site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रधानमन्त्रीज्यू, तपाईँ गफाडी हुनुहुँदोरहेछ : गगन थापा

चितवन । नेपाली कांँग्रेसका केन्द्रीय सदस्य गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई गफाडीको संज्ञा दिएका छन् । नेपाली कांँग्रेस कालिका नगरसमितिले शुक्रबार आयोजना गरेको कार्यकर्ता भेटघाट एवं वनभोज कार्यक्रममा बोल्दै उनले ओलीले जनतालाई दुई वर्षअघि गरेको वाचा र प्रतिबद्धता पूरा नगरेको भन्दै गफाडीको संज्ञा दिएका हुन् ।

‘‘मैले प्रधानमन्त्रीलाई दुई वर्षअघि बधाई दिँदै भनेको थिएँ, तपाईं इतिहासकै अवसर पाएको प्रधानमन्त्री हुनुहुन्छ, जनताले ठूलो आशा गरेका छन्,’’ उनले भने, ‘‘अब मैले संसदको भेटमा एउटा मात्र शब्द भन्छु प्रधानमन्त्रीज्यू तपाईं ‘गफाडी’ हो ।’’ घोषणपत्रमा उल्लेख भएका कुनै काम सम्बोधन नभएको भन्दै उनले जनतालाई धोका दिएको संकेत गरे ।

हिजोका समयमा प्रधानमन्त्रीले उखानभन्दा जनता उद्वेलित भएको तर अहिले जनताले प्रधानमन्त्रीलाई विश्वास नगरेको थापाले बताए । ‘‘कहिले  प्रधानमन्त्री गीतबाट भन्नुहुन्छ, कविता भन्नुहुन्छ, कहिले सारंगी बजाउनु हुन्छ कहिले बासुरी बजाउनुहुन्छ तर प्रधानमन्त्रीको गीतमा सुर छैन, कवितामा रस छैन सांरगी र बासुरीमा धुन छैन । कोही नाचिरहेका छैनन् ।

Argakhachi Cement Island Ad

अहिले प्रधानमन्त्रीको कुरामा बोक्रा छ गुदी छैन,’’ उनले भने । दुई वर्षमा प्रत्येक नागरिकले देश कसरी चलिरहेको छ हेरिरहेको भन्दै उनले भने, ‘‘अहिले चिन्ता सरकार बलियो छ भन्ने होइन सरकार बिग्रियो भन्ने हो, सरकार बरालियो भन्ने हो ।’ कम्युनिस्ट सरकारले जनताको समय र अवसरमात्र बरबाद गरेको भन्दै उनले प्रधानमन्त्रीले सरकार नचलाई सत्ता चलाएको आरोप लगाए ।

नेपाललाई कम्बोडिया जस्तो बनाउन खोजेको भन्दै आगामी निर्वाचन पनि नाम मात्रको चुनाव गर्ने कम्युनिस्टको योजना रहेको उनको भनाइ थियो । ललिता निवास जग्गा प्रकरणका विषयमा बोल्दै थापाले यस प्रकरणमा दोषी कसैले उन्मुक्ति पाउन नहुने बताए । भ्रष्टाचार जसले गरे पनि उन्मुक्ति पाउन नहुने भन्दै उनले कांँग्रेसमाथि सरकार पूर्वाग्रही भएको बताए ।

यस प्रकरणमा निर्णय गर्ने तात्कालीन प्रधानमन्त्री र मुख्यसचिव पनि भागिदार हुनुपर्ने उनको भनाइ थियो ।

विष्णु पौडेलमाथि व्यंग्य गर्दै थापाले  भने, ‘‘चोरीको सामान फिर्ता गरे उनलाई मुद्दा नलाग्ने अब सबैले चोरी गर्नुस्, विष्णु विष्णु भनेर सामान फिर्ता गर्नुहोस् ।’’ 

त्यस अवसरमा बोल्दै नेपाली कांँग्रेस, चितवनका सभापति जितनारायण श्रेष्ठले कम्युनिस्टमा अठोट र संकल्प नभएको भन्दै झुठको खेती गरिरहेको बताए । कम्युनिष्टहरू सपना मात्रै बाँड्ने गर्छन् भन्दै उनले कांँग्रेसमाथि विश्वास गर्न आग्रह गरे । ‘विगतमा भएका कांँग्रेसका कमी कमजोरीलाई बिर्सेर आगामी निर्वाचनमा काँग्रेसको मुख होइन, रुखलाई हेरेर भोट दिनुहोस्,’ उनले भने ।

घरको मुली खराब भए पनि घरलाई सफासुग्गर राख्ने अन्य परिवारको दायित्व भएको उनले बताए । 

त्यस अवसरमा करिब १२ जना पूर्वमाओवादी कार्यकर्ता नेपाली कांँग्रेसमा प्रवेश गरेका थिए ।
 

प्रकाशित मिति: शुक्रबार, माघ २४, २०७६  १८:०४
प्रतिक्रिया दिनुहोस्