह, झापा–माओवादी विद्रोह पनि जोडिनुपर्छ । त्यसले नयाँ संश्लेषणतिर कम्युनिस्ट आन्दोलनलाई लान्छ, लानुपर्छ भनिएको थियो । जनयुद्ध चलिरहँदा पार्टीको यो निर्णयपछि हामीले सहिद सप्ताह मनाउने घोषणा गरेका थियौं, फागुन १४ गतेबाट २१ गतेसम्म । फागुन १४ जनयुद्धमा पहिलो सहिद भएको दिन थियो । फागुन २१ गते सुखानीमा सहिद भएको दिन,” उनले कार्यक्रममा भने ।
यो जनयुद्धलाई वैधानिकता दिन आनाकानी गरिरहेका पूर्वएमाले पंक्तिलाई ‘कन्भिन्स’ गराउने प्रचण्डको प्रयास थियो । अध्यक्ष प्रचण्डले जनयुद्धकै दौरानमै कम्युनिस्ट आन्दोलनको नेतृत्व गरिरहेका शक्तिहरू कुनै न कुनै बेला एउटा विन्दुमा पुग्ने सोचिएको भन्दै पूर्वएमालेहरूको मन जित्ने प्रयास पनि गरेका थिए ।
मेरो विचार र नेतृत्व दुवै सही
पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले आफ्नो विचार र नेतृत्व दुवै सही रहेको निचोड दिए ।
“म पार्टीका नेता–कार्यकर्ता, जनसमुदाय, अन्तर्राष्ट्रिय रूपमा रहेका सहयात्रीहरूलाई भन्न चाहन्छु कि सही विचार र सही नेतृत्वले नै ठूल्ठूलो फड्को मार्न योगदान दिन्छ । सही विचार र सही नेतृत्वले असम्भवजस्तो ठानिएका परिवर्तनलाई पनि सम्भव तुल्याउन सक्छ । केही वर्षअघिसम्म नेपालमा संविधानसभाको चुनाव भइहाल्ला, संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भइहाल्ला, आपसमा निकै तीतो, कटुतापूर्ण र कहिले त शत्रुतापूर्ण संघर्ष गर्दै आएका दुईवटा प्रमुख पार्टीहरू एकतामा आइपुग्लान्, चुनावमा दुई तिहाइ बहुमत ल्याउनेगरी प्रस्तुत होलान् भन्ने मानिसहरूले सोच्दैनथे । विनम्रतापूर्वक भन्न चाहन्छु, सही विचार र सही नेतृत्व छ भने सम्भव तुल्याउन सकिन्छ । जनयुद्धका सुरुआती दिनमा धेरैलाई विश्वास थिएन– युद्ध विस्तार होला, राजनीतिक नेतृत्व लेला, यसले विशाल सेना निर्माण गर्ला, संविधानसभा जन्माउला र गणतन्त्र जन्माउन योगदान गर्ला भन्ने कुरामा विश्वास गर्न गाह्रो थियो । भयो । के कारणले भयो भन्दा सही विचार र सही नेतृत्व नै हो । शान्ति सम्झौता होला, एकले अर्कालाई हत्या, प्रतिहत्याद्वारा सखाप पार्ने योजनामा बढेका राज्य, विद्रोहीशक्ति शान्ति सम्झौतामा आउलान्, उनीहरूको सम्झौताबाट मुलुकमा ठूलो राजनीतिक परिवर्तन सम्भव होला भन्ने कुरा पनि धेरैलाई विश्वास गर्न गाह्रो थियो । आखिर टाउकाको मूल्य तोकेर, धेरैलाई जिउँदै या मारेर ल्याएपछि पुरस्कार पाउने भनिएको पार्टीको नेतृत्वमा नै शान्ति सम्झौता भयो । तत्कालीन नेकपा एमाले र नेकपा माओवादी निकै तीखो संघर्षमा गएकै हुन् । जनयुद्धको चार–पाँच वर्षसम्म एकले अर्कालाई खाने, पचाउने, निषेधको नीति लिने नै थियो । तर, पाँच वर्षपछिबाट हामी दुवै वार्ता र संवादमा प्रवेश गर्यौं । वामदेव गौतम, युवराज ज्ञवाली हामी आधार इलाकामा बसिरहेका बेला वार्ता गर्न जानुभयो । उहाँहरूलाई हेलिकोप्टरले पिछा गरिरहेको थियो । मार्ने प्रयास पनि भएको थियो । हामीले सुरक्षित रूपमा रोल्पाको लोसेबाङ पुर्यायौं । मिलेर जानुपर्छ भनेर वार्ता–सहमति गर्यौँ । त्यसैको जगमा बाह्रबुँदे समझदारी भयो ।”
उनले नेतृत्वको सही विचार र दृष्टिकोणकै कारण नेपालले मौलिक ढाँचाको क्रान्ति सफल भएको दाबी गरे ।
“नेपालको जनवादी क्रान्ति न चीन, न रुस, न भियतनाम, न पेरुको जस्तो छ । यो नेपालको जस्तो छ, नेतृत्वको सही विचार र दृष्टिकोणका आधारमा यो सम्भव भएको हो,” उनको दलील थियो ।