site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी कथा
डिसहोम बाह्रखरी कथा प्रतियोगिताको दोस्रो संस्करण घोषणा

काठमाडौं । नेपाली आख्यान प्रतिभालाई प्रोत्साहन गर्ने क्रममा १२खरी बुक्सले दोस्रो ‘डिसहोम बाह्रखरी कथा प्रतियोगिता’को घोषणा गरेको छ । प्रतियोगितामा संसारभर रहेका नेपाली कथा लेखकलाई भाग लिन आह्वान गरिएको छ । 

प्रतियोगिताको शर्तअनुरुप प्राप्त भएका कथामध्येबाट बाह्रखरीको आन्तरिक निर्णायक मण्डलले ५० कथा चुनेर निर्णायक मण्डललाई उपलब्ध गराउने छ । ती कथामध्येबाट निर्णायकले ‘उत्कृष्ट कथा २०७७’ पुस्तकका लागि २५ वटा छान्नेछन् र त्यसैमध्येबाट प्रथम, द्वितीय र तृतीय कथाको घोषणा हुनेछ ।

वरिष्ठ पत्रकार तथा साहित्यकार नारायण वाग्लेको संयोजकत्वमा उपन्यासकार अमर न्यौपाने र नवप्रतिभा बिना थिङ तामाङ निर्णायक मण्डलमा छन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

नेपाली कथा लेखनको क्षेत्रमा दिइने सबैभन्दा ठूलो पुरस्कार राशि रहेको यस प्रतियोगितामा गत वर्ष नौ सयभन्दा बढी कथाकारले भाग लिएका थिए भने यस वर्ष अझ ठूलो सहभागिता हुने आयोजकको विश्वास छ । 

प्रतियोगितामा सर्वोत्कृष्ट तीन कथालाई अघिल्लो वर्षमा जस्तै क्रमशः एक लाख, ६० हजार र ४० हजार तथा अवार्ड र प्रमाणपत्र प्रदान गरिने छ । अन्तिम चरणसम्म पुग्न सफल उत्कृष्ट २५ कथाको पुस्तक प्रकाशन गरिनेछ । 

सङ्ग्रहमा प्रकाशित हुने बाँकी २२ कथाकारलाई जनही पाँच हजार रुपैयाँ सम्मान स्वरुप प्रदान गरिने छ । प्रतियोगितामा भाग लिन इच्छुक कथाकारले आफ्नो कथा आगामी फागुन १०गतेभित्र ‘बाह्रखरी कथा’ को ईमेल ठेगानामा पठाइसक्नुपर्नेछ । 

कथा प्रतियोगिताको नतिजा २०७७ वैशाख १२ गते एक विशेष कार्यक्रमका बीच सार्वजनिक गरिनेछ । सोही दिन ‘उत्कृष्ट कथा– २०७७’ को लोकार्पणसमेत हुनेछ । 

आधुनिक नेपाली कथा क्षेत्रमा कलम चलाउने स्थापित लेखकदेखि नवप्रतिभासम्मले ‘बाह्रखरी कथा प्रतियोगितामा’मा भाग लिन सक्नेछन् । यो प्रतियोगिताले नवप्रतिभालाई स्थापित बनाउनुका साथै अग्रजको सम्मान गर्ने हाम्रो विश्वास रहेको छ ।

पहिलो संस्करण अर्थात् २०७६ वैशाखमा बजारमा आएको ‘उत्कृष्ट कथा २०७६’ हिन्दी भाषामा पनि प्रकाशित भइसकेको जानकारी गराउन पाउँदा हामी गौरवान्वित छौं ।

गत वर्ष मकवानपुरकी बिना थिङ तामाङको ‘ब्याड भाले’ प्रथम भएको थियो । लक्ष्मण वियोगीको ‘टाउको’ द्वितीय र सुमित्रा न्यौपानेको ‘बार्दली’कथा तृतीय भएको थियो । प्रथम हुने कथाकारले एकलाख, द्वितीय र तृतीय हुनेरले क्रमशः ६० हजार र ४० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका थिए ।

शर्त तथा नियम

- कथा नेपाली भाषामा हुनुपर्नेछ ।
- अघिल्लो वर्षमा प्रतियोगिताका लागि प्राप्त कथा दोहो¥याउन पाइने छैन ।
- कथा अप्रकाशित र अप्रशारित हुनुपर्नेछ । प्रतियोगिताको नतिजा सार्वजनिक नहुञ्जेल कथा कतै प्रकाशन तथा प्रशारण गर्न पाइने छैन ।
- छनोटमा परेका कथा अन्य माध्यममा प्रकाशन वा प्रशारण भएको पाइएमा पुरस्कार निलम्बन गरिनेछ ।
- ‘बाह्रखरी कथा प्रतियोगितामा’ भाग लिने उद्देश्यले पठाइएका कथा पुस्तकका रुपमा प्रकाशन भइसकेपछि अन्यत्र प्रकाशन वा प्रशारण गर्न ‘बाह्रखरी बुक्स’को पूर्वस्वीकृति अनिवार्य छ ।
- कथा कम्तीमा १५०० शब्द र बढीमा ४००० शब्दसम्मको हुनुपर्नेछ ।
- प्रतियोगीले कथासँगै आफ्नो छोटो परिचय, सम्पर्क मोबाइल नम्बर र हालसालै खिचिएको फोटो अनिवार्य पठाउनुपर्नेछ ।
- प्रतियोगिताका लागि छानिएका कथाकारलाई ‘बाह्रखरी बुक्स’ले ईमेल तथा फोनमार्फत् सम्पर्क गर्नेछ ।
- कथा पठाउनका लागिः
ईमेल- 12kharibooks@gmail.com

प्रकाशित मिति: शुक्रबार, माघ १०, २०७६  १४:३३
प्रतिक्रिया दिनुहोस्