काठमाडौं । दुईवटा फरकफरक पृष्ठभूमिका नेता–कार्यकर्ता । दुई अलगअलग राजनीतिक विचारधारा र राजनीतिक कार्यदिशाबाट अनुशिक्षित– दीक्षित । एकाथरी सशस्त्र संघर्षको नेतृत्व गरेर आएका । अर्कोथरी शान्तिपूर्ण सङ्घर्षमा हेलिँदै आएका । साविक एमाले र माओवादी केन्द्रबीच एकता भएको २० महिना व्यतीत भइसक्दा पनि यी दुई बीच अन्तरघुलन भएको थिएन ।
अलगअलग मनोविज्ञान, पूर्ववर्ती चिन्तन विद्यमान थियो ।
औपचारिक हिसाबले दोस्रोपल्ट केन्द्रीय कमिटीको बैठक आह्वान भए पनि एजेन्डागत रूपमा पहिलोपल्ट बसेको थियो ।
नेकपाले बहसको व्यवस्थापन कसरी गर्ला ? छिरलिएका विचारहरू, भावना, मनोदशाहरूको संश्लेषण कसरी होला ? बैठकमा उठेका यावत् प्रश्नहरूको निरूपण गर्दै बैठक समापन गर्ला भनेर देश–दुनियाँको ध्यान खिचेको थियो ।
तर, नेकपा नेतृत्वले चलाखीपूर्ण ढंगले बहसको निष्कर्ष निकालेको छ । बहसमा खरो उत्रिएका केन्द्रीय सदस्यहरूलाई थुम्थुम्याएको छ ।
पाँच दिनसम्म चलेको बैठकमा मुख्य रूपमा अमेरिकी वैदेशिक सहायता नियोगअन्तर्गतको मिलेनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी) परियोजना घनिभूत रूपमा उठ्यो । सदस्यहरू ‘जस्ताको तस्तै पास गर्नुपर्छ’, ‘पास गर्नै हुँदैन’, ‘होइन कार्यदल बनाएर अध्ययन गरौं’ न भन्दै तीन कित्तामा विभक्त भए ।
गत मंसिर २९ गतेदेखि पुस ६ गतेसम्म चलेको बैठकमा पनि एमसीसी बहसको केन्द्रमा थियो । अहिलेको केन्द्रीय कमिटीमा पनि एमसीसीले अरू विषयलाई पाश्र्वमा पारिदियो ।
राजनीतिक र वैचारिक पाटो लगभग ओझेलमा पर्यो ।
समूहगत छलफलमा भाग लिएका अधिकांश सदस्यले सरकार र पार्टी सञ्चालनलाई लिएर नेतृत्वको तीव्र आलोचना र कतिपय सदस्यले त ‘भत्र्सना’ नै गरेका थिए । पार्टी, सरकार सञ्चालनमा नेतृत्वको कार्यशैली, तौरतरिकाप्रति उनीहरूको गम्भीर विमति थियो ।
राजेन्द्र राईले त पार्टीको विचार, दृष्टिकोण, कार्यदिशामा देखिएको अन्योल, लथालिङ्ग पार्टीको संगठनात्मक अवस्था देख्दा ‘चिम्टा, कमण्डलु बोकेर हिँडौं जस्तो लाग्छ’ भन्दै चरम निराशा अभिव्यक्त गरेको थिए । पार्टीको सर्वाङ्ग चौपट भएको र यसरी समाजवाद होइन बर्बादमात्रै हात लाग्ने उनको संश्लेषण थियो ।
१५ समूहमा बाँडेर बहस, छलफल गरिएको थियो । अधिकांश समूहका सदस्यहरूको मत राईको अभिव्यक्तिसँग मिल्दोजुल्दो थियो । पार्टी आन्दोलन विघटन र विग्रहको बाटोतिर अघि बढेको निष्कर्ष थियो ।
तर, केन्द्रीय कमिटीको बैठक सकेर बाहिरिँदा केन्द्रीय सदस्यको अनुहारको चमकधमक अर्कै थियो । केन्द्रीय सदस्यको अनुहारको उत्साह देखेर नेतृत्वप्रतिको धारणामै परिवर्तन आएको निचोड निकाल्न सकिन्थ्यो ।
पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड बैठकमा आत्मालोचित हुँदै प्रस्तुत भएको र गल्ती, कमीकमजोरी स्वीकार्न तत्पर भएकाले बैठक सौहार्दपूर्ण वातावरणमा समापन भएको केन्द्रीय सदस्य विष्णु रिजाल अर्थ्याउँछन् ।
“राजनीतिक प्रतिवेदनमै अध्यक्ष आत्मआलोचित हुँदै प्रस्तुत हुनुभएको थियो । उद्घाटन मन्तव्यमै अध्यक्षले कमजोरी सच्याउन दृढ रहेको बताएपछि बैठक सौहार्द बनाउन त्यसले भूमिका खेल्यो । अर्को, राजनीतिक प्रतिवेदनमा उठेका प्रश्नहरूको प्रत्युत्तरमै केन्द्रीय सदस्यहरूले उठाएका प्रश्नको सम्बोधन भएपछि बैठक हार्दिकतापूर्ण ढंगले सम्पन्न हुने नै भयो” रिजाल थप्छन् । बैठकको समापनले केन्द्रीय सदस्यहरूलाई अलग्गै ऊर्जा प्रदान गरेको नेतृ निरूदेवी पाल बताउँछिन् ।
“पाँच दिनसम्म चलेको बहसले पार्टीलाई गति दिएको छ । बैठकमा जेजस्ता विषय र भाव प्रकट भए तिनले सुरुका दिनमा निराश बनाए पनि समापनमा शीर्ष नेताहरू जसरी प्रस्तुत हुनुभयो । केन्द्रीय सदस्यहरूको मनोभावनाको सम्बोधन भयो, त्यसले विशिष्ट ऊर्जा प्रदान गरेको छ,” पालको भनाइ छ ।
सिन्धुली जिल्ला अध्यक्ष राजन दाहाल केन्द्रीय कमिटीको यो बैठक नेकपाको मात्रै होइन नेपाकाले समग्र कम्युनिस्ट आन्दोलनका लागि कोशेढुङ्गा नै भएको निष्कर्ष निकाल्छन् ।
पूर्वमाओवादी केन्द्र र पूर्वएमालेको पूर्ववर्ती चिन्तन मेटिन यो र दुईथरी मनोविज्ञान अन्तरघुलित हुन यो बैठक पर्याप्त रहेको उनको निचोड छ ।
जब केन्द्रीय सदस्यहरूको मुख बुझो लाग्यो
केन्द्रीय सदस्यहरूलाई २९–२९ जनाका दरले १५ समूहमा बाँडे पनि छलफलमा उठेका कुराहरू एकैनासे थिए । सार उही थियो ।
विन्दा पाण्डेले मन्त्रीहरूले अमुक ठेकेदारसँग फोन ह्यान्ड्स फ्रिमा राखेर घण्टौं गफिने तर सर्वसाधारणको त परै जाओस् सांसदको समेत फोन नउठाउने रोग व्याप्त रहेको भन्दै सत्तासीनहरूको आचरण, कार्यशैलीमा गम्भीर प्रश्न उठाएकी थिइन् ।
पाण्डे सदस्य रहेकोमा मात्रै होइन सबैजसो समूहमा मन्त्री, सांसदहरूको आचरण मुख्य मुद्दा बनेको थियो । कमरेडी सम्बन्ध मेटिँदै गएको चिन्ता विभिन्न रूपमा प्रकट भएको थियो । भ्रष्टाचार, अनियमितता, गुटबन्दी, विधान र पार्टी सञ्चालनमा संगति नमिलेका आदि त सदाबहार ‘एजेन्डा’ भइहाले ।
बैठकमा अध्यक्ष प्रचण्डले एजेन्डा र राजनीतिक प्रतिवेदन राखिसकेपछि समय माग गरेर बोल्दै लेखनाथ न्यौपानेले भ्रष्टाचारको मुद्दा उठाएका थिए । ‘मन्त्री भएपछि कतिसम्म भ्रष्टाचार गर्न पाइने हो ?’ भन्दै नेतृत्वलाई प्रश्न गरेका थिए ।
१३ नम्बर समूहको छलफलको प्रतिवेदन प्रस्तुत गर्ने बेलामा पनि न्यौपानेले नेताहरूको सम्पत्ति छानबिनको विषयलाई नै मुख्य रूपमा उठाए ।
समापनमा आइपुग्दा केन्द्रीय सदस्यहरूले उठाएका अधिकांश विषय सम्बोधन भएको र कुनै पनि सदस्यका प्रश्नहरू अनुत्तरित नरहेको ७ नम्बर समूहका उपनेता रहेका नीरज आचार्यले जानकारी दिए ।
“राजनीतिक प्रतिवेदनमा उठेका प्रश्नहरूको प्रत्युत्तर दिनेबेलामा अध्यक्षले सबै सम्बोधन गर्नुभयो । हाम्रा त कुरै बाँकी रहेनन् । सबै विषय सम्बोधन भयो,” केन्द्रीय कमिटी बैठकको समापनप्रति उनी पनि उत्साही देखिए ।
आइतबार केन्द्रीय कमिटीको बैठक सुरु हुनुपूर्व पार्टी सचिवालयको बैठक बसेको थियो । सचिवालय बैठकमा १५ वटै समूहको प्रतिवेदनमाथि शीर्ष नेताहरूबीच साझा धारणा बन्यो । निष्कर्ष पनि सचिवालयले नै तयार पार्यो ।
प्रतिवेदनमाथि उठेका प्रश्नहरूको जवाफ दिइसकेपछि अध्यक्ष प्रचण्डले सचिवालयको निर्णय पेस गरे । केन्द्रीय सदस्यहरूले ध्वनी मतले अनुमोदन गरे ।
“केन्द्रीय कमिटीमा उठेका सवालबारे सचिवालयमा समान धारणा बनिसकेपछि केन्द्रीय सदस्यहरू आश्वस्त भए,” केन्द्रीय कमिटी सौहार्दपूर्ण वातावरणमा सकिनुको कारण बताउँछन् रिजाल ।
“केन्द्रीय कमिटीको तागतले नेतृत्वलाई सच्चिन बाध्य पार्यो । उहाँहरूको प्रतिबद्धताको कसी कार्यान्वयन हो,” नीरज आचार्यको तर्क छ ।
यसअघि पनि पटकपटक प्रतिबद्धताको उलङ्घन भएकाले यसपटकको निर्णय पनि केन्द्रीय सदस्यहरूले शंकाकै दृष्टिले हेर्नुपर्ने आचार्यको मत छ ।
चुस्त व्यवस्थापन, पर्याप्त छलफल
गत वर्षको आखिरी मंसिरमा दुई दिनका लागि भनेर बोलाइएको स्थायी कमिटीको बैठक १२ दिनसम्म लम्बियो । कार्यसूची पूर्वनिर्धारित भए पनि बहस बरालियो । सचिवालयका नेताहरूकै फरक मतको चाङ लाग्यो । बहसको व्यवस्थापन सही ढंगले हुन नसक्दा कार्यदल गठन बाहेक निष्कर्ष पनि निस्कन सकेन । अन्ततः त्यो कार्यदलले पनि एकतालाई गति दिन सकेन ।
त्यो रोग केन्द्रीय कमिटीको बैठकमा पनि सर्ने सम्भावना प्रवल थियो ।
बैठकविहीनता लम्बिँदै जाँदा केन्द्रीय कमिटी सदस्य र शीर्ष नेताहरूबीच संवादहीनताको अवस्था विद्यमान थियो ।
नेता–कार्यकर्ताकाबीचमा अन्तरविरोध थुप्रिएर रहेकाले निकास केन्द्रीय कमिटीको बैठक नै थियो । केन्द्रीय कमिटीमा बहस, छलफलको व्यवस्थापन यथोचित ढङ्गले हुनेनहुनेमा संशय थियो । भडास पोख्ने थलोमै सीमित हुने त होइन भन्ने प्रश्न टड्कारो थियो ।
तर बैठकको व्यवस्थापकीय पाटोमा र छलफललाई विधिमा ढाल्न महासचिव विष्णु पौडेलेको भूमिका अब्बल देखिएको रिजाल बताउँछन् ।
उनका अनुसार पौडेलले कार्यसूची विद्युतीय माध्यमबाट बैठक अगावै केन्द्रीय सदस्यहरूलाई उपलब्ध गराइसकेका थिए । बैठकको आरम्भमै कार्यविधि पारित पनि गरियो ।
केन्द्रीय सदस्यहरूको समूह विभाजन, छलफल स्थल, खाजा–पानी आदिको प्रबन्ध, छलफलका लागि समय निर्धारण पनि बैठक सुरु हुनुभन्दा एक–दुईदिन अघि नै तय भइसकेको थियो । केन्द्रीय सदस्यहरू अलमलिनु परेन ।
“समूहगत छलफलका लागि ६ घण्टा छुट्टयाइएको थियो । २९ जनाका लागि ६ घण्टा मनग्गे हुँदो रहेछ । समूह नेतालाई पनि बोल्नका लागि २० मिनेट निर्धारण गरिएको थियो । प्रतिवेदनमात्रै प्रस्तुत गर्न २० मिनेटको समय पर्याप्त हो । टोली नेताले आफ्ना समूहमा उठेका कुराहरू लिखित रूपमा पेस गरेकाले पनि दस्तावेजीकरणका लागि महत्त्वपूर्ण भयो, बोल्न पाइएन भनेर कोही सदस्यले गुनासो, असन्तुष्टि राखेको सुनिएन,” रिजाल भन्छन् ।
बैठकमा ७ प्रदेश, १ विशेष जिल्ला, प्रवास, सम्पर्क समन्वय गरी १० प्रदेशले आ–आफ्ना क्षेत्रका पार्टी कामको फेहरिस्त सुनाएका थिए ।
“त्यसले पनि कुन–कुन प्रदेशमा पार्टीको काम कति भयो ? जिल्ला कमिटीका बैठक कतिपटक बसे ? देशभर पार्टीको अवस्था के रहेछ भनेर बुझ्न ऐनाको काम गर्यो,” रिजाल भन्छन् ।
प्रदेश अध्यक्षलाई रिपोर्ट प्रस्तुत गर्न २० मिनेट समय निर्धारण गरिएको थियो । “सुदूरपश्चिम प्रदेशका अध्यक्ष कर्ण थापाले अन्तिममा दुईवटा बुँदामात्रै बाँकी छन् भन्दा पनि महासचिवले समय सकियो भन्दै माइक लिनुभयो,” उनले प्रसंग सुनाए ।
केन्द्रीय कमिटीका सदस्यहरूलाई पार्टी एकीकरण यताका सम्पूर्ण दस्तावेज उपलब्ध गराइएको थियो । पार्टीको, स्थायी कमिटी बैठकको राजनीतिक प्रतिवेदन, विधान, तीनवटा अन्तरपार्टी निर्देशन, विशेष परिपत्र, सर्कुलरआदि खामबन्दी गरेर केन्द्रीय सदस्यहरूलाई उपलब्ध गराइएको थियो ।
त्यतिमात्र नभइ अध्यक्ष ओलीको उद्घाटन मन्तव्य पुस्तिकाका रूपमा प्रकाशन गरेर समापनका बेला सदस्यको हातहातमा पुर्याइएको थियो ।
“केन्द्रीय सदस्यहरू दस्तावेजविहीन नहून् भन्ने महासचिवको सोच प्रशंसनीय देखियो,” रिजालले भने ।
नेकपाका यसअघिका कार्यक्रम कहिल्यै समयमा सुरु हुँदैनथ्यो । कार्यक्रम सुरु भएको घण्टौंपछि पुग्ने र घण्टांै भाषण गर्ने अध्यक्ष ओलीको शैलीका कारण नेता–कार्यकर्ता आजित थिए । तर केन्द्रीय कमिटी बैठक यसबाट अछुतो रह्यो । केन्द्रीय कमिटीको उद्घाटन ३० मिनेट ढिला गरी सुरु भए पनि निर्धारित समयमै सकियो ।
अध्यक्ष ओलीको उद्घाटन मन्तव्य लम्बिएकाले त्यसैदिन प्रस्तुत गर्ने भनिएको प्रदेश अध्यक्षको प्रतिवेदन तेस्रो दिनका लागि सर्यो । तथापि समयमै कार्यक्रम सम्पन्न हुन बाधा भएन ।
“केन्द्रीय कमिटी बैठकको अडियो, भिडियो रेकर्ड पनि गरिएको छ र दस्तावेजीकरण पनि गरिएको छ । यसले भविष्यका दिनमा पार्टीको कार्यदिशा तय गर्न, बहसलाई अझ सघन बनाउन, व्यवस्थित तुल्याउन मद्दत पुर्याउँछ,” रिजाल तर्क गर्छन् ।