site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
के हुँदैछ नेकपाको ‘मिनी महाधिवेशनमा’ ? यसो भन्छन् केन्द्रीय सदस्य
SkywellSkywell

काठमाडौं । एकीकरणपछि पहिलोपटक औपचारिकरूपमा केन्द्रीय कमिटीको बैठक बस्न लागेपछि नेकपाका सदस्यहरू उत्साहित देखिएका छन् । यसअघि पार्टी एकतालाई औपचारिकता दिन र शपथ खानमात्रै एक ठाउँमा भेला भएबाहेक केन्द्रीय सदस्यहरूबीच चिनापर्चीसमेत हुन पाएको थिएन ।

नेकपाको केन्द्रीय कमिटीको बैठक बुधबारदेखि काठमाडौंमा सुरु हुँदैछ । राष्ट्रियसभा गृहमा बस्ने बैठकमा नेकपाका कुल ४ सय ३९ जना सदस्यहरू सहभागी हुँदैछन् ।

नेकपाको विधानतः ४ सय ४१ पछि मनोनीत ४ जना गरी कुल ४ सय ४५ सदस्यीय केन्द्रीय कमिटी भए पनि मृत्यु भएका र राजकीय जिम्मेवारीमा रहेकाले पद स्थगित भएका बाहेक ४ सय ३९ सदस्य क्रियाशील छन् । 

KFC Island Ad
NIC Asia

केन्द्रीय कमिटी बैठक पाँच दिनसम्म चल्ने बताइएको छ ।

केन्द्रीय कमिटीको आकार ठूलो हुनाले सबै सदस्यहरूले बोल्न पाउने छैनन् । यद्यपि समूहगत छलफल गराउने र टोली नेताले छलफलमा उठेका कुराहरू टिपोट गरेर सुनाउने नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए ।

Royal Enfield Island Ad

रिजालका अनुसार बैठकमा पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने र महासचिव विष्णु पौडेलले सांगठनिक तथा विधान संशोधन प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ ।

अध्यक्ष र महासचिवले प्रस्तुत गरेको प्रतिवेदनका आधारमा सदस्यहरूले बोल्ने प्रचलन रहे पनि लामो समयदेखि केन्द्रीय कमिटी बैठक नबसेकाले सदस्यहरूले पूर्वतयारी समेत गरेका छन् ।
“केन्द्रीय कमिटीको बैठक मात्र नभएर नेकपाका ‘क्रिम’ सदस्यहरूको बैठक पनि हो । पार्टीको पहिलो औपचारिक बैठक हुनाले नेकपाका केन्द्रीय सदस्यहरूबीच चिनजान र पार्टीलाई थप क्रियाशील र गति दिन यो बैठक महत्त्वपूर्ण परिघटना हुनेछन्, छलफलमा समसामयिक विषयका अतिरिक्त सरकार, पार्टी सञ्चालन, एमसीसी परियोजना लगायतका विषयमा छलफल हुनेछ,” रिजाल भन्छन् ।

पार्टी एकताको काम करिबकरिब सकिएकाले अब पार्टीको ध्यान महाधिवेशनतिर केन्द्रित हुने रिजालको भनाइ छ । उनले अध्यक्ष र महासचिवले मूर्त रूपमा महाधिवेशनको कार्यतालिकासहितको कार्ययोजना प्रस्तुत गर्ने दाबी गरे ।

“जिल्ला, प्रदेशस्तरीय कार्यक्रम र महाधिवेशनको कार्ययोजना सहितको कार्ययोजना महासचिवले तयार पारेको बुझेको छु । पार्टी एकताको काम आधारभूतरूपमा टुंगिइसकेकाले अब महाधिवेशनतिर केन्द्रित हुनुपर्छ,” उनले भने ।

पार्टीका अर्का केन्द्रीय सदस्य ठाकुर गैरेले यो बीचमा पार्टी गतिशील नदेखिएको बारे केन्द्रीय कमिटीको बैठकमा कुरा उठ्ने बताए ।

“तीन महिनामा टुंग्याउने भनेको एकता दुई वर्षसम्म किन पूरा भएन ? साबिक पार्टीमा जिम्मेवारी तहमा रहेर काम गरेका नेताहरू एकतापछि किन बेरोजगार, जिम्मेवारीविहीन छन् ? किन पार्टी कमिटीका बैठक नियमित बस्दैनन् ? किन पार्टीको विधान एकातिर नेताहरूको काम अर्कोतिर छ ? पार्टी किन विधि, पद्धतिसंगत ढंगले चल्दैन ? अहिलेसम्म सरकारको कामको गम्भीर र मिहीन समीक्षा किन हुन सकेन ? यावत् प्रश्नहरू छलफलमा उठ्नेछन्,” गैरेले बाह्रखरीसँगको कुराकानीमा भने ।

उनले नेतृत्वको अहिलेकै कार्यशैलीले पार्टी गतिशील पनि नहुने र सरकारको काम प्रभावकारी नहुने भन्दै कार्यशैली बदल्नेबारे पनि बैठकमा घनिभूत छलफल हुनुपर्ने बताए ।

“केन्द्रीय कमिटीको बैठक लामो समयपछि बसेको र विधानअनुसार डेटलाइन पनि नजिकिएकाले महाधिवेशनको मिति तोक्ने गरी नै बहस चलाउनुपर्छ । नेतृत्वले त्यही अनुसार कार्ययोजना तयार पार्नुपर्छ,” उनले भने ।

केन्द्रीय सदस्य जयन्ती राईले पनि पार्टी र सरकार सञ्चालनमा अनेकन प्रश्न उठेको बताइन् ।

लामो समयपछि केन्द्रीय कमिटीको बैठक बस्न लागेकाले नेतृत्वले केन्द्रीय सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिनुपर्ने बताइन् ।

सबै सदस्यहरूले आफ्ना धारणा राख्दा केन्द्रीय कमिटीको बैठक लम्बिनसक्ने सम्भावना देखाउँदै उनले भनिन्, “कम्युनिस्ट पार्टीको नेतृत्वमा सरकार छ । तै पनि असन्तुष्टिका स्वर सुनिएका छन् । प्रतिपक्षीले मात्रै होइन, नागरिकले पनि सरकारको कामकारबाहीका बारेमा प्रश्न उठाएका छन् ।

अहिले जनताको भोटबाट कम्युनिस्ट सत्तामा त पुगेका छन् तर श्रमजीवी जनताको हातमा सत्ता छैन । उनीहरूको शासन–सत्तामा कसरी अग्राधिकारी स्थापित गर्ने विषयमा छलफल हुनुपर्छ,” उनको जोडि थियो ।

उनले विधान संशोधनबारे पनि कुरा उठिरहेको बताउँदै नेतृत्वले यसबारे औचित्यपुष्टि गर्नुपर्ने तर्क गरिन् ।

“किन के कारणले विधान संशोधन गर्न लागिएको हो ? त्यसबारे नेतृत्वले प्रष्ट पार्नुहोला,” उनले भनिन् ।

केन्द्रीय सदस्य रचना खड्काले भने अमेरिकी वैदेशिक सहायता नियोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) परियोजना अन्तर्गत नेपालले लिन लागेको अनुदान रकमको बारे ठूलै बहस–विवाद हुने सम्भावना देखेकी छन् ।

पार्टीभित्र र बाहिरबाट यसबारे विरोध भइरहेकाले केन्द्रीय कमिटी बैठकमा पनि यसले प्रवेश पाउने उनले बताइन । मंसिर २९ गतेदेखि पुस ६ गतेसम्म चलेको स्थायी कमिटीको बैठकमा पनि घनिभूत छलफल भएको थियो । अन्तिममा स्थायी कमिटीले आफैंले निर्णय गर्न सकेन । सचिवालयलाई जिम्मा दियो ।

एकतापछि नेकपालाई अभूतपूर्व अवसर आए पनि पार्टी र सरकारको काम व्यवस्थित हुन नसकेको बताइन् ।

“पार्टीले योजना बनाएर सरकार सञ्चालन हुनुपर्ने थियो । सरकारमा जो गयो, उसैले योजना बनाउने र त्यसैलाई पार्टी निर्णय मान्नुपर्ने अवस्था छ । उल्टोजस्तो देखिन्छ । यसलाई कसरी वैज्ञानिक ढंगले हल गर्ने र पार्टी सरकार सञ्चालन गर्ने भन्न विषयमा छलफल हुन्छ,” उनले भनिन् ।

उनले पार्टी एकताको दुई वर्षपछि सदस्यता नवीकरण गर्ने ठाउँमा संगठनात्मक काम पुगेको बताउँदै मातहतका कमिटी र केन्द्रीय अधिवेशन सम्पन्न गर्न निकै चुनौतीपूर्ण रहेको औंल्याइन् ।

“यी तमाम विषयमा नेतृत्वले कसरी योजना प्रस्तुत गर्छन्, त्यो अनुसार छलफल हुन्छ । छलफललाई सकेसम्म चुस्त र वैज्ञानिक बनाउँछौं,” उनले भनिन् ।

ठूलो आकारको कमिटी भएकाले व्यवस्थित छलफल नै मुख्य चुनौती भएको उनको भनाइ छ ।

पार्टी केन्द्रीय कमिटीको बैठकको तयारीका लागि नेकपाले मंगलबार अपराह्न सचिवालय बैठक बोलाएको छ । बैठकले राजनीति, सांगठनि  र विधान संशोधन र पार्टी सञ्चालनसम्बन्धी कार्ययोजना अनुमोदन गर्नेछ ।

सचिवालय र स्थायी कमिटीले गरेका सम्पूर्ण निर्णय समष्टिगत रूपमा पेस गर्ने र पारित गर्ने कार्यसूची रहेको रिजालको भनाइ छ ।

भदौ ३१ गते बसेको सचिवालय बैठकले वामदेव गौतमलाई उपाध्यक्ष प्रस्ताव गरेको थियो । स्थायी कमिटी बैठकले विधान संशोधन गरेर उपाध्यक्ष पद सिर्जना गर्ने निर्णय गरिसकेको छ ।

त्यसका अतिरिक्त प्रस्तावनामा पार्टीको तत्कालीन कार्यक्रम जनताको जनवाद, न्यूनतम कार्यक्रम वैज्ञानिक समाजवाद र अधिकतम लक्ष्य साम्यवाद थप्नेगरी विधान संशोधन प्रस्ताव अघि बढाउने निर्णय पनि स्थायी कमिटी बैठकले गरिसकेको छ ।

केन्द्रीय कमिटी बैठकले यी प्रस्तावलाई अनुमोदन गर्नेछ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ १४, २०७६  १३:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro