काठमाडौं । महालेखापरीक्षक टंकमणि शर्मा दंगालले चार्टर्ड एकाउन्टेन्टहरूले इमानदार र नैतिक बनी लेखापरीक्षण गर्नुपर्ने बताएका छन् ।
काठमाडौंमा शुक्रबार आयोजित नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाको २३ औं वार्षिकोत्सव तथा दोस्रो चार्टर्ड एकाउन्टेन्ट दीक्षान्त समारोहलाई सम्बोधन गर्दै महालेखापरीक्षक शर्माले लेखापरीक्षकहरूको भूमिकाले कुनै पनि संस्थाको कारोबारलाई स्वच्छ बनाउने भन्दै इमान्दार, नैतिकवान भएर काम गर्न आग्रह गरे ।
उनले अरुले गरेको हिसाब किताबलाई अध्ययन गरी, विश्लेषण गरी अन्तिम नतिजा दिनुपर्ने भएकाले अलिबढी अध्ययन र लगानशील हुनुपर्ने बताए । उनले कारोबारमा अनियमितता भए नभएको पत्ता लगाउन सक्ने क्षमताको विकास गर्न पनि चार्टर्ड एकाउन्टेन्सहरुले अध्ययनलाई निरन्तरता दिनुपर्ने बताए ।
कार्यक्रममा नेपालको चार्टर्ड एकाउन्टेन्ट संस्थामा थपिएका ८२ जना नयाँ सदस्यहरुलाई दीक्षित गराइएको थियो । यससँगै नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थामा अबद्ध रहेका विभिन्न तहका लेखापरीक्षकहरुको संख्या ८ हजार ६ सय ३५ पुगेको छ । जसमध्ये सीओपी रिन्यु ३ हजार ६ सय ३ जना र लेखा व्यवसायमा क्रियाशील फर्महरु ३ हजार ५ सय २४ रहेका छन् ।