site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कांग्रेस प्रतिपक्षी कि सरकारकै अंशियार ? 

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सभामुखमा उमेदवारी दिने ठानिए पनि अन्तिम समयमा आएर उसले उमेदवारी नदिने निर्णय गर्‍यो । 

यसअघि प्रतिनिधिसभामा कृष्णबहादुर महरालाई सभामुख बनाउँदा समर्थन गरेको कांग्रेसले यसपटक भने उमेदवारी दिने ठानिएको थियो । 

नेकपाले सभामुखमा अग्नी सापकोटाको नाम तय गरेलगत्तै कांग्रेसको प्रतिक्रियाले पनि कांग्रेसको सभामुखमा उमेदवारी अपेक्षित नै थियो । 

सभामुख उमेदवारका रुपमा कांग्रेसभित्र पुष्पा भुसालको नाम बाहिर आएको थियो । 

फौजदारी अभियोगमा सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेका व्यक्तिलाई सर्वसम्मत मान्न नसकिने कांग्रेसको प्रारम्भिक प्रतिक्रियाले धेरैको ध्यान कांग्रेसतर्फ तानिएको थियो । 

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले नेकपाको पात्र चयन सही नभएको टिप्पणी गरेपछि ‘कांग्रेस व्यूँझिएको’ रुपमा टिप्पणी भएको थियो । 

“राजनीतिमा अनेक पात्र र प्रवृत्ति हुन्छन् । कुन पदमा कस्तो प्रवृत्ति ? छनोट उचित भएन भने त्यो पदको गरिमा त धरापमा पर्छ नै राजनीतिप्रतिनै थप वितृष्णा बढ्छ,” शर्माको कटाक्ष थियो ।

सापकोटामाथि काभ्रेका अर्जुन लामा हत्याको आरोप छ ।

उनीविरुद्ध दायर मुद्दा सर्वोच्च अदालतको संवैधानिक इजलाशमा विचाराधीन छ । 

कांग्रेसजस्तो आफुलाई लोकतन्त्र र विधिको शासनको पक्षधर दाबा गर्ने पार्टीले सापकोटालाई रोक्न सक्ने अंकगणित नभए पनि फरक मत राख्ला भन्ने धेरैको अपेक्षा विपरीत कांग्रेस संसदीय दलले उमेदवारी नदिने निर्णय लियो । 

नेकपा अध्यक्ष पुष्पकमल दाहालले सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई सभामुखमा समर्थन गर्न भनेपछि कांग्रेस सभामुखमा दाबी नै नगर्ने निर्णयमा पुग्यो । 

प्रतिपक्षी होइन अंशियार !

राजनीतिक विश्लेषक पुरञ्जन आचार्य सभामुखमा उमेदवारी नदिएर कांग्रेसले जनतामा जाने अवसर गुमाएको बताउँछन् । 

उनको बुझाइमा कांग्रेस प्रतिपक्षी दलभन्दा पनि सत्ताकै अंशियारजस्तो बनेको छ । 

कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा संसदमा बलियो प्रतिपक्षीका रुपमा भन्दा लेनदेनकै मुडमा बढी देखिएको उनी बताउँछन् । 

“प्रतिपक्ष होइन कांग्रेस सत्तासँग अंशवण्डाको भूमिकामा गयो,” आचार्य भन्छन्, “जित हार प्राविधिक विषय हो । उमेदवारी दिनु भनेको राजनीतिक चुनौती पनि हो । कांग्रेसलाई अहिले त्यो अवसर थियो । अवसर गुमायो ।” 

उनले सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगमा भागबन्डा गरेको चर्चा गर्दै कांग्रेस सरकारको अंशियार बनेको बताए । 

केही दिनअघि सत्य निरुपण तथा मेलमिलाप आयोगमा कांग्रेस निकट गणेशदत्त भट्ट नियुक्त भएका छन् । 

विवादित छबिको व्यक्तिलाई सभामुख बनाउन खोज्दा त्यसविरुद्ध उभिनु कांग्रेसका लागि जनतामा पुग्ने मौका भए पनि कांग्रेसले एकपछि अर्को मौका गुमाइरहेको आचार्यको विश्लेषण छ । 

अर्का विश्लेषक मुमाराम खनाल लोकतन्त्रमा सँधै जित्नका लागि मात्र चुनाव नलडिने बताउँछन् । 

सभामुखमा उमेदवारी नदिएर कांग्रेस लोकतन्त्रको जगेर्ना गर्ने र विधि स्थापित गर्ने कुरामा चुकेको उनको बुझाइ छ । 

कांग्रेसले सापकोटाको नाममा राजनीति गर्न खोजे पनि निर्णायक तहसम्म पुर्‍याउन नसकेको उनी बताउँछन् । 

अहिले  सरकार र प्रतिपक्षका बीचमा भिन्नता नै नदेखिएको उनको भनाइ छ । 

कांग्रेसले सरकारले गरेका केही कामको सुरुमा विरोधमा देखिए पनि पछि आफैँ जोडिएपछि पछि हट्ने गरेको उनको विश्लेषण छ । 

“कांग्रेस नेताहरुले सभामुखको विषयमा त्यत्रो कुरा गर्नुभो । हार्ने निश्चित भए पनि नैतिकताका आधारमा पनि उहाँहरुले उमेदवारी दिनुपर्थ्यो,” खनाल भन्छन् “लोकतन्त्रमा त हार्ने मात्र कुरा हुँदैन नि । लोकतान्त्रिक संस्कारको जगेर्ना गर्ने कुरा पनि सँगसँगै हुन्छ । विधि स्थापित गर्ने र लोकतान्त्रिक संस्कारको जगेर्ना गर्नबाट कांग्रेस चुक्यो ।” 

उमेदवारी दिँदा के हुन्थ्यो ? 

विश्लेषकहरुको बुझाइमा कांग्रेले सभामुखमा उमेदवारी दिएर आफुलाई विधिको शासन, मानवअधिकार, र द्वन्द्वपीडितको पक्षमा भएको सन्देश दिन सक्थ्यो । 

सरकारले मौलिक हक विपरीत हुने गरि ल्याएका विधेयकको विरोध गर्दै आएको छ । सभामुखमा उमेदवारी दिँदै गर्दा संसदमार्फत जनतालाई सरकारविरुद्ध आफ्ना कुरा भन्ने अवसर हुन सक्थ्यो ।

पछिल्ला काण्डैकाण्डमा र अनियमिततामा सरकारको विरोध हुँदा कांग्रेस सभापति शेरबहादुर देउवाको नाम जोडिएपछि ती मुद्दा कमजोर भएको राजनीतिक विश्लेषकहरुको तर्क छ ।

सभामुखमा कांग्रेसले उमेदवारी नदिनुलाई कांग्रेससँग नैतिक बल नहुनुलाई पनि कारक मान्छन् विश्लेषक खनाल । 

कांग्रेसले उमेदवारी नदिएपछि नेकपाका सापकोटा एक्ला उमेदवार भएका छन् । माघ १२ गते प्रतिनिधिसभाले सापकोटालाई निर्विरोध सभामुख घोषणा गर्नेछ ।

 


 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ ७, २०७६  १९:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro