site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
के सोच्दै छन् आजका विनोद चौधरी ?
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

संसारका बहुल जनताले नेपालको कुनै एकजना उद्यमी वा व्यवसायीलाई चिन्छ भने त्यो नाम हो, विनोद चौधरी । नेपालमा चौधरीबराबर वा उनलाई पनि उछिन्ने अर्बपति अरू पनि होलान्, तर चौधरी अमेरिकी पत्रिका फोर्ब्सको सूचीमा सूचीकृत नेपालका एक मात्रै डलर अर्बपति हुन् ।

नेपालबाट सुरु गरेको व्यापार उनका सुपुत्रहरूको संलग्नताबाट संसारका धेरै देशमा विस्तार गरिसकेका चौधरी हाल नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नवलपरासी–१ बाट निर्वाचित सांसद हुन् ।

व्यापारमा जस्तै राजनीतिको ‘सगरमाथा चढ्ने’ हुटहुटीमा रहेका चौधरीका अनुसार, नेपाल विकास नहुनुमा – ठूला राजनीतिक परिवर्तनपछि नेतृत्वमा रहेकाहरूले विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेका व्यक्तिलाई साथमा लिएर हिँड्न नसक्दा नेपाल पछि परेको हो ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

राजनीतिमा प्रवेश गरेपछि तीनपल्ट सांसद भएका चौधरीको अबको यात्रा के हुन्छ ? राजनीतिक यात्रामा उनले भेटेका तगारो के हुन् ? नेपाल विकास हुन नसक्नुको कारण के हुन् ? लगायत विषयमा कुराकानी गरेर खोतल्ने प्रयास गरेका छौँ ।

प्रस्तुत छ, बाह्रखरीका लागि प्रधानसम्पादक प्रतीक प्रधान, विशेष सम्पादक हरिबहादुर थापा र समाचार सम्पादक बलराम पाण्डेले प्रतिष्ठित उद्योगी तथा राजनीतिकर्मी विनोद चौधरीसँग गरेको कुराकानीको सम्पादित अंश :

Royal Enfield Island Ad

– तपाईं लुनकरणदास चौधरीका जेठा छोरा, बुवा पनि व्यापारमै हुनुहुन्थ्यो, तपाईं पनि आउनुभयो । आफ्नो छुट्टै पहिचान बनाउनुभयो । नेपालको पहिलो डलर अर्बपति हुनुभयो । व्यापार, व्यवसाय माथि लैजानुभयो । सँगसँगै, राजनीति थाल्नुभयो । संविधानसभामा एमालेबाट संसद्मा सम्मिलित हुँदै अहिले नेपाली कांग्रेसको राजनीतिमा हुनुहुन्छ । आज आफूलाई राजनीतिक दृष्टिबाट हेर्दा कहाँ पाउनुहुन्छ ?

एक वाक्यमा भन्दा मैले राजनीतिबाट आफूलाई जति टाढा राख्न खोजे पनि मबाट राजनीति कहिल्यै पनि टाढा हुन सकेन । यही कुरा मैले यही भाषामा मेरो आत्मकथाको पुस्तकमा पनि लेखेको छु ।

तपाईंहरूले म संविधानसभामा औपचारिक रूपमा प्रवेश गर्दादेखिको संकेत गर्न खोज्नुभएको होला । तर, त्योभन्दा अगाडि नै सूर्यबहादुर थापादेखि गिरिजाप्रसाद कोइरालाका पनि कुरा गर्नुपर्छ ।

उहाँहरूबीचमा सहमति भएर २०५४ सालमा तत्कालीन  प्रधानमन्त्री सूर्यबहादुर थापाको अध्यक्षतामा पर्यटन प्रवर्द्धन परिषद् गठन भएको थियो, जसमा म मन्त्रीस्तरीय उपाध्यक्ष पनि भएँ । पछि त्यसमा अप्रत्याशित मोड आयो । अहिले त्यता जान चाहन्नँ ।

त्यस बेलासम्म गिरिजाबाबुसँग निकै राम्रो सम्बन्ध थियो । त्यही घटनाले सम्बन्धमा चिसोपना ल्यायो । २०४८ देखि २०५१ सम्म नेपालको स्वर्णिम युग हो, तर यो कुरा धेरैले बुझेनन् ।

डा. रामशरण महत र महेश आचार्यको साथमा म निजी क्षेत्रबाट अघि बढेर काम गरेको व्यक्ति हुँ । त्यस बेला लिइएका उदार अर्थतन्त्रको नीतिका कारण हरेक क्षेत्रमा वृद्धि दोब्बर भएको छ । इतिहास पल्टाएर हेर्नुपर्छ कहिलेकाहीँ । रोकिएर बसेका उद्योगधन्दाको बाटो नै नयाँ मोडमा मोडियो । मैले भन्न खोजेको परिवर्तनका बेला निजी क्षेत्रबाट नेतृत्व गर्ने एकजना म पनि भएको हुँदा राजनीतिमा म त्यस बेलादेखि नै नभएको भन्न मिल्दैन ।

तर, म अलि ठूलो स्केलको परिवर्तन खोज्ने व्यक्ति हुँ । त्यसका लागि चाहिने साहस जहिले पनि बटुल्ने व्यक्ति हुँ । म ३८ वर्षको उमेरमा नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष भएँ । त्यसमा पनि मैले ‘ट्रान्सफर्मेसन’ ल्याएँ भन्ने लाग्छ ।

त्यहाँ पनि केही कुरा मिल्न सकेन । अलिकति जातिवादी कुरा हुन थालेपछि सीएनआई बनाएँ । त्यो पनि एउटा संस्थाको रूपमा खडा भएको छ आजको दिनमा । ठूलो स्केलको परिवर्तन ल्याउन सीएनआई, उद्योग वाणिज्य महासंघको अध्यक्ष, सीजी ग्लोबल कर्प बन्दैमा हुँदो रहेनछ भन्ने मलाई लाग्यो ।

Binoddd-1728034899.jpg
 

– के कुराले ल्याउन सक्दो रहेछ छ त ठूलो परिवर्तन ?

ठूलो स्केलको परिवर्तन राजनीतिले मात्रै सम्भव छ । त्यही मान्यताको आधारमा म राजनीतिमा होमिएको हुँ । यही मुलुकले मलाई विश्वभरि चिनायो । विभिन्न क्षेत्र हुँदै फोर्ब्समार्फत म चिनिएँ । मैले यो देशमा कहीँ न कहीँ ठूलै योगदान पुर्‍याउनुपर्छ भन्ने लाग्यो ।

मलाई पछि नेकपा (एमाले)ले संविधानसभा सदस्य बनायो । तर, मैले कहिल्यै एमालेको साधारण सदस्यता लिइनँ । म एउटा ‘प्रोफेसनल’कै रूपमा उभिएँ । मैले सार्वजनिक मञ्चमार्फत नै भनेको हुँ– मलाई कसैले कम्युनिस्ट बनाउन सक्दैन ।

मैले अन्तर्राष्ट्रिय फोरममा पनि उभिएर भनेको हुँ । मलाई पनि प्रश्न आयो– तिमीजस्तो मान्छे कसरी कम्युनिस्ट हुनसक्छौ ?

रूपान्तरण हुने क्रममा रहेको, अलिकति व्यवस्थित पार्टी, संगठन पनि भएको र निजी क्षेत्रलाई सकारात्मक रूपमा हेर्ने र भरतमोहन अधिकारीजस्ता नेता पनि भएको हुनाले म त्यो पार्टीसँग नजिक हुन पुगेँ । तर पनि कहिल्यै म कम्युनिस्ट भइनँ ।

आज म जुन उद्देश्य लिएर जहाँ उभिएको छु, त्यो मैले सोचेको परिवर्तनको लक्ष्यमा पुग्न सकेको छैन । मैले नेतृत्व गर्ने भन्ने त कुरै छाड्नुस्, मैले खोजेको परिवर्तन पनि ल्याउन सकेको छैन ।

मलाई पहिले भनियो– राजनीतिमा आउने भए पार्टी नै समाउनुपर्छ । म सांसद भएँ । त्यसपछि मलाई भनियो– समानुपातिक सांसद भएर हुन्छ ? राजनीति गर्ने हो भने प्रत्यक्ष निर्वाचित हुनुपर्छ । पार्टीकै निर्णय गर्ने ठाउँमा हुनुपर्छ भनियो, त्यहाँ नभई हुँदैन भनेपछि मैले पार्टीको चुनाव लडेँ, केन्द्रीय सदस्य जितेँ पनि ।

म वडा तहबाटै प्रतिनिधि चुनिएर केन्द्रीय सदस्यसम्म पुगेँ । नेपाली कांग्रेसजस्तो लोकतान्त्रिक पार्टीबाट म तलैदेखि चुनिएर केन्द्रीय सदस्यसम्म पुग्दा सर्वाधिक मतले जितेँ ।

मेरो भाग्य या प्रारब्धले मलाई नवलपरासी–१ मा ल्यायो । यहाँका जनताको सेवा गरिरहेको छु ।

मैले अहिले भन्नैपर्ने एउटा कुरा के छ भने, केही दिनअघि नेपालबाट नेपालै जोड्ने एउटा पुलको राष्ट्रपतिबाट उद्घाटन पनि भयो – जुन नेपाल–भारतबीच वर्षौँदेखि चल्दै आएको विवादको केन्द्रमा बनेको छ ।

नेपालभित्रै रहेको तर नेपालबाटै पुग्न नसकिने ठाउँ हो, सुस्ता । त्यो ठाउँसम्म मलाई राजनीतिले उभ्यायो । सफल भइनँ पनि कसरी भनूँ, भएँ भन्न खोजेको जस्तो परिवर्तन भएन ।

संविधानसभामा पनि मेरो आफ्नै भूमिका थियो । म रहेको समितिले दुई वर्षभित्रै रिपोर्ट दिएको हो ।

Binod14-1728034899.jpg
 

– संविधानसभाभित्र बसेर त्यस बेला के गर्नुभयो ?

मैले सम्पत्तिको अधिकारका लागि कुरा राखेँ । आफ्ना अडान राखेँ । संविधानसभामा कस्ता एजेन्डा थिए तपाईंहरूलाई पनि थाहै भएको कुरा हो । निजी क्षेत्रमैत्री राज्य हुनुपर्छ भन्ने विषयमा अडान राखेँ । तर, इमानदार भएर भन्नैपर्छ– मेरो आजसम्मको ठूलो, लामो अभ्यासमा पनि खोजेको परिवर्तन भएको छैन ।

म जहाँ हुँदा पनि निश्चित नेतालाई खुसी पार्ने काम गरिनँ । कहिलेकाहीँ लाग्छ, त्यही कारण राजनीतिमा पछि पो परेको हुँ कि ! राजनीतिमा जनतालाई खुसी पार्ने हो, नेतालाई होइन ।

– तपाईंले संविधानसभामा वा विभिन्न फोरममा उठाएका विषयले नेपाललाई के फाइदा भयो ? नेपाली जनताले के हासिल गर्न सके त ?

यो प्रश्नमा म पनि सहमत छु । मैले उठाएका एजेन्डाले ठूलो परिवर्तन आयो त ? मैले ‘रिस्क’ लिएर आएर के भयो त भन्ने प्रश्न त कायमै छ ।

तर, यहाँका जनतासँग म निकै खुसी छु । कुनै गुनासो छैन । जनताका लागि पनि सक्दो गरेको छु । तर, जुन समग्र र बृहत् सोचका साथ आएको थिएँ, त्योचाहिँ गर्न सकेको छैन ।

मेरो निष्कर्ष पनि के हो भने, राजनीतिक संघर्षबाटै परिवर्तन भएको छैन । नेपालमा भन्ने हो भने ००७ सालको परिवर्तन आवश्यक थियो र २०४६ सालको पनि । पछि भएको २०६२–६३ सालको आन्दोलनको पनि आवश्यकता थियो । त्यसमा मैले प्रश्नचिह्न लगाउनुपर्ने आवश्यकता छैन ।

त्यो परिवर्तन आएर पनि देश त बनेन नि ! तपाईंहरूको प्रश्नले विनोद चौधरी राजनीतिमा आएर पनि देश किन बनेन भन्ने थियो । मेरो पनि प्रश्न छ– यति धेरै प्रणाली बदलियो, देश किन बनेन ?

हामीले राणाशासन अन्त्य गर्‍यौँ, पञ्चायतकालीन अवस्था भोग्यौँ, बहुदलीय प्रजातन्त्र आयो । माओवादी द्वन्द्व भयो, फेरि आन्दोलन भयो । माओवादी ठूलो पार्टी बनेर आयो । गणतन्त्र आयो । विश्वकै नयाँ व्यवस्थामा हामी प्रवेश गर्दा पनि देश किन बनेन त ? मेरो विश्लेषण के हो भने, राजनीतिक संघर्षसँगै मनैले चाहेर भित्रैदेखि मुलुक समृद्ध बनाउने सपना भएन । त्यो बाटोमा हामी प्रवेश गरिएन ।

मैले पटक–पटक उदाहरण दिने गरेको छु, नरसिंह राव र मनमोहन सिंहको । नरसिंह रावले भारत टाट पल्टिने अवस्थामा पुग्यो भन्ने निष्कर्ष निकाल्नुभयो । सुन ओसारेर लन्डनको रिजर्व बैंकमा नराखीकन देशको ‘ब्यालेन्स अफ पेमेन्ट’को समस्या समाधान नहुने भयो,  त्यसपछि मनमोहन सिंहलाई फोन गरेर बोलाउनुभयो । त्यस बेला मनमोहन सिंह आईएमएफमा जेनेभामा हुनुहुन्थ्यो ।

‘आई रन द पोलिटिक्स, आई डु नट रन द कन्ट्री, यु रन द कन्ट्री’ भनेर बोलाउनुभयो । आज भारत कहाँ पुग्यो ?

तर, नेपालमा त्यो अवस्था आजसम्म बन्न सकेन । कहिल्यै पनि राजनीतिज्ञले ‘प्रोफेसनल’हरूलाई राजनीतिभित्र सौहार्दता प्रदान गरेनन् ।

नेताहरूले यस्तो अवसर अर्को व्यक्तिलाई दियो भने हाम्रो भाग खान्छ जस्तो व्यवहार गर्छन् । त्यसले पनि देश बन्न सकेन ।

Binod12-1728034897.jpg
 

– संघर्ष जहाँ पनि हुन्छ । प्रतिस्पर्धा जहाँ पनि हुन्छ । त्यसमै अघि बढ्ने हो । तपाईं व्यापारमा रहुन्जेल हामीले ‘फर्मुला वान’को कार रेसिङको ड्राइभर सिटमा रहेर द्रुत गतिमा दौडाएको हेरेका थियौँ । तर, राजनीतिमा त्रिभुवन राजपथको ‘ड्राइभर’जस्तो किन हुनुभयो त ?
(लामा हाँसो) । त्रिभुवन राजपथमा फर्मुला वान कार ल्याउनुभयो भने एक किमि पनि चल्दैन । यो ठट्टाको कुरा भए पनि तपाईंको प्रश्न जायज छ ।

जुन किसिमको रफ्तार चौधरी ग्रुप बनाउँदा होस् या दोस्रो पुस्तामा व्यापार हस्तान्तरण हुँदै गर्दाको कुरा होस् अथवा व्यापार विश्वमा फैलाउन जसरी सफल भयौँ, त्यो जोस, जाँगर राजनीतिमा देखिएन भन्ने प्रश्न आउनु स्वाभाविक नै हो । तर, मेरो भनाइ के छ भने नियम फरक छन् । पात्र फरक छन्, पात्रको उद्देश्य फरक छन्, कार्यशैली फरक छन् ।

आज मुलुकहरू हामीले हेर्दा हेर्दै बनिसकेका छन् । सोभियत युनियन ब्रेक भइसकेपछि कति देश समृद्ध भइसके । हाम्रा आँखैअगाडि परिवर्तन सुरु गरेका कोरिया हुन् या भियतनाम कहाँ पुगिसके ।

भारतको गोरखपुर पुग्दा केही वर्षअघिसम्म कस्तो थियो हामी सबैलाई थाहा भएको कुरा हो । अहिले त्यहाँ के छैन ? भारतमा कैयौँ सहर दिल्लीजस्ता बनिसके । हामी कहाँ छौँ ? त्यो प्रकारको समग्र वातावरण र देशलाई रियल अर्थमा केन्द्रमा राखेर नयाँ किसिमको सहकार्य आवश्यक देखियो । जसले जे गर्न सक्छ, त्यसलाई त्यही किसिमको जिम्मा दिनुपर्‍यो ।

सम्मिश्रण नभई देश बन्दैन । हाम्रो कता–कता लामो अभ्यास ‘सेन्ट्रल टु लेफ्ट’ को रह्यो । प्रोत्साहित पनि गर्‍यौँ । आज पनि त्यही अवस्था छ । ‘वी डन्ट सेलिब्रिटी प्रोस्पेरिटी, वी डन्ट सेलिब्रेट वेल्थ’ । यसरी देश समृद्ध हुन्छ छ ? कदापि हुँदैन । हामीले हाम्रो परिभाषा बदल्नैपर्छ ।

हाम्रो परिभाषा कस्तो बन्यो भने, सबैलाई आफ्नो लेवलमा ल्याउने हो, माथि उठाउने होइनजस्तो देखियो ।

मैले प्रश्न उठाउने गरेको छु– समाजवादको परिभाषा के ? कांग्रेसभित्रको नीतिका बारेमा प्रश्न पनि उठाएको छु । बीपीले के भनेका थिए भने– उत्पादनबिनाको वितरण धेरै दिगो हुँदैन ।

उत्पादन र वितरणमा तालमेल चाहिन्छ भनेको होइन ? उत्पादन आर्थिक गतिविधि चलायमान भएर मात्रै हुने होला नि, हैन र ? उत्पादन भएपछि धन भित्र्याउन अप्ठेरो पर्दैन । त्यसपछि मुलुक समृद्ध बन्दै जान्छ । पहिला उत्पादन चाहियो ।

अहिले रेमिट्यान्सले मुलुक धानिनुपरेको छ । हामीकहाँ जति समस्या हुन्छ, त्यति नेपाली युवा विदेसिन्छन् । राम्रो–राम्रो रोजगारीमा रहेका युवाहरू विदेश पलायन हुन थाले ।

अमेरिका, क्यानडा, अस्ट्रेलियालगायत मुलुकमा गइरहेका छन् । सबैभन्दा चिन्ताको विषय हामीलाई यही छ । हाम्रा ‘क्वालिफाइड’ युवा विदेश गए । विदेशीहरूले बिनालगानी योग्य युवा लिइरहेका छन् ।

हाम्रो देश जटिल अवस्थाबाट अघि बढिरहँदा पनि किन हामी यसको समाधान खोज्न तयार छैनौँ ? भित्ता छ भनेर देख्दा देख्दै कसरी गएर टाउको ठोक्ने ? र कतिसम्म ठोक्ने ?

Binod6-1728034897.jpg
 

– तपाईंको मनमा नेपालमा पनि एकजना पीवी नरसिंह राव जन्मिए म मनमोहन सिंह बन्न तयार छु भन्ने लागेको हो ?

राजनीति भनेको विशेष र असीमित सम्भावनाको खेल पनि हो । राजनीतिमा सम्भावना छँदै छैन भन्न मिल्दैन ।

मैले तपाईंलाई केही उदाहरण दिन चाहन्छु, प्रकाशोन्मुख किताबमा उल्लेख गरेको छु । थाक्सिन सिनावात्रा २० वर्ष प्रवासमा बसे । तर, उनले सही बीउ रोपेको कारणले नै त होला, आज फेरि उनकी छोरी थाइल्यान्डकी प्रधानमन्त्री भएकी छन् ।

नवाज सरिफ पाकिस्तानका निकै ठूला उद्योगी हुन् । तीनपल्टसम्म कहिले प्रवास कहिले प्रधानमन्त्री भएका होइनन् र ?

फिलिपिन्सका मार्तोसको नाम जनताले सुन्न चाहेका थिएनन् । दुईतिहाइ मतबाट निर्वाचित भए । यस्ता एक–एक उदाहरण दिन चाहन्छु ।

श्रीलंका, बंगलादेशको कुरा गरौँ न – कोभिडपछि जन्मिएका घाउहरूले मान्छेहरू टिक्नै नसक्ने भए । गुम्सिएर बसेको पीडाले त्यहाँ काम गरेको होइन होला र ?

त्यही पीडा विस्फोट भएको होइन र ? खास समस्या के हुन् – त्यो जबसम्म समाधान हुँदैन, जनताले विद्रोह गर्छन् गर्छन् ।

मुलुकको अर्थतन्त्रलाई सही बाटोमा ल्याउनुस् । यो नल्याउँदासम्म मुलुक सही बाटोमा अघि लाग्दैन ।

Binod7-1728034897.jpg
 

– अहिलेसम्मका अर्थमन्त्रीहरूको इतिहास हेर्ने हो भने धुरन्धर अर्थशास्त्री पनि भए, धुरन्धर राजनीतिज्ञ पनि भए । अझै पनि अर्थतन्त्रलाई ड्राइभ गर्ने नेतृत्व पाएन ?

उहाँहरूले आफ्नो ढंगबाट नगर्नु भएको पनि होइन । उहाँका प्रयासका बारेमा धेरै टिप्पणी नगरौँ । तर, त्यसले के परिणति जन्मायो त ? यसमा कुरा गर्दा ठिक होला । हाम्रा समस्या समाधान भए ? हामीले पाँचलाख युवा तयार पार्छौँ, तर ५० हजार पनि राजेगारी दिन सक्दैनौँ ।

अहिलेको हाम्रो देशको अर्थतन्त्र हेरौँ न । प्रत्येक वर्ष २० प्रतिशत रेभिन्यु बढ्थ्यो, अहिले हेरौँ त कति घटेको छ ? सबैतिर गम्भीर र बेहाल अवस्था छ । बैंकको खराब कर्जा हेरौँ । बैंकमा पैसा थुप्रियो, लगानी भएन । हामीले लगानी सम्मेलन गर्छौँ, तर लगानी आउँदैन । यहाँ पर्यटकको सम्भावना छ । पचास लाख मान्छे यहाँ आउन सक्छन् । चीन र भारतबाट मात्रै आए पुग्छ । भारत र चीनबाट फ्लाइट चलाए पनि पुग्छ ।

दुईवटा विमानस्थल बनाइयो, तर चलाउन सकिएन । किन ? के समस्या हुन् ? समस्या समाधान गर्नु परेन ? सोचविचार गरेर लगानी गर्नुपर्छ । चुनौती र त्यसले दिने आम्दानीका बारेमा नसोचीकन लगानी गर्न मिल्छ ?

अहिले जुन स्केलको ‘इकोनोमी ट्रान्सफर्मेसन’को ‘सर्जरी’ खाजिरहेको छ, सानोतिनो कुराले काम गर्दैन ।

Binod3-1728034896.jpg
 

– यहाँ व्यवस्था बदलियो, अवस्था र देश बदलिएन । नेता पनि धेरथोर नयाँ आइरहेका छन् । केही गर्दा पनि नहुने, यहाँ भूराजनीतिको असरले हो कि होइन ? कारण छ कि छैन ?

एकदम छ । मेरो पनि मान्यता छ । दुर्भाग्यवश, विदेशीको खेलमैदान पनि भयो । अझ बढ्दो छ । विवादको भुमरीमा फस्दै छ ।

यहाँ दुइटा खेलाडी थिए भने अहिले तीनवटा देखिँदै छन् । सबैका फरक–फरक आकांक्षा छन् ।

चुनौती त हुन्छ नै, हामीभन्दा अझै खराब ‘जियोपोलिटिकल इन्भारोमेन्ट’मा बसेर पनि आफूलाई सबैसँग मिलाएर लगेका छन् । स्किल भनेको त्यही होइन र ? त्यस्तो होपलेस नेपालको अवस्था छैन । आज अचानक नेपालको आईटी इन्डस्ट्री वान विलियन डलरको पुग्यो । यो कसैले ल्याएको नीतिबाट भएको हो ? यो बजारले आफैँ धकेलेको होइन र ?

अरू देशहरू महँगा भए, विश्वभरबाट बजारको खोजी भयो । त्यसले यहाँ ‘जब क्रियट’ भयो । सरकारलाई धन्यवाद दिने हो भने – दुःख दिएन, त्यही हो । सरकारले पहिला त थाहा पनि नभएर होला । विद्युत् उत्पादनले गति समातेको छ । त्यसलाई बढाउनुपर्छ । भारतले १० हजार मेगावाट किन्छु भनिसक्यो । तत्काल बनाउनुपर्‍यो नि अब !

पर्यटनमा सम्भावना नै सम्भावना छ । संकटबाट गुज्रिएको श्रीलंकाले एक वर्षभित्रमा २.५ मिलियन पर्यटक भित्र्यायो । नेपालले पाँच मिलियन पुर्‍याउन सक्दैन ? यसमा काम गर्नु परेन र ? म त जता हेरे पनि अवसरै अवसर देख्छु ।

Binod4-1728034896.jpg
 

– सबै कुरा राजनीतिले बिगार्‍यो भन्ने भाष्य छ । तपाईं तीनपल्ट सांसद भइसक्नुभयो । बिगारेको राजनीतिले मात्रै हो कि अरू केही ‘फ्याक्टर’ पनि छ ?

म राजनीति गर्ने, चुनाव लड्ने, पार्टीको केन्द्रीय सदस्य बन्ने अनि मैले राजनीतिले बिगार्‍यो भन्छु होला त ? त्यो भन्ने पक्षमा पनि छैन ।

राजनीतिबिना सम्भव पनि छैन । राजनीतिज्ञबिना विश्वको कुनै देश बनेको छैन । त्यसको मोडल फरक होला ।

तर, राजनीतिले अरू चिजलाई जोड्नुपर्थ्यो, त्यो जोडेन । राजनीतिले मात्रै देश नबनेको चाहिँ हो । राजनीति मियो हो । मियोले अरू जोड्नुपर्ने विषयलाई जोडेन भनेको मात्रै हो ।

जबसम्म प्रोफेसनल र राजनीतिज्ञको बीचमा रियल पार्टनरसिप हुँदैन, तबसम्म देश बन्दैन ।

– राजनीतिले नै परिवर्तन हुन्छ भन्नुभयो । तपाईं आबद्ध दल नै ०४६ सालदेखि अहिलेसम्म धेरैजसो सरकारमै छन् । उनीहरूबाट हुन सकेन, अब के हुन्छ ?

उनीहरूबाट किन हुन सकेन ? मैले तपाईंलाई उदाहरण दिएँ त । ०४८ देखि ०५१ सम्मको नेपालको समय सुनौलो युग हो । त्यो बेलामा सत्तामा पनि पार्टीले बहुमत पाएको थियो ।

गिरिजाबाबुजस्ता नेता हुनुहुन्थ्यो । उहाँले काम गर्नेलाई खुला उत्साहका साथ वातावरण बनाइदिनुभयो । महेश आचार्य, रामशरण महत र निजी क्षेत्रमा हामीजस्ता मान्छे थियौँ । त्यो बेला नभएको होइन । निकै भएको हो ।

त्यो पछिका अवस्था हेरौँ त, सशस्त्र युद्ध भयो । ३० वर्षमा ३० वटा सरकार बने । त्यो अब विश्लेषण तपाईंजस्ता पत्रकारले निकाल्ने हो ।

Binod5-1728034896.jpg
 

– अब यो देश परिवर्तन हुन सक्ला कि नसक्ला तपाईंलाई के लाग्छ ? परिवर्तनका लागि कोही त आउनैपर्छ । आउला कि नआउला ?

आउँछ आउँछ । देशमा परिवर्तन नआई सुखै छैन । यो देश अहिलेको अवस्थामा लामो समय चल्नै सक्दैन । कसरी आउछ त्योचाहिँ भन्न सक्दिनँ ।

हाम्रो देश ‘मोर इकोनोमी, लेस पोलिटिक्स’ हुनुपर्‍यो । जडसूत्रले देश बन्दैन । पार्टीहरूबीच पनि एकै किसिमको धारणा छैन । शासकीय स्वरूपमा एकमत छैन । हामी जटिल परिस्थितिबाट गुज्रिरहेका छौँ । एकातिर डर छ केही गर्न सक्दैनौँ कि भन्ने । अर्कोतिर, सामाजिक सञ्जालले पनि नकारात्मकता फैलाउने काम गरिरहेको छ । भोलि के होला भनेर कसैले भन्न सक्ने अवस्था छैन ।

– अहिलेका सरकार निजी क्षेत्रमाथि आक्रामक छन् । बाँसबारी छालाजुत्तामा तपाईंमाथि नै किन नहोस्, चाहे ललितानिवास प्रकरणमा मीनबहादुर गुरुङमाथि होस्, यसले नेपालको लगानीको सम्भावनालाई कस्तो असर परेको जस्तो लाग्दै छ ?
हामीजस्ता व्यक्तिलाई हतोत्साही गराएर सरकारले के सन्देश दिन खोजेको मलाई थाहा छैन । मीनबहादुर गुरुङजस्तो व्यवसायीलाई पक्राउ गरेर राखियो । उहाँ विश्वमै उदाहरणीय काम गर्नेमध्येमा पर्नुहुन्छ ।

उहाँजस्तालाई राज्यका केही पार्टीका केही नेताले जसरी राजनीतिक स्टन्टबाजीका लागि प्रयोग गरे, जुनसुकै कारणले हो त्यसले राम्रो सन्देश दिएन । मानिसको मनमा एकप्रकारको चिसोपना देखियो ।

यति ठूलो तामझामका साथ गरिएको लगानी सम्मेलनले कति लगानी आयो ? सन्देश त्यही होइन ?

व्यापारलाई, अर्थतन्त्रलाई राजनीतिक फेल भएपछि जनताको ध्यान मोड्नलाई मोहरा बनाउनु हुँदैन । मैले यसमा यत्ति मात्रै भन्छु । राजनीतिमा हुनेले राजनीति गरे हुन्छ । संसद्मा नीतिका विषयमा बहस गरे हुन्छ । अहिले संसद्को बहसलाई नियाल्नुस् त कस्तो देखिन्छ ?

युवालाई नै नराकात्मक विषय सिकाइयो भने देशको भविष्य के होला ? हामी उतारचढाव गर्दै यहाँसम्म आइपुग्यौँ । मैले असन्तोष गर्ने ठाउँ नै छैन । कम्तीमा यो देश बनोस् भन्नेबाहेक मेरो अरू ध्यान छैन ।

Binod2-1728034896.jpg
 

– यस्तो बेलामा तपाईंले के जिम्मेवारी पाउनुभयो भने देशलाई नयाँ ढंगबाट लैजान्छु भन्ने लाग्छ ?
ठूलो परिवर्तनका लागि राजनीतिमा प्रवेश गरेको हुँ । कर्मचारीको ठूलो समस्या छ । यी सम्पूर्ण कुरा हेर्दा म यो देश बन्दैन भन्ने कुरामा सहमत हुन्नँ । प्रशस्तै सम्भावना छ । कसैले नजरअन्दाज गर्न मिल्दैन । जनताले केही परिवर्तन खोजेका छन् । आफूलाई सबैले जनताको धारणाअनुसार बदल्नैपर्छ ।

– अबको दश वर्षपछिको विनोद चौधरीलाई कहाँ देखिन्छ ?
म आफ्नो बाटो र गन्तव्यमा लगातार हिँड्छु । प्रारब्धले यहाँ उभ्याएको हो । व्यक्तिगत स्वार्थ छैन । मैले सकुन्जेल परिवर्तनको लागि संघर्ष गरिरहन्छु ।

Binod-11-1728034894.jpg
 

– कुन परिवर्तन ?
सम्पन्न देशको लागि । राजनीतिज्ञ र प्रोफेसनलको बीचमा सहकार्य गराएर अघि बढाउनुपर्छ ।

दोस्रो देशमा गएका दोस्रो पुस्ताले विकसित देशको नेतृत्व लिन थालिहाले । अहिले विदेश गएका व्यक्तिका सन्तति नेपाल आउन खोज्दा हामीले यो देश बनाएर राखिदिने कि नराख्ने ? मेरा भाग खान आयो भन्ने तरिकाले होइन, फरक तरिकाले हेरेर सँगै हिँडाउनुपर्छ । मेरोजस्तो सोच बोकेका मान्छे संसद्मा जुन दिन बढी आउँछन्, त्यही दिनबाट देश बन्न सुरु गर्नेछ ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज १८, २०८१  १५:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro